मोरङमा उद्योगबाट प्रशोधित पानीमै ‘कोलिफर्म’

मोरङमा उद्योगबाट प्रशोधित पानीमै ‘कोलिफर्म’

विराटनगर: मोरङमा उद्योगबाट प्रशोधन गरेर उत्पादन गर्दै बजारमा बिक्रीका लागि लग्ने गरिएको पानीमा दिसामा पाइने ‘कोलीफर्म’ नामक जीवाणु भेटिएको छ ।  शुद्ध पिउने पानी भनेर उद्योगबाट उत्पादन गरिएको प्रोशोधित पानीमै ‘कोलीफर्म’ भेटिएपछि मानव स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको पुष्टि भएको हो । 

उद्योगले पानी प्रशोधन गर्दै उत्पादन गरेर जार र बोतलमा बिक्रीका लागि बजार सम्म पुर्‍याउने गरेका थिए । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेत्रृत्वमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगायतका सरकारी निकायले गरेको संयुक्त अनुगमनका क्रममा पानीमा मानव स्वास्थ्यका लागि अति नै हानिकारक जीवाणु फेला परेको हो । 

सामाजिक विकास मन्त्रालयले विराटनगरमा शुक्रवार अनुगमनको परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै अनुगमन गरिएका र ल्याब परीक्षणका लागि नमुना सङ्कलन गरिएका २० वटा पानी उद्योग मध्ये ११ वटा उद्योगबाट उत्पादित पानीमा ‘कोलीफर्म’ फेला परेको जानकारी दिएको छ । 

तीन वटा उद्योगले उत्पादन गरेका पानी पिउन अयोग्य रहेको पाइएको छ । छ वटाले उत्पादन गरेको पानी पिउन योग्य भए पनि ती उद्योगले समेत कतिपय मापदण्ड पूरा नगरेको पाइएपछि तत्काल सचेत गराएर मापदण्ड पूरा गर्न निर्देशन दिइएको मन्त्रालयका उपसचिव गोपी घिमिरेले बताए । 

अनुगमनका क्रममा पानी उत्पादन गर्ने उद्योगले सरसफाइमा ध्यान नदिने गरेको, लापरबाही तरिकाबाट पानी उत्पादन गर्ने गरेको, सोडा तथा पोटाशको मात्रा नमिलाउने गरेको, अनुमति तथा नवीकरण विना नै उद्योग सञ्चालन गर्ने गरेको पाइएको घिमिरेको भनाइ छ । 

उनका अनुसार कतिपय पानी उद्योग गाई गोठबाटै सञ्चालित रहेको पनि फेला परेको थियो । कतिपयका उद्योगको बोरिङ र शौचालय सँगसँगै रहेको भेट्टाइएको घिमिरेले बताए । 

प्रशोधित पानीको अम्लियपना (पिएच) कम रहेको पाइएको थियो । सामान्यतया पानीको पिएच ६ देखि ८ दशमलव ५ हुनु पर्छ । अधिकांश उद्योगबाट उत्पादन गरिएको पानीमा प्रयोगको अन्तिम मिति र उत्पादन मिति समेत उल्लेख नगरेको पाइएको छ । 

मन्त्रालयले विराटनगर महानगरपालिका ५ को गङ्गा जल उद्योग, विराटनगर ४ को गोमा रानी जल उद्योग, विराटनगर ६ को पूजा फुड एन्ड्रोइड वेभराज प्राली, विराटनगर २ को तिरुपति जल उद्योग, विराटनगर १० को हाई मल वाटर इन्टष्ट्रिज, विराटनगर ११ को माउण्टेन वाटर, विराटनगर १३ को श्री जल उद्योग, विराटनगर ८ को शीतल जल उद्योग, विराटनगर १४ को जोनसन जल उद्योग, विराटनगर १२ को दिव्य श्री जल उद्योग र बुढीगंगा गाउँपालिका १ को शुभ जल उद्योगबाट उत्पादित पानीमा ‘कोलीफर्म’ फेला परेको प्रतिवेदन सार्वजनिक गरिएको छ । 

अनुगमन गरिएकामध्ये विराटनगर ५ को शान्ति जल उद्योग भने मापदण्ड अनुसार नै सञ्चालनमा रहेको र त्यहाँ कुनै पनि समस्या नपाइएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले बताए । 

उनका अनुसार विराटनगर ७ को एसएसएस जल उद्योग, विराटनगर ५ को गुड लक, विराटनगर ८ को हाम्रो प्रयास जल उद्योग, विराटनगर ११ को पूर्वाञ्चल निर्मल जल उद्योग, विराटनगर ९ को मङ्गल वेभराज, विराटनगर १० को प्रजापति जल उद्योग, विराटनगर १५ को हुलास प्युरिफाईड, विराटनगर १२ को भूमि जल उद्योग समेतबाट उत्पादित पानीमा भने एउटा न एउटा समस्या भेटियो । 

कार्यालयले गत असोजमा पूर्वका ९५ वटा पानी उद्योगलाई छ महिना भित्रमा आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिँदै पत्राचार पनि गरेको थियो । कोइरालाले प्राय उद्योगहरूले मापदण्ड पूरा नगरेका कारण त्यहाँबाट उत्पादित पानीमा गुणस्तरको समस्या देखिएको जनाए । 

उनले पानी उत्पादनमा गम्भीर लापरबाही गरेका र प्रशोधित पानीमा ‘कोलीफर्म’ समेत भेटिएका उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा खाद्य ऐन अनुसार मुद्दा दायर गरिने बताए । 

पानी उद्योग अनुगमनको प्रतिवेदन सार्वजनिक गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले मानव स्वास्थ्यका लागि अनितै हानिकारक जीवाणु ‘कोलीफर्म’ भेटिएका पानी उद्योग संधैका लागि बन्द गरिने जानकारी दिए । 

मन्त्रालयकै नेत्रृत्वमा साउन १ गतेबाट पानी उद्योगको अनुगमन सुरु गरिएको थियो । अनुगमनकै क्रममा पाँच वटा पानी उद्योगमा शिलवन्दी गरिएको थियो । अनुगमनका क्रममा सामान्य समस्या देखिएका उद्योगबाट उत्पादित पानीको नमुना परीक्षण गर्दा पनि ‘कोलीफर्म’ फेला परेको हो । 

‘अनुगमन गर्दा मापदण्ड पूरा नगरेको र लापरबाही गरेको पाइएपछि उत्पादित पानीको नमुना सङ्कलन गरेर खाद्य प्रयोगशालामा ल्याब परीक्षणका लागि पठाइएको थियो,’ मन्त्री घिमिरेले भने, ‘परीक्षण गर्दा प्रशोधित पानीमै ‘कोलीफर्म’ रहेको रिपोर्ट आयो ।’ 

उनले ‘कोलीफर्म’ भेटिएका र पानी पिउन अयोग्य देखिएका उद्योगको उत्पादन र बजारी करण संधैका लागि बन्द गर्न निर्देशन दिइएको बताए । 

‘उद्योग बन्द गर्दै उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पु¥याउने पानी उत्पादन गर्नेमाथि कारबाही अघि बढाउन पनि निर्देशन दिइसकिएको छ’, उनले भने । अनुगमन समितिले पानी अनुगमनको रिपोर्ट भने साउन १४ गते नै सामाजिक विकास मन्त्रालयमा बुझाए पनि मन्त्रालयले ढिलो गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । 

पानीकै कारण कमलपित्त ‘जण्डिस’ को प्रकोप फैलिएको पाइएपछि विराटनगरमा खाने पानी संस्थानले वितरण गरेको पानीमा चार वर्ष अघि ‘कोलीफर्म’ भेटिएको थियो । 

जण्डिसका कारण त्यति बेला १२ जनाको मृत्यु भएको थियो भने कयौँ सर्वसाधारण बिरामी परेको मन्त्री घिमिरेको भनाइ छ । बर्गेल्ती पानी उद्योग खुलेर सञ्चालन भइरहे पनि विराटनगरमा लामो समयदेखि पानी उद्योगहरूको अनुगमन भइरहेको थिएन । 

पानी उद्योगबाट प्रशोधन गरेर उत्पादित पानीको परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे । तस्बिर: किशोर बुढाथोकी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.