आर्ट थेरापी उपचारमा रमाए बालबालिका

आर्ट थेरापी उपचारमा रमाए बालबालिका

तीन वर्षीय एकराज कार्की प्ले ग्रुपमा पढ्छन्। आमा इच्छुकाले गत मंगलबार कान्ति अस्पतालमा उपचारका लागि लैजाँदा उनी दंग देखिन्थे। अस्पतालको करिडोरमा रहेको भित्तामा बनाइएका चरा, माछा, कछुवाको चित्र हेर्दै उनी खेलिरहेका थिए।

आठ महिनाका प्रताप पुडासैनी बुवाको छातीमा टाँसिँदै चित्रहरू हेरिरहेका थिए। अस्पतालको भित्तामा कोरिएका चित्र नजिकै बुवाले पुर्‍याउँदा उनी तिनै चित्रलाई छुन खोज्थे। तानेर समाऊँलाझैं गरी साना हात चित्रतिरै हुत्याउँथे। छोरा रमाएको देखेर धादिङका प्रकाश पनि मक्ख परेका थिए। छोरा रमाएको देखेर मक्ख पर्दै उनले भने, ‘जहाँजहाँ चित्र छन्, त्यहीँ त्यहीँ मुन्टो घुमाउँदै हेर्छ। बोल्न नसके पनि अनुहारमा खुसी देखिन्छ।’ कैलाली टीकापुरकी आराध्य विष्ट भने भित्तामा बनाइएका चराका चित्रबाट चरा टिपेर आफ्नो हातमा राखिदिन आमासँग पिरिरहिन्।

मुलुकको एकमात्र केन्द्रीय बाल अस्पतालका रूपमा चिनिने कान्ति बाल अस्पतालको करिडोर बालमैत्री बनेको छ। करिडोरका भित्ताहरूमा मुरल आर्ट (भित्तेचित्र) देख्दा बालबालिका रमाउने गरेका छन्। विगतमा अस्पतालका भित्ताहरूमा पान र सुर्ती खाएर थुकेका दागहरू हेर्दा निकै फोहोरी देखिन्थे भने अहिले हेरूँहेरूँ लाग्ने देखिएको छ। यो सबै काम सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक संगीता थापाको पहलमा भएको हो। छोराछोरी बिरामी भएर अस्पताल ल्याउँदा अभिभावक पनि निकै चिन्तित हुन्छन्। त्यस्तो बेलामा अस्पतालको करिडोरमा राखिएका चित्रहरू देख्दा बालबालिका रमाउने ठानेर भित्तामा चित्र कोर्ने अभियान सुरु गरिएको हो। किरण महर्जन, श्रद्धा       श्रेष्ठ लगायतका कलाकारको एक महिनाभन्दा लामो समयको मेहनतले अस्पतालका भित्ताहरूको रूपरंग फेरिएको हो।

अस्पतालका निर्देशक डा. गणेशकुमार राईलाई सुरुमा आफूले आर्ट बनाउन अनुमति दिएपछि त्यसले कस्तो प्रभाव पार्ला भन्ने कौतूहल लागिरहेको थियो। तर, आफूले गरेको निर्णयमा अहिले उनी खुसी छन्। भित्तामा कोरिएका चित्र हेर्दै बालबालिका रमाएको देख्दा आफूलाई आनन्द महसुस हुने डा. राईले बताए।

आर्ट थेरापीले मानसिक रूपमा हुने तनाव घटाउन सहयोग गर्ने विश्वास चिकित्सकहरूको छ। यसको सुरुआत विश्वमा रुडोल्फ स्टिनरले गरेको मानिन्छ। बालबालिका मात्र नभई अन्य उमेरसमूहका व्यक्तिलाई पनि मानसिक तनाव घटाउन आर्ट थेरापी उपयुक्त हुने अवधारणा विश्वका विकसित मुलुकहरूमा आइसकेको छ। आर्ट थेरापीले शारीरिक, मानसिक र भावनात्मक पक्षलाई सकारात्मकतातिर लैजाने मनोचिकित्सकहरूको भनाइ छ।

रंगीन चित्र देखेर बालबालिका रमाउने भएकाले अस्पताल मात्र नभई विद्यालय र घरको कोठालाई पनि बालमैत्री बनाउनुपर्ने कान्ति बाल अस्पतालकी क्लिनिकल साइकोलोजिस्ट सिर्जना अधिकारीको सुझाव छ। अस्पतालमा यस खालको चित्र बनाउँदा बालबालिकाको समस्या अप्रत्यक्ष रूपमा बुझ्न पनि सहयोग पुग्ने उनको भनाइ छ। चित्र हेरेर बालबालिकाले आफ्नो भावना अभिव्यक्त गरिरहेका हुन्छन्। आर्ट थेरापी उपचार पद्धतिअन्तर्गत बालबालिकालाई चित्र बनाउन दिइन्छ। त्यस चित्रमा बालबालिकाले आफ्ना भावना व्यक्त गरेका हुन्छन्। त्यसबाट उनीहरूको स्वभाव र बुझाइको विश्लेषण गर्न सहयोग पुग्ने चिकित्सकहरूको भनाइ छ। चित्र आफैंमा सञ्चारको प्रक्रिया भएको क्लिनिकल साइकोलोजिस्ट अधिकारीले बताइन्।

आफ्नो मनमा लागेका कुराहरू व्यक्त गर्न बालबालिकामा बोली फुटेको हुँदैन। बोली फुटेका बालबालिकामा पनि मानसिक तनाव र चिन्ताले गर्दा आफ्ना भावना अभिव्यक्त गर्न पर्याप्त शब्दहरू हुँदैनन्। त्यसैले विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा आर्ट थेरापी बढी प्रभावकारी हुने अधिकारीले बताइन्। यो उमेरका बालबालिकामा भावना प्रवाह गर्ने माध्यम आर्ट रहेको बताउँदै उनले भनिन्, ‘आर्ट देखाएर बालबालिकालाई रङ, तस्बिर चिनाउन पनि सहयोग पुग्छ। सजिलै उनीहरूको मस्तिष्कले सम्झन पनि सक्छ। सामाजिक, शारीरिक, मनोवैज्ञानिक लगायतका पक्षमा आर्टले धेरै सहयोग पुर्‍याउँछ।’

बालमनोविज्ञ डा. अरुणराज कुँवरका अनुसार स्वास्थ्यमा रुपान्तरण ल्याउन आर्ट थेरापीले सहयोग गर्न सक्छ। बालबालिकामा यसको महत्वबारे बताउँदै उनले भने, ‘मानसिक एवं शारीरिक रूपमा बालबालिकामा सकारात्मक प्रभाव पार्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.