सांस्कृतिक भवनमै नजर

सांस्कृतिक भवनमै नजर

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका परिसरमा तीन तलाको भवन छ। लक्जम्बर्गका जोन पलको पहलमा पुस्तकालय सञ्चालनका लागि २०५५ सालतिर यो भवन बनेको थियो। स्थानीय धरणीधर दाहालले सयौं पुस्तक दिएर पुस्तकालय सुरुसमेत गरिएको थियो।

‘पुस्तकालय चलाउन खर्च अभाव नहोस् भनेर कार्यक्रम गर्न तथा सीपमूलक तालिम दिनका लागि भवन बनाइएको थियो’, दाहालका छोरा ज्ञानुले भने।

पुस्तकालय भने वर्षौंसम्म उपेक्षित रह्यो। नामअनुसार सांस्कृतिक प्रयोजनका लागि भवनको प्रयोग पनि भएन। ‘सांस्कृतिक भवन भनेर लेखिएको बोर्ड पनि निकालेर फालियो’, स्थानीय पत्रकार सुविद गुरागाईंले भने, ‘त्यो भवन प्रहरीले कब्जा गरे।’

भवनका ६ वटा ठूला कोठामध्ये दुई वटा प्रहरीले आवासका रूपमा प्रयोग गरेको छ। तेस्रो तलाको एउटा कोठामा इलाका प्रहरी इटहरीका प्रहरी बसिरहेका छन् भने तल्लो एउटा कोठामा नगर प्रहरी छन्। ‘हामी एक वर्षदेखि प्रहरी हटाउन लागिरहेका छौं’, इटहरीकी उपमेयर लक्ष्मी गौतमले भनिन्, ‘तर, प्रहरीले कार्यालयको बिजोग देखाउँछ।’

उपमहानगरपालिका कार्यालयनजिकै इलाका प्रहरी कार्यालय साँघुरो ठाउँमा छ। सर्न खोजे पनि ठाउँ नपाइएको जनाइएको छ। कार्यालयमा सुत्ने ठाउँ नै नभएपछि सांस्कृतिक भवनको कोठा प्रहरीले प्रयोग गर्न थालेको थियो।

लामो समयदेखि प्रहरी कब्जामा रहेको भवनमा पुस्तकालय हटाएर उपमहानगरपालिकाको प्रशासनिक कार्यालय राख्न खोजिएपछि इटहरीका अग्रज तथा शिक्षासेवी आन्दोलित भएका छन्। उपमहानगरपालिकाले कार्यालयका लागि कोठा अभाव भएको भन्दै पुस्तकालय खुम्च्याउन खोजेको जनाइएको छ, जहाँ शिक्षा कार्यालय राख्ने योजना बनाइएको छ।

पुस्तकालयका आधा पुस्तक विभिन्न सरकारी विद्यालयलाई बाँडिसकिएको छ। पुस्तकालय मास्न खोजिएको भन्दै नागरिक समाजले सोमबार विरोध जनाएको थियो। स्थानीयले भवनलाई संस्कृति जोगाउने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

‘नगरको एउटा पुस्तकालयलाई व्यवस्थित बनाउनुपर्नेमा पुस्तक बाँडेर सिध्याउनु राम्रो भएन’, नागरिक समाज इटहरीका अध्यक्ष कमलेश शर्माले भने, ‘व्यवस्थित गर्न हामी सहयोग गर्छौं।’

पुस्तकालयका लागि बनेको भवनमा प्रहरी बस्दै आएकामा अहिले इटहरी उपमहानगरपालिकाले प्रयोग गर्न खोजेपछि स्थानीय अगुवा असन्तुष्ट।

भवन निर्माणमा स्थानीयको भावनासमेत जोडिएको शिक्षासेवी लेखनाथ घिमिरेले बताए। अर्का प्रेमप्रसाद न्यौपानेले पुस्तकालय छाडेर बाँकी कोठा नगरको प्रशासनिक काम गर्न प्रयोग गर्न आग्रह गरे।

उपमहानगरपालिकाले भने यो भवन प्रयोग गर्नुको विकल्प नरहेको जनाएको छ। इटहरी स्थानीय सरकार बनिसकेपछि विभिन्न कार्यालय राख्नका लागि सांस्कृतिक भवन प्रयोग गर्नु बाध्यता बनेको कार्यालयले जनाएको छ। ‘चार जना उपसचिव आउँदै हुनुहुन्छ’, उपमेयर गौतमले भनिन्, ‘उहाँहरू लागि कोठा व्यवस्था गर्दा अहिलेका प्रमुखहरू विस्थापित हुने अवस्था छ।’ यहाँबाट प्रहरी हटाउन प्रहरी कार्यालयमै आवासका लागि कोठा बनाइदिने प्रक्रिया अघि बढिसकेको उनले बताइन्।

मेयर द्वारिकलाल चौधरीले भवन तथा पुस्तकालय निर्माणसँग जोडिएको इतिहासबारे आफूलाई थाहा नभएको बताए। ‘दुई वर्षका लागि भए पनि भवन प्रयोग गर्न दिनुपर्छ’, उनले भने, ‘उपमहानगरपालिकाको प्रशासनिक भवन अन्तै बनाउने तयारी छ, त्यसपछि भवन खाली गरिदिन्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.