ललितपुरका सडक बेहाल

ललितपुरका  सडक बेहाल

ललितपुर : पाटन अस्पतालबाट अलिकति सोझै अघि बढेर देब्रेतिर लागेपछि मापाल पुगिन्छ। मापाल सकिनासाथ इबहालमा आउँछ, जहाँ ज्ञानीदेवी महर्जन पसल गरेर बसेकी छ। चिल्लो र सफा सडक बन्ला, व्यापार फस्टाउला भन्ने आसमा त्यहाँ उनले ८ वर्ष बिताइसकिन्। घरैअगाडि भैंसी आहाल बस्न सक्ने खाल्डा, हिलो र अव्यवस्थित ढलले आफूले महानगरपालिकामा बसेको कहिल्यै अनुभूति नगरेको उनले बताइन्। उनले भनिन्, ‘पानी परेपछि हिँड्न सकिन्न यो बाटो।’ महर्जनले सकेसम्म सानातिना खाल्डा आफैंले पुर्ने गरेको तर एक÷दुई दिनमै उस्तै भइहाल्ने गुनासो गरिन्।

वडा नम्बर १९ मा बस्ने जीवन शाक्य भन्छन् ‘वडा, महानगर न त कुनै पार्टीका मान्छे, कसैले सुनेनन्।’ खाल्डाखुल्डी परेको सडकमा धेरै दुर्घटना हुने गरेको र ढलको निकास नहुँदा ठूलै समस्या बनेको जानकारी उनले दिए। भित्री सडकहरू बेहाल भए पनि कसैले नसुनको भन्दै स्थानीय आक्रोशित छन्।

ललितपुर महानगरका सबै भित्री सडकहरूको अवस्था लगभग उस्तै छ। पाटन दरबार स्क्वायरबाट बगलामुखी मन्दिर जाने सडकको अवस्था अत्यन्त दयनीय छ। अल्का अस्पतालबाट जाउलाखेल जाने सडक, महालक्ष्मीस्थानदेखि पाटन अस्पतालसम्म, सातदोबाटो प्रहरी वृत्त अगाडि, भैंसेपाटी–चापागाउँ–ढोलाहिटी सडकलगायत अधिकांश सडक अहिले बेहाल भएको बताउँछन् स्थानीय।

वडा नम्बर ९ का अध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता राजु महर्जनले भित्री सडकहरूको अवस्था दयनीय भएको स्वीकार गरे। जनप्रतिनिधि निर्वाचित भएको पहिलो वर्ष काम हुन नसकेको भन्दै उनले भने, ‘गत वर्ष महानगरले भित्री सडक निर्माण गर्न १० करोड रुपैयाँ बजेट छुट्याएको थियो।’ तर सडकमा पीसीसी ढलान र ब्लक ओछ्याउनमै ६ करोड रुपैयाँ लगानी भएको थियो। उनले ऐन नहुँदा पनि काम गर्न समस्या भएको बताए।

महानगरले कम्तिमा डेढ इन्च कालोपत्रे गर्ने योजना बनाएको छ। भित्री सडक कालोपत्रे गर्न एक साता पहिला नै बोलपत्र आह्वान गरिसकेको र १३ फिटभन्दा चौडा सडकमा आस्फल्ट प्रयोग गरिने जानकारी महर्जनले दिए। पानीको स्रोत दृष्टिगत गर्दै ढलान निरुत्साहित गर्न खोजेको र ब्लक, इँटा, ढुंगा छाप्ने काम अघि बढाएको हो।


भित्री सडक कालोपत्रे गर्न महानगरपालिकाले यस वर्ष ५० करोड रुपयाँ छुट्याएको छ।

गाभिएका वडामा धेरै समस्या रहेको महर्जनको भनाइ छ। वडा नम्बर १६ र १७, २० र २१, ११ र १२ लगायत वडा आपसमा गाभिएका छन्। यस पटक बजेट तीन गुणा बढेको र सडक निर्माण बजेटको पहिलो प्राथमिकतामा छ। यस वर्ष महानगरका २९ मध्ये २५ वटा वडाले योजना माग गरिसकेका उनले बताए।

१५ नम्बरका वडाध्यक्ष सुदर्शन मिश्रका अनुसार महानगरले यस वर्ष भित्री सडक कालोपत्रे गर्न ५० करोड रुपैयाँ छुट्याएको छ। नगरपालिकाका सबै वडाले आफ्ना योजना पेस गरिसकेपछि पूर्वाधार समितिको बैठक बस्ने र तत्काल आवश्यकता अनुसार बैठकले निर्णय गर्ने जानकारी उनले दिए। उनले भने, ‘यस्ता ठाउँमा वडालाई दिएको बजेट पर्याप्त हुँदैन र नगरस्तरीय बजेटबाटै विकास गरिनुपर्छ।’

ढल र बत्तीलगायत व्यवस्थित गर्न ४८ करोड

ललितपुरको लगनखेलस्थित बसपार्कदेखि यूएन पार्कसम्म ढल निर्माण गर्न महानगरपालिका, एसियाली विकास बैंक (एडीबी) र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बीच सहमति भएको छ। ४८ करोड रुपैयाँ लागतको ढल निर्माणमा ८० प्रतिशत एडीबीले र बाँकी महानगरपालिकाले खर्च गर्ने छन्।

सहमतिपत्रमा हस्ताक्षर गर्दै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले सहमति कोशेढुंगा हुने बताए। ललितपुरका प्रमुख सम्पदा महापाल, कुमारीपाटी दरबार स्वायरलगायत ठाउँमा ढल व्यवथित नहुँदा पीडा हुने गरेको उनको भनाइ थियो। उनले ढलसँगै सडक बत्ती र टेलिफोनका तार पनि व्यवस्थित गरिने जानकारी दिए।

२०१९ जनवरीदेखि ढल निर्माण सुरु भई १८ महिनामा सकिनेछ। २ दशमलव ८ किलोमिटर ढलको डीपीआर तयार भइसकेको र टेन्डरको तयारीमा रहेको पनि मेयर महर्जनले बताए। ढलसँगै नेपाल विद्युत प्राधिकरणको ११ केभी प्रसारण लाइन र नेपाल टेलिकमको लाइनसँगै निर्माण गरिने भएकाले त्यस क्षेत्रमा अब तार जथाभावी देखिने छैनन्। ललितपुरमा बर्खा याममा सधैं ढलको समस्या हुने गरेको छ। महानगरका वडा नम्बर ५, ९, ११, १२, १५, १६, १९ लगायतमा ढल बन्ने भएको हो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.