विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित

विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित

बैतडी : बैतडीको सुर्नया गाउँपालिका-४ भौनेली चौडकी कक्षा ११ की छात्रा धाना भाट मौसम परिवर्तन भएको दिन विद्यालय जान मान्दिनन्। विद्यालयको ६ कोठे भवनको छानो उडाएको दुई वर्ष भयो। त्यसको पुनर्निर्माण हुन नसक्दा पानी परेको दिन बस्ने ठाउँअभावमा विद्यार्थी विद्यालय जान छाडेका हुन्।

०७२ साल जेठ ३ गते आएको हावाहुरीले विद्यालयको ६ कोठे भवनको छानो उडाएपछि कक्षाकोठा अभाव भएको भाटले बताइन्। ‘घाम लागेको दिन त बाहिर बस्छौं तर पानी परेको दिन बस्ने ठाउँ अभाव हुँदा हामी विद्यालय नै जाँदैनौं’, उनले भनिन्।

सोही विद्यालयमा कक्षा १० अध्ययनरत छात्रा लक्ष्मी विक पनि साउनको झरीमा विद्यालय जान आनाकानी गर्छिन्। ‘पानी परेको दिन सानो कक्षाका भाइबहिनीलाई कोठाको अभाव हुन्छ। उनीहरूका लागि कोठा छाड्नुपर्ने अवस्था आउँछ। बर्खामा हाम्रो पढाइ प्रभावित हुने गरेको छ’, उनले भनिन्।

धाना र लक्ष्मीजस्तै सुर्नया गाउँपालिका-४ स्थित राष्ट्रिय मावि फाटिगाडामा अध्ययनरत विद्यार्थीलाई कक्षाकोठा अभावमा पठनपाठनमा निकै समस्या भएको छ। विद्यालयमा कक्षा १ देखि १२ र कृषि जेटीएका गरी करिब चार सय विद्यार्थी अध्ययनरत छन्। तर, कक्षाकोठा अभावमा बसाइको समस्या छ। प्रधानाध्यापक गंगादत्त भट्टले भने, ‘छानो उडाएको भवन पुनर्निर्माण गर्न विद्यालयसँग आन्तरिक स्रोत छैन। साविकको जिल्ला शिक्षा कार्यालयसँग पटक-पटक आग्रह गर्‍यौं तर कतैबाट सहयोग पाइएन।’

कक्षाकोठा अभावमा प्राथमिक तहमा बहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यता आएको प्रधानाध्यापक भट्टले बताए। उनले भने, ‘कक्षा १ देखि ५ सम्म बहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यता आएको छ। यसले विद्यार्थीको शैक्षिक गुणस्तरमा ह्रास ल्याएको छ।’

हावाहुरीले छानो उडाएको भवन निर्माण गर्न जिल्ला शिक्षा कार्यालयदेखि मन्त्रालयसम्म धाउँदासमेत केहीसीप नचलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्तबहादुर कुँवरले बताए। उनले भने, ‘बालबालिकालाई निर्वाध शिक्षा प्रदान गर्ने राज्यको दायित्व हो। तर, हाम्रो यहाँ कक्षाकोठा अभावमा विद्यार्थीको शिक्षा ग्रहण गर्ने अधिकार हनन भएको छ।’

राष्ट्रिय मावि फाटिगाडामा विद्यालय भवन अभावमा शैक्षिक गुणस्तरमा समेत ह्रास आउन थालेको छ। बहुकक्षा शिक्षणले विद्यार्थीको कोर्सअनुसार पढाइ गर्न समस्या हुने गरेको प्रधानाध्यापक भट्टले बताए। उनले भने, ‘प्रत्येक कक्षाको कोर्स अलग-अलग हुन्छ तर एउटै कक्षामा पढाउँदा कोर्स सक्नै समस्या हुन्छ।’

कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई भवन अभावमा धेरै विषयको पढाइ एउटै कोठामा राखेर गर्नुपरेको शिक्षक प्रकाश भाटले बताए। उनले भने, ‘विद्यालय भवन भत्केको ३ वर्ष भइसकेको छ, निर्माणमा कसैले चासो दिएनन्।’ विद्यालयमा फर्निचरसमेत अभाव रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.