निशानको पीडादायी वियोगले गाउँमा रुवाबासी

निशानको पीडादायी वियोगले गाउँमा रुवाबासी

चौतारा: काठमाडौको काँडाघारीबाट आइतबार अपहरणमा गरी हत्या गरिएका ११ वर्षीय निशान खड्काको गाउँमा रुवाबासी चलेको छ । सामाजिक सञ्जालबाट निशान हत्याको जानकारी पाएपछि मेलम्ची नगरपालिका–९, दोबाटे रातमाटास्थित परिवार र आफन्तजन शोकमा डुबेका हुन् । 

हजुरबुवा बेहोस

सामान्य आर्थिक अवस्थाका माहिला छोरा गणेशका एक मात्र छोराको खबरले ७२ वर्षीय हजुरबुबा दुर्गाबहादुर सोमबार साँझसम्म पनि होसमा आउन सकेका छैनन् । 

‘फेसबुकबाट निशानको हत्या भएको खबर पाएदेखि नै ससुरा अर्धचेत अवस्थामा हुनुहुन्छ’, निशानकी कान्छी काकी मुना खड्काले रुन्चे स्वरमा टेलिफोनमा भनिन्, ‘खबर पाएदेखि नै घरमा कसैको आँखा ओभानो छैन ।’ 

निशान गाउँ आएका बेला सँगै खेलेका ठुलो बुबा र कान्छोबुवाका छोराछोरी समेत निशानको पीडादायी वियोगमा शोकाकुल रहेको स्थानीय शिक्षक जनक अधिकारीले बताए ।

‘चमेलीको छोराको हत्या भएको भनेर फेसबुमा आको छ भनेर गाउँमा हल्ला भयो पछि फोटो हेर्दा हो रहेछ’, मुनाले भनिन्, ‘बिनाकारण निर्दोष बालकको ज्यान गयो ।’ 

बाबु गणेश विदेशमा

रातमाटास्थित निशानको परिवारमा अहिले हजुरबुबा, निशानका ठुलोबा ठुलीआमा र काकी मुनाका साथमा उनीहरुका छोराछोरी छन् । निशानको हजुरआमाको २०७२ सालमै मृत्यु भइसकेको छ । मलेशिया रहेका गणेश फागुनमा ४० दिनको छुट्टीमा आएर चैत १३ गते मेलेशिया उडेका थिए । 

मुनाका श्रीमान गुणबहादुर दाजु गणेशसँगै मलेशियामा छन् । ‘मैले श्रीमानलाई फोन गर्दासम्म पनि मलेशियामा जेठाजुलाई थाहा रहेनछ’, मुनाले भनिन्, ‘उहाँले थाहा पाउनु भएको रहेछ, तर कसरी दाइलाइ भन्ने भन्नुहुँदै थियो ।’ 

गए एक्ला छोरा

निशान गणेश चमेली दम्पतीका एक्लो छोरा हुन् । उनका १६ र १४ वर्षका दुई दिदी छन् । दसैंपछि बैशाखको छुट्टीमा अन्तिम पटक गाउँ आएका निशान चकचके र चन्चले स्वभावको भएको मुनाले बताइन् । 

‘नहुनलाई रहेछ बिर्सनै नसक्ने चकचक गर्थ्यो, मुनाले स्मरण गरिन्, ‘जति चकचके भएपनि हामी सबैसँग झ्यामिन्थ्यो, उसको त्यतिबेलाको व्यवहार अहिले पनि आँखामा घुमिरहेको छ ।’

निशान हत्याको खबरले स्तव्ध छिमेकी सबै दुर्गाबहादुरको घरमा जम्मा भएर समवेदना दिइरहेका छन् । स्थानीयका अनुसार सबैले सम्झाउँदा पनि दुर्गाबहादुर र उनका परिवारका सदस्यको मन बुझाउन सकिरहेका छैनन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.