मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध
रामचन्द्र न्यौपाने/रासस
डोल्पा : केही दिनदेखि निरन्तरको वर्षाका कारण हवाई उडान अवरुद्ध हुँदा हजारौं यात्रु मर्कामा परेका छन्। विभिन्न जिल्ला जोड्ने सडक यातायातसमेत अवरुद्ध हुँदा अहिले यात्रुको विचल्ली भएको छ।
झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेका छन्। निरन्तर वर्षा र बाक्लो हुस्सुका कारण पश्चिम भेगका हवाई उडान प्रभावित हुँदै आएको नेपालगञ्ज विमानस्थलका उपप्रमुख विष्णु अधिकारीले बताए।
‘अहिले नेपालगञ्ज विमानस्थलमा विभिन्न एयरलाइन्सका छवटा जहाज छन्, एउटा जहाजले दैनिक पाँचवटासम्म उडान भर्छन् तर आजभोलि मुस्किलले जम्मा १०/१२ वटासम्म उडान हुन्छ’, उनले भने, ‘हवाई उडान अनियमित हुनुमा बिग्रदो मौसम नै जिम्मेवार हो।’
मौसमकै कारणले नेपालगञ्ज विमानस्थलदेखि उडान भइसकेका जहाजसमेत विमानस्थलमा अवतरण गर्न नसकेर फर्कने गरेको उनले बताए। आजमात्र जुम्ला, हुम्ला, मुगु, बाजुरा लगायतका विमानस्थलमा केही उडान भएको नेपालगञ्ज विमानस्थलले जनाएको छ।
दैनिक ५० प्रतिशतसम्म उडान रद्द हुने गरेपछि पश्चिमका सिमिकोट, जुफाल, जुम्ला, ताल्चा लगायतका विमानस्थलमा यात्रु अलपत्र परेका छन्। विमानस्थलमा दैनिक यात्रु थपिने तर उडान भने नहुने भएपछि यात्रुको चाप बढ्दै गएको हो।
कर्णालीका विमानस्थलमा हवाई उडान अनियमित हुने गरेपछि हजारौं यात्रु विमानस्थलमै अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलदेखि जुम्ला, डोल्पा, हुम्ला, बझाङ, मुग र बाजुराका विमानस्थलमा उडान हुने गर्दछ। यस विमानस्थलबाट तारा, समिट, सीता, नेपाल एयरलाइन्स लगायतका निजी तथा सरकारी विमान कम्पनीले उडान भर्दै आएका छन्।
अवतरण नगरेरै फर्किन्छन् जहाज
केही दिनयता प्रतिकूल मौसमका कारण नेपालगञ्जबाट उडिसकेका जहाज पनि अवतरण नगरेरै फर्कने गरेका छन्। आजभोलि जहाज उडान भए पनि उडान भएको केही समयभित्रै बाक्लो हुस्सुले हवाई रुट बन्द भएपछि पहाडी जिल्लाका विमानस्थल पुगेका जहाज पनि अवतरण नगरेरै बीचबाटै फर्किने गरेको विमान कम्पनीहरुले जनाएका छन्। क्षणभरमै विमानस्थल पूरै हुस्सुले ढाक्ने गरेको छ।
जुफाल विमानस्थल पाँच दिनदेखि बन्द
डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल पाँच दिनदेखि बन्द भएको छ। खराब मौसमका कारण दैनिक हवाई उडान अवरुद्ध हुने गरेपछि पाँच दिनदेखि एउटा पनि उडान हुन सकेको छैन।
जहाज आउन छाडेपछि जुफालमा कतिपय बिरामी, वृद्धवृद्धा अलपत्र परेका छन्। पाँच दिनदेखि जहाज नआएकाले जुफाल विमानस्थलमा यात्रुको चाप दिन प्रतिदिन बढ्दै गएको तारा एयर डोल्पाका कर्मचारी लंक भण्डारीले जानकारी दिनुभयो।