किन पक्राउ पर्दैछन् विप्लवका नेता ? सरकार किन आक्रमक ?

किन पक्राउ पर्दैछन् विप्लवका नेता ? सरकार किन आक्रमक ?

काठमाडौं: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ मंगलबार साँझ दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलाट पक्राउ परे । त्यसको विरोधमा विप्लवले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै नेपाल बन्दसहितका कार्यक्रम घोषणा गरिसकेका छन् । 

नेपाल प्रहरी प्रवक्ता शैलेश थापा खत्रीका अनुसार विश्वकर्मा चन्दा असुलीको रसिदसहित पक्राउ परेका हुन् । प्रहरीको विशेष टोलीले मंगलबार साँझ विश्वकर्मासहित तीनजनालाई पक्राउ गरेको हो । प्रहरी प्रवक्ता खत्रीका अनुसार विश्वकर्माका चालक कपिलवस्तु, वाणगगा–४ का मनबहादुर श्रेष्ठ र स्वकीय सचिव कालिकोट कालिका गाउँपालिका–६ का हरिचन्द्र आचार्य चन्दा उठाएको रसिदसहित पक्राउ परेका हुन् । 

प्रहरीले यसअघि विप्लवको पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन, पदम राई र केन्द्रीय सदस्य अजात केसीलाई पक्राउ गरिसकेको छ । कार्की र धमला काभ्रेमा छन् भने पुन कैलाली र राई भोजपुरमा छन् । 

पक्राउ परेका प्रवक्ता प्रकाण्ड विप्लवको पार्टीको दोस्रो वरियताका नेता हुन् । चन्दा असुलीको अभियोगमा पक्राउ परेका विश्वकर्मा पूर्व पर्यटनमन्त्री समेत हुन् । तत्कालीन नेकपा माओवादी विभाजित हुँदा मोहन वैद्यतर्फ लागेका विश्वकर्मा त्यसपछि विप्लवसँग छन् । विप्लवको पार्टीमा उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । 

पाँच दिन म्याद थपियो

मंगलबार पक्राउ परेका विश्वकर्मासहित तीनजनालाई प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ । काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको हो । प्रहरीले प्रकाण्डलाई चन्दा ऐन २०३० अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । 

अदालतबाट म्याद थपपछि पत्रकारसँग कुरा गर्दै प्रकाण्डले प्रहरीबाट आफूले अमानवीय व्यवहार भोग्नुपरेको आरोप लगाएका छन् । ‘आँखामा पट्टी बाँधेर यातना दिइयो’, उनले भने । अदालतमा म्याद थप गरी उनलाई टेकु पु¥याइएको छ । काठमाडौँ प्रहरी परिसर टेकु स्रोतका अनुसार प्रवक्ता प्रकाण्ड सात करोड रुपैयाँ बढी चन्दा उठाएको अभियोगमा पक्राउ परेका हुन् । 

नेपाल बन्दको घोषणा 

प्रवक्ता ‘प्रकाण्ड’ पक्राउ परेको विरोधमा पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई बिनाकारण पक्राउ गरिएको भन्दै पार्टीले विरोध कार्यक्रम घोषणा गरेको हो । 

महासचिव विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा पाँच दिनको विरोध कार्यक्रम सार्वजनिक भएको छ । जसअनुसार साउन २५ गते कोणसभाबाट सुरु हुने विरोध कार्यक्रम २९ गते नेपाल बन्दसम्म रहेको छ । बुधबार सार्वजनिक भएका कार्यक्रम अनुसार साउन २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशालजुलुस र २९ गते नेपाल बन्दको घोषणा गरिएको छ।

‘हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कामरेड सीसीएम कामरेडलगायत सबै कामरेडलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछौं’, नेकपाको विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमार्फत् विप्लवले सरकारले दमन गरे पनि विचलिन नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । उनले समर्थक र शुभचिन्तकलाई सम्बोधन गर्दै कार्यक्षेत्रमा डटिरहन आग्रह गरेका हुन् । उनले दमनले प्रतिरोध जन्माउने भएकाले सरकारलाई सचेत भएर काम गर्न चेतावनीसमेत दिएका छन् । 

‘हाम्रो पार्टी नेपाली जनताको अपुरो राजनीतिक अधिकार पूरा गर्ने अभियानमा छ । यो अभियानलाई कुल्चिने, दमन गरेर सिध्याउने सपना नदेख्न चेतावनी दिन चाहन्छु । इतिहासले पुष्टि गरेको सत्य के हो भने दमनले प्रतिरोध जन्माउँछ र जनतामाथि लुट मच्चाउनेको स्वर्ग ध्वस्त हुन्छ । दमनले भिषण संघर्ष निम्त्याउँछ’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दमनको बाटो पराजयको बाटो हो भन्ने कुरा यो सरकारले बुझिराखे हुन्छ । यो दमनले हामी एकरत्ति पनि विचलित भएका छैनौँ । सबै कामरेड, समर्थक र शुभचिन्तकहरुलाई आफ्नो क्षेत्रमा डटिरहन अनुरोध गर्दछु ।’

प्रकाण्डको घरमा छापा 

मंगलबार साँझ प्रकाण्डलाई पक्राउ गरेपछि प्रहरीले बुधबार बिहान उनको घरमा छापा मारेको छ । कपनस्थित घरमा पुगेर प्रहरीले छापा मारेको हो । उनका छोरा नरेन्द्र विश्वकर्माका अनुसार बिहान ९ः३० बजे डीएसपीको कमाण्डमा पुगेको प्रहरीले घरमा छापा मारेको हो । ‘पेस्तोल देखाउँदै घर प्रवेश गरेका प्रहरीले आधा घण्टा छापा मारे’, नरेन्द्रले भने, ‘प्रहरी घरभित्र पस्दा साना नानीहरु रोइकराई गर्न थाले, उनीहरुले कपडा र पुस्तक छरछार पारेर गएका छन् ।’ 

सरकार किन डरायो ? 

१० वर्षे जनयुद्धसँगै लडेका एक कमाण्डर रामबहादुर थापा ‘बादल’ गृहमन्त्री छन् । उता अर्का कमाण्डर नेकपाका महासचिव विप्लव भने प्रहरीको ‘वान्टेट’ सूचीमा छन् । शान्ति सुरक्षाका लागि सरकारले अहिले विप्लवबाट मात्र खतरा देखिराखेको छ । यसमा विभिन्न कारण छन् । जसमध्ये एउटा कारण हो, विप्लवसँग साना हातहतियार प्रशस्तै छन् । भूमिगत जस्तै बनेका विप्लवले विभिन्न स्थानमा पुगेर क्रान्तिका लागि जुट्न प्रशिक्षणसमेत दिइरहेका छन् । 

चाडपर्व नजिकिँदै गर्दा विप्लवका नेताहरुले चन्दा अभियानलाई तीब्रता दिएका छन् । तीज, दसैं, तिहार, छठ जस्ता चाडपर्व एकसाथ आउने भएकाले नेकपाले चन्दा अभियानलाई तीब्रता दिएको देखिन्छ । केन्द्रमा भन्दा स्थानीय तहमा सहजै प्रभाव पार्न सक्ने भएकाले विप्लवका नेताहरु गाउँगाउँमा पुगेपछि प्रहरीले निगरानी बढाएको हो । चन्दा अभियानलाई निरुत्साहित गर्नैका लागि विप्लवका उच्च नेता प्रहरीको निशानामा परेको स्रोतको दाबी छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.