पाथीभरा गोल्डकप भदौमा

पाथीभरा गोल्डकप भदौमा

ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमा दोस्रो संस्करणको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता भदौ ८ देखि हुने भएको छ।

 सदरमुकाम फुङ्लिङस्थित भानु माविको मैदानमा हुने प्रतियोगितामा भारतको एक टिमसहित १० टोलीको सहभागिता रहनेछ। आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो। यस वर्ष पुरस्कार राशिसमेत वृद्धि गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी उपविजेताले एक लाख २५ हजार रुपैयाँ पाउनेछन्। विजेताले दुई तोला सुन र पाँच किलो चाँदीबाट बनेको रनिङ कपसमेत पाउनेछन्।

यस्तै उत्कृष्ट स्ट्राइकर, गोलरक्षक, डिफेन्स, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगितामा ताप्लेजुङ–११ र कर्णसिंह सोनाम फुटबल क्लबसहित, एम्ब्रोज क्लब मोरङ, न्यु स्टार क्लब झापा, रेड स्टार झापा, राष्ट्रिय जागृति क्लब सुनसरी, रेडहर्स क्लब इलाम, फिदिम स्पोर्टिङ क्लब पाँचथर, चर्च ब्वाइज क्लब काठमाडौं र रोयल फुटबल टिम सिलिगुडीले सहभागिता जनाउने समितिका अध्यक्ष मोती पतङ्वाले जानकारी दिए।

पाथीभरा गोल्डकपमार्फत प्रसिद्ध तीर्थस्थल पाथीभराको मन्दिरको समेत प्रचारप्रसार गरी व्यावसायिक खेलाडी उत्पादन गर्नु मुख्य उद्देश्य रहेको उनले बताए।

समितिले भदौ १६ सम्म हुने प्रतियोगिताका लागि मैदान सम्याउने काम गरिरहेको छ। बर्सेनि खेलाडी र दर्शकले मैदान नराम्रो भएको भन्दै गुनासो गरेपछि समितिले आफ्नै खर्चमा मैदान सम्याउने र ग्रेड मिलाउने काम गरिरहेको छ। यस वर्ष मैदानका विषयमा विगतको जस्तो गुनासो नआउने दाबी आयोजकको छ।

पत्रकार सम्मेलनमै गत वर्षको आयव्ययसमेत सार्वजनिक गरिएको थियो। यस वर्षको प्रतियोगितामा ३१ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। लाखेजात्राको अवसरमा २०२९ सालदेखि प्रत्येक वर्ष खेल हुँदै आए पनि २०७४ सालदेखि नाम परिवर्तन गरेर पाथीभरा गोल्डकप बनाइएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.