ठेकेदारको लापरबाहीले हुलाकी राजमार्ग अवरुद्ध
परासी : निर्माण व्यवसायीको चरम लापरबाहीका कारण पश्चिम नवलरासीको परासी-नारायणचोक हुलाकी सडक दुई सातादेखि अवरुद्ध छ । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको बेहाल अवस्थाले पैदल यात्रुसमेत बारम्बार सास्ती खेप्न बाध्य छन् ।
सडक निर्माणका लागि ठाउँठाउँमा खसालेको माटो व्यवस्थित नगर्दा पानी पर्नासाथ सडक हिलाम्मे हुने गरेको छ । अधिकांश स्थानमा रहेका खाल्डाखुल्टीसमेत पुरिएका छैनन् । सडक निर्माणको काम सुरु गरे पनि निर्माण कम्पनीले समयमा काम नगर्दा अहिले सो सडकखण्डमा चल्ने सवारी साधन चल्न सकेका छैनन् ।
सडकमा ग्राभेल (मिस्कट) नराख्दा हिलो र खाल्डाखुल्टीका कारण सवारीसाधन चल्न नसकेका हुन् । सडक अवरुद्ध हुँदा परासी-जहदादेखि गोपीगञ्ज पुग्ने सवारीसाधन भूमही–बर्दघाट हुँदै २५ किलोमिटरको दूरी पार गरेर जानुपर्ने बाध्यता छ । परासीबाट नारायणचोकको दुरी साढे १२ किलोमिटर छ ।
सडक निर्माणका लागि हुलाकी सडक आयोजनाले हेटौंडास्थित कञ्चनजंघा शिवशक्ति बिरुवा जेभी नामक कम्पनीलाई जिम्मेवारी दिएको छ । सडक डिभिजन कार्यालय बुटवलको रेखदेखमा भइरहेको सडक निर्माणको लागत २५ करोड रुपैयाँको हो ।
सडकमा ग्राभेल नराखेका कारण वर्षायाममा सडक हिलाम्मे भई आगमनमा समस्या भएको सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख कैलाश श्रेष्ठले बताए । उनले सडक मर्मतका लागि व्यवसायीलाई पटक-पटक ताकेता गर्दासमेत निर्माण सामाग्रीको अभावको बहाना देखाएर उम्किन खोजेको बताए ।
ग्राभेलको व्यवस्था गरेर तत्काल सडक व्यवस्थित बनाउन व्यवसायीलाई ताकेता गरेकाले एक दुई दिनमा समस्या समाधान हुने श्रेष्ठको भनाइ छ । सडक निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ ।
सम्झौताअनुसार, २०७३ फागुनबाट सुरु गरिएको सडक आउँदो फागुनसम्म सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण सामाग्रीको अभाव देखाउँदै व्यवसायीले काममा ढिलाई गर्दा समयमा सम्पन्न हुन नसक्ने अवस्था देखिएको छ ।
निर्माण कार्यका लागि आवश्यक पर्ने ग्राभेल अभावले समस्या भएको निर्माण कम्पनीका इन्जिनियर मेघराज खनालले जानकारी दिए । उनले केही दिनमा ग्राभेलको व्यवस्था गरेर सडकलाई व्यवस्थित गरिने बताए ।
अहिलेसम्म सडक सम्माउने, माटो फिलिङ्गसहित अन्य स्टकचरका काम सकिएको इन्जिनियर खनालको भनाई छ । निर्माण सामाग्रीको अभाव नभए तोकिएको समयमा काम सम्पन्न हुने पनि उनले दाबी गरे । ११ मिटर चौडाइ रहेको उक्त सडकखण्डमा सात मिटर कालोपत्रे हुनेछ ।