सिक्टा जीर्ण नहरप्रति सरोकार समितिको ध्यान
नेपालगन्ज : राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको जीर्ण नहरबाट भविष्यमा ठूलो मानवीय क्षति हुन सक्ने भन्दै संसदीय समितिबाट अनुगमन गरी समस्याको दिगो समाधान खोज्न माग गरिएको छ।
निर्माण सम्पन्न भए पनि परीक्षणकै क्रममा दुई–दुई पटक नहर भत्किसकेको र पश्चिमतर्फको मूल १४ किलो मिटर क्षेत्रमा जीर्ण भइ सयौं ठाउँमा प्वालै प्वाल रहेकाले कुनै पनि बेला खतरा हुन सक्ने भन्दै जिल्लाका नागरिक अगुवाहरूले संघीय र प्रदेश सरकारको ध्यानाकषर्ण गराएका छन्।
विकासका लागि नागरिक सरोकार समितिले शुक्रबार नेपालगन्जमा आयोजना गरेको छलफलमा अधिवक्ताहरू लोकबहादुर शाह, सुरेशकुमार गौतम, वसन्त गौतम, विश्वजित तिवारीलगायतले सिक्टा सिँचाइ आयोजनामा देखिएको लापरवाहीलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका थिए। नागरिक अगुवाहरूले ‘आयोजनाले समस्याको दिगो समाधान गर्नेभन्दा पनि समस्यालाई ढाकछोप गर्न खोजेको भन्दै’ आलोचना गरेका थिए।
छलफलपछि समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ‘नहर जीर्ण भएकोबारे संघीय र प्रदेश सरकारको ध्यान आकृष्ट गराउनुका साथै आयोजनाको डिजाइन इस्टिमेटमै समस्या देखिएकाले संसदीय समितिबाट सूक्ष्म अनुगमन गर्न’ माग गरिएको छ। समितिले केही दिनअघि सिक्टा सिँचाइ आयोजनाको जीर्ण नहरको अनुगमन गरेको थियो। साउनको दोस्रो साता बितिसक्दा पनि धेरै वर्षा भएको छैन। नहरमा लक्ष्यअनुसार पानी छोड्दा र भारी वर्षा हुँदा नहरले भार थेप्न नसकी ठाउँ ठाउँमा भत्किने खतरा रहेको संयोजक श्रेष्ठले बताए। उनले भने, ‘धेरै ठाउँमा डिलमा प्वाल परेको छ। नहर चर्केको छ। भारी वर्षा हुने बित्तिकै ती ठाउँ भत्किने देखिन्छ।’ अनुगमनका क्रममा समितिले स्थानीय त्रसित अवस्थामा भेटेको पनि जानकारी गराएको थियो। नहर जीर्ण रहेको विषयमा बिहीबारको अन्नपूर्ण पोस्ट् दैनिकलगायत पत्रपत्रिकामा समाचार प्रकाशित भएका थिए।
यसैबीच सिक्टा सिँचाइ आयोजनाले शुक्रबारै विज्ञप्ति जारी गरी पश्चिमी मूल नहरको २० किलोमिटरदेखि ३५ किलोमिटरसम्म चुरे पहाड र त्यसको फेदी चुनौती रहेको, सो क्षेत्रमा विषम प्रकृतिको घुलनशील माटो भएको र नहर आसपासमा उत्तर दक्षिण बग्ने खोलानाला भएका कारण नहरमा क्षति पुगेको उल्लेख गरेको छ।
आयोजना निर्देशक रमेश बस्नेतद्वारा जारी विज्ञप्तिमा ‘नहर सम्पन्न भइसके पनि ठेक्का सम्झौताको अन्तिम प्रतिवेदन नापजाँच गर्ने कार्य भइरहेको तथा फरफारक हुन बाँकी रहेकाले ठेक्काको धरौटीबापतको रकम आयोजनाको खातामा रहेको जनाइएको छ। आयोजनाले समस्या समाधानका लागि माटो परीक्षणलगायत विज्ञबाट राय परामर्श लिई सुधार गर्न डिजाइन, नक्सासहित प्रतिवेदन तयार गरिरहेको जनाएको छ। यसअघि परीक्षणका क्रममा नहरमा निकै कम मात्रामा पानी छोड्दा यही मूल नहर दुई पटक भत्किसकेको छ। ७ साउनमा राप्ती सोनारी ८ र ९ ढकेरीमा पर्ने चंगाई खोलास्थित सिक्टाको पश्चिम (दायाँ) मूल नहर र २०७३ असार १४ मा झिभरी खोलाको दोभानमा नहरको बाँध परीक्षणका लागि पानी छोड्दा नै भत्केको थियो। अहिले सोही क्षेत्रमा नहर दर्जनौं ठाउँमा चर्केको छ। सयौं ठाउँमा भ्वाङैभ्वाङ परेकाले पानी लिकेज हुने उत्तिकै खतरा छ।
सिक्टा सिँचाइ आयोजनाले यो नहरबाट ५० क्युमेक्स पानी बग्ने जनाएको छ। पछिल्लो पटक ७ साउनमा नहरको बाँध भत्किँदा ९ क्युमेक्स पानी छोडिएको थियो। भत्किएको ठाउँमा भने ४ क्युमेक्स मात्र पानी थियो। अहिलेको जीर्ण अवस्था हेर्दा पूरै क्षमताको पानी छोड्दा नहरले भार नथेप्ने आकलन गर्न सकिन्छ। नहर भत्किँदा राप्ती सोनारी गाउँपालिका–८ र ९ ढकेरीका मात्र तीन सयभन्दा बढी घर जोमिममा पर्ने देखिन्छ। २०६३ सालबाट निर्माण सुरु भएको आयोजनाको पश्चिमी मूल नहरबाट ४४.२५ किमी रहेको छ। पूर्वी मूल नहरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकालाई सिँचाइ गर्ने लक्ष्यसाथ काम जारी छ। दुवै मूल नहर र शाखा नहर गरी आयोजनाबाट बाँकेको ४२ हजार ७ सय ६६ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य रहेको छ। समयमै निर्माण सम्पन्न नभइएका कारण सिक्टा सिँचाइ आयोजनाको निर्माण सम्पन्न गर्ने म्याद पटक पटक थपिएको छ। पश्चिमी मूल नहरको दिगो समाधान नखोज्ने हो भने यही नहरकै कारण आयोजना अझै लम्बिने देखिन्छ।