एक सय ७६ परिवारको पालमुनि बास
कालिकोट : कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–६ हाउडीमा वर्षेनी पहिरो जाँदा एक सय ७६ घरधुरी विस्थापित भएका छन्। तीन वर्षदेखि वर्षेनी पहिरो खस्दा हाउडीका २२ दलित घरधुरीसहित एक सय ७६ घरधुरी बिस्थापित भएका हुन्।
वर्षायाम लागेसँगै निरन्तर पहिरो खस्दा हाउडीका स्थानीय एक सय ७६ घरधुरी खुल्ला चौरमा पाल हालेर बास बस्ने गरेका छन्। जोखिमयुक्त बस्तीमा रहेका उनीहरुलाई गाउँपालिकाले खुला चउरमा पाल वितरण गरेर स्थानान्तरण गरेको हो।
गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले २०७२ सालदेखि निरन्तर पहिरो खस्दा हालसम्म २२ दलित परिवारका घरसहित २५ वटा घर भत्काएको छ भने २७ जनाको खेतीयोग्य जमीन पूरै पुरिएको जानकारी दिए। वर्षेनी पहिरो खस्दा कोही हाउडी प्रहरी चौकीमा त कोही आफन्तहरुको घरमा साहारा लिइरहेका स्थानीयबासीलाई बुधबार गाउँपालिकाको सहयोगमा पाल वितरण गरी खुला चौरमा बस्ती सारिएको उनको भनाई छ।
निरन्तर वर्षासँगै पहिरो खसिरहेकाले पुरानो बस्ती बस्न सकिने अवस्थामा छैनन्। गाउँपालिकाको बजेटले पहिरो रोकथामका लागि सम्भव नरहेकाले जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत् हरेक वर्ष केन्द्रमा पहल भइरहेको भए पनि हाउडीका नागरिकको पीडा सम्बोधन नभएको उनले जानकारी दिए।
यस वर्ष गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारसँग माग पनि गरिएको छ। अध्यक्ष चौलागाईंले भने, ‘पहिरो निकै ठुलो छ। पहिरोको रोकथामका लागि तटबन्धनको आवश्यकता छ। जुन सानो बजेटले हुनेवाला छैन। यो पहिरोले त्यहाँका स्थानीयको रोजीरोटी नै खोसिदिएको छ।’
पहिरोले घर भत्काएपछि घरबारविहीन भएका स्थानीय सौरे विकले तीन वर्षदेखि न रातमा निन्द्रा न दिनमा भोक भएर बाँच्नु परेको बताए। उनले भने, ‘पहिरोले घर भत्काएपछिका तीन वर्ष पहिरोको त्रासमै बित्यो। कोही कसैले पनि उद्धार गरेनन्। अहिले गाउँपालिकाले पालसम्म दिएर खुला चौरमा बसालेको छ। यहाँ पनि निकै कष्टकर जीवन बिताइरहेका छौं।’