लाफा गाउँमा होमस्टे
धनकुटा : करिव सयभन्दा बढी मगर समुदायको मात्रै बसोबास रहेको चौबिसे गाउँपालिका वडा नं. २ लाफा गाउँमा होमस्टे सञ्चालन गरिने भएको छ। होमस्टे सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न चौबिसे गाउँपालिकाले बजेट समेत विनियोजन गरेको छ।
साँस्कृतिक पक्षलाई पर्यटन प्रबर्द्धनमा प्रयोग गर्न मगर समुदायको मात्रै बसोवास रहेको सो गाउँमा होमस्टे सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन्। मगर समुदायका व्यक्तिलाई होमस्टे सञ्चालनका लागि आवश्यक सीपमूलक तालिम दिन र केही पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएको उनले बताइन्। प्राय सबै घरमा होमस्टेका लागि आवश्यक पूर्वाधार पर्याप्त रहेका कारण चाँडै नै होमस्टे सुरुवात गर्ने उनको भनाइ छ।
लाफा गाउँमा मगर समुदायभित्रका राना, केप्छाकी, खुलाल, सारु, पाङ्नी, पिठाकोटे, गौरुलगायत जातीका एक सय सात घरपरिवारको बसोवास छ। भेडेटार–६ बुधबारे सडक खण्डको ट्र्याक निर्माण भएपछि २०५६ सालदेखि यो ठाउँमा बस्ती विस्तार सुरु भएको स्थानीय राजेन्द्र राना मगरले बताए।
सडकको दुई भागमा बाक्लो बस्ती छ। यहाँका मगर समुदायमा तिहारका बेला हुर्रा नाच नाच्ने गर्छन्। त्यस्तै तरकारी उत्पादनमा समेत यो गाउँ प्रसिद्ध छ।
‘सामूहिक रूपमा बसोवास गर्दा एक आपसमा काम गर्न सहज हुने। अप्ठ्यारो परेका बेला सहयोग गर्न सजिलो हुने रैछ’, उनले भने, ‘लाफा गाउँमा प्रायजसो नातेदार नै छन्। तर मगर समुदायभित्र धेरै जाती रहेका कारण यही नै बिहेवारी चल्ने गर्छ।’
उनका अनुसार जनजाती समुदाय आफ्नो ठाउँलाई साह्रै माया गर्छन्। आफू बसेको ठाउँ चटक्कै छाडेर जान मन गर्दैनन्। घरपरिवार र सम्पत्ति सबै यही भएका कारण यहाँका स्थानीय बसाइ सरेर अन्यत्र नगएका हुन्।
‘अन्य ठाउँका स्थानीय सुविधा खोज्दै तराई र सहर पस्ने कुरा सुनेको छु’, उनले भने, ‘तर यहाँका स्थानीय बसाइ सरेर हिडेका छैनन्। बरु थपिने क्रम बढ्दो छ।’ द्वन्द्वको समयमा पनि यस ठाउँबाट कोही पनि बसाइ सरेर अन्यत्र नगएको उनको भनाइ छ।
डाँडाको फराकिलो भागमा रहेको लाफा गाउँको भूभाग तराईको फाँटजस्तै समतल छ। यो गाउँ टाढाबाट झट्ट हेर्दा कुनै ठाउँको सहरजस्तै देखिन्छ। पर्यटकीयस्थल राजारानी बजारदेखि करिब ४५ मिनेट सवारी यात्राबाट यस ठाउँ पुग्न सकिन्छ।
यहाँका प्राय सबै घर माटो, कच्ची इँटा र टिनको छानोले बनेका छन्। लस्करै मिलेको घर र मौसम सफा भएका बेला देखिने कुम्भकर्ण हिमालको पृष्ठभूमिले जोकोहीलाई लोभ्याउने गर्छ।
यस बस्तीमा विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षालगायत विकासका पूर्वाधार छन्। विद्युतीय पहुँच रहे पनि प्राय सबै घरले सोलार जडान गरेका छन्।
सबैको घरमा खानेपानीको धारा पुगेका छन्। दुई वर्षअघि करिब आठ करोड रुपैयाँको लागतमा डेढ किलोमिटर तल रहेको स्थानीय सौरे खोलाको चानु ढुंगाबाट लिफ्ट प्रणालीबाट खानेपानी ल्याएको उनले बताए। त्यस्तै गाउँमै सामुदायिक स्वास्थ्य इकाई र सामुदायिक विद्यालय मुढेवास मा.वि. छ।
लाफा गाउँका स्थानीय तरकारीको व्यावसायिक खेती गर्छन्। विशेष गरी हिउँद र बर्खा दुवै सिजनमा सागसब्जी, मकै, आलु, अलैंची, अम्रिसोलगायत खेती हुन्छ। यहाँ उत्पादित आलु लोकप्रिय छ। सहज रूपमा सडक पहुँच भएका कारण यहाँ उत्पादन हुने तरकारी पूर्वी तराइका धरान, इटहरी बजारसम्म पुग्ने गर्छ।