पोल हेरेर चित्त बुझाउँदै कुतियाकवरवासी

पोल हेरेर चित्त बुझाउँदै कुतियाकवरवासी

महेन्द्रनगर : नेपाल-भारत सिमानाको जिरो प्वाइन्ट रहेको कुतियाकवरमा पोल गाडिएका छन् तर त्यहाँ तार तानिएको छैन। स्थानीय दिनहुँजसो बिजुलीको लाइन विस्तार हुने आसमा छन्। चारैतिर नदीले घेरिएर बनेको टापुजस्तो बस्ती कुतियाकवरका स्थानीय अहिलेसम्म सोलारको सहारामा रात बिताउन बाध्य छन्।

‘२÷३ वर्ष अघिसम्म विद्युत्का पोलसमेत गाडिएका थिएनन्, अहिले विद्युत्का पोल हेरेर चित्त बुझाएका छौं’, स्थानीय टेकबहादुर सुनारले भने, ‘वर्षौंपछि विद्युत्का पोल गाडिए अब राज्यले विद्युतीकरण गर्न पनि केही वर्ष त लगाउने होला।’

उनले पोल गाडिए पनि राज्यका निकायले विद्युत् विस्तार गर्ने विषयमा अहिलेसम्म ध्यान दिन नसकेको बताए। बिजुली नहुँदा त्यहाँका ४२ घरपरिवार वर्षौंदेखि सोलारको भरमा रात बिताइरहेका छन्।

‘अहिले सोलार जोडेर बिजुली बाल्न थालेको केही समय मात्रै भएको छ’, महाकाली नगरपालिका-१० कुतियाकवरकी बबिता खड्काले भनिन्, ‘पहिले त झन् टुकीको भरमा रात बिताउनुपरेको थियो।’ बिजुली नहुँदा अझ बढी पीडा हुने गरेको स्थानीय बताउँछन्।

एकातर्फ जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरिएको यो बस्ती वर्षौंअघि जोगबुढा नदीवारि नै थियो। तर, पछि नदीमा आएको बाढीले जमिन सबै बगाएर धार नै परिवर्तन गरिदिएपछि यो अल्लगै टापु बन्न पुग्यो। ‘बर्खामा बाढी आउला र बगाउला भन्ने डर हुन्छ,’ स्थानीय वसन्ती सुनारले भनिन्। बिजुली बत्ती नहँुदा रात काट्नै कठिन हुने गरेको उनले बताइन्।

स्थानीयले पोल गाडिएका र अहिलेसम्म बिजलुीको तार विस्तार हुन नसकेकोबारे पटक-पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइसकेका छन्। तर, अहिलेसम्म कुनै चासो नदिइएको उनीहरूको गुनासो छ।

‘हामीलाई त निर्वाचनका बेला भोटका लागि मात्रै हो नेताहरूले सम्झने’, स्थानीय कौशिल्या देवीले भनिन्, ‘राज्यबाट सबै चिजले टाढा रहेको यो बस्तीका नागरिकबारे कसले सोचिदिने ? ’

अँध्यारोमा बस्दा असुरक्षा हुने उनीहरूको पीडा छ। महाकाली नगरपालिकाले भने विद्युतीकरण हुन नसकेको उक्त बस्तीमा विद्युतीकरणको काम छिट्टै हुने बताएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.