बाघले लग्यो घाँस काट्न गएकी युवती
चितवन : चितवनको भरतपुर महानगरपालिका–२५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई सोमबार बिहान बाघले लगेको छ। स्थानीय राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँग घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिए।
पाठकका अनुसार, सुशिलालाई बाघले आक्रमण गरेको देखेपछि बेहोश भएकी उनकी साथीलाई उपचारका लागि अस्पताल लगिएको र एक जनाले भने भागेर ज्यान जोगाएका छन्। घटनास्थल नजिक शरीरका विभिन्न अंग फेला परे पनि उनको अवस्थाबारे पत्ता लागेको छैन।
बाघले महिलालाई आक्रमण गरेको घटनाका पुष्टि गर्दै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले हात्तीसहितको वन्यजन्तु प्राविधिक टोली सो क्षेत्रमा परिचालन गरिएको जानकारी दिए। अघिल्लो वर्ष बाघको आक्रमणबाट चितवनमा तीन जनाको मृत्यु भएको थियो। रासस