२२ विमानस्थलमा उड्दैनन् जहाज
काठमाडौं : देशभरका २२ वटा विमानस्थलमा उडान ठप्प छ। यीमध्ये केहीमा उडान भएर बन्द भएको हो भने कतिपयमा परीक्षण उडान नै सुरु भएको छैन। ३०/४० वर्ष अगाडि उडान सुरु भएका कतिपय विमानस्थनमा पनि हाल उडान ठप्प छ।
ठूला नेताको दबाब र निर्वाचन एजेन्डाका रूपमा विमानस्थल निर्माण भएका कारण पनि यस्तो अवस्था आएको हो। सरकार परिवर्तनसँगै कतिपय विमानस्थलमा परीक्षण उडान हुने गरे पनि नियमित भएको छैन। यसले गर्दा सरकारको करोडौं लगानी डुबेको छ। एउटा विमानस्थल निर्माण गर्दा न्यूनतम हिमाली क्षेत्रमा ४५ करोड, पहाडमा ३५ करोड र तराईमा ५० करोड रुपैयाँ खर्च हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानस्थलमा परीक्षण उडान गर्दा समेत सरदर प्रतिघन्टा दुई हजार डलरसम्म खर्च हुन्छ। यही हिसाबले हेर्दा सरदर एउटा विमानस्थलमा परीक्षण उडान गर्दा चारदेखि पाँच लाख रुपैयाँ खर्च हुने प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम बताउँछन्।
केही समय अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकरीले परीक्षण उडान गरेका तीनवटा विमानस्थलमा समेत उडान हुन सकेको छैन। मन्त्री अधिकारीले पाँचवटा विमानस्थलमा परीक्षण उडान गरेकामा राजविराज र बागलुङको बलेवा विमानस्थलमा मात्रै नियमित जहाज उडेका छन्।
मन्त्री अधिकारीले तामझामका साथ परीक्षण उडान गरेका इलामको फागुन्नद, अछामको साँफेवगर र गुल्मीको रेसुंगा विमानस्थलमा समेत उडान हुन सकेका छैन। यसमा फागुनन्द विमानस्थलमा परीक्षण उडानमा ४८ सय डलर, बलेवा विमानस्थलमा परीक्षण उडान गर्दा आठ सय ३४ डलर र रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्दा १५ सय डलर खर्च भएको प्राधिकरणले जानकारी दिएको छ। तर, साँफेवगर र राजविराज विमानस्थलको परीक्षण उडानमा भने एयरलाइन्स कम्पनीले रकम लिएका थिएनन्।
गुल्मीको रेसुंगा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको गृह जिल्ला हो भने साँफेवगर नेकपा नेता भीम रावलको गृह जिल्ला हो। इलामको फागुनन्द विमानस्थल पनि नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवास नेवाङको गृह जिल्ला हो। केही समय अगाडि त्रिभुवन विमानस्थलमा भएको एक कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले माथिल्लो निकायको दबाबमा विमानस्थल बनाउनुपर्ने गुनासो पोखेका थिए।
बिना अध्ययन राजनीतिक दलका नेताको एजेन्डामा विमानस्थल पर्दा पनि निर्माण भई परीक्षण हुँदा पनि नियमित उडान हुन नसकेको गौतमको भनाइ थियो। विमानस्थल निर्माणपछि आर्थिक रूपमा चलायमान हुने अवस्था छ कि छैन त्यसतर्फ नेताको ध्यान पुगेको छैन। मन्त्री अधिकारीले हवाई सेवा विस्तारमा आवश्यक सुझाव लिन गठन गरेको प्राविधिक टोलीले समेत निर्माणमा भएका विमानस्थल सञ्चालन गर्ने व्यवस्था मिलाएर मात्रै थप आन्तरिक विमानस्थल बनाउनु उपयुक्त हुने बताएका थिए।
विमानस्थलमा परीक्षण उडान गर्दा समेत सरदर प्रतिघन्टा दुई हजार डलरसम्म खर्च हुन्छ।
सरकारी स्वामित्वको राष्ट्रिय धवजाबाहक नेपाल एयरलाइन्ससँग जहाज कम हुनु र भएका जहाज पनि उडाउने पाइलट अभावका कारण विमानस्थलमा नियमित उडान हुन सकेको छैन। तर, निजी हवाई सेवा प्रदायकले परीक्षण उडान गरे पनि यात्रु नपाएको भन्दै कतिपय विमानस्थलमा उडान रद्द गरेका छन्। गत वर्षको संघीय संसद्को निर्वाचनकै बेला तामझाका साथ नियमित उडान गर्ने तालिकासहित उडान सुरु भएको मैघौली विमानस्थल पनि फेरि बन्द भएको छ।
यो त एउटा प्रतिनिधि विमानस्थल मात्रै हो। नेताले निर्वाचनका बेला विमानस्थलको नारा जनता समक्ष फाल्ने एउटा ग्रिन कार्ड हो। तर, यसरी बनेका अधिकांश विमानस्थलमा सरकारको खर्चको मात्रै भएको छ। तर, जनताले हवाई सेवा पाउन सकेका छैनन्। यसैगरी, कालिकोट विमानस्थलमा पूर्व संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले परीक्षण उडान गरे पनि नियमित उडान हुन सकेको छैन। प्रत्येक सरकार तथा मन्त्री परिर्वतन हुँदा विमानस्थलमा परीक्षण उडान हुने संस्कार भए पनि नियमित छैन।
सन् १९७८ मै सञ्चालनमा आएको वैतडी विमानस्थल, सन् १९७६ मै सञ्चालन भएको बझाङ विमानस्थल, सन् १९६१ मा सञ्चालनको भएको दाङ विमानस्थल र सन् १९८६ मै सञ्चालनमा आएको दार्चुला विमानस्थलमा समेत उडान ठप्प छ। यसैगरी ढोरपाटन विमानस्थल, डोटी विमानस्थल, जिरी विमानस्थल, खन्गेलडाँडा विमानस्थल, लाङटाङ विमानस्थल र महेन्द्रनगर विमानस्थलमा जहाज उडान हुन सकेको छैन। यस्तैगरी मनाङ विमानस्थल, मसिनेचौर विमानस्थल, पालुङटार विमानस्थल, रोल्पा विमानस्थल, स्याङबोचे विमानस्थल र टीकापुर विमानस्थल र अछामको कमला विमानस्थलमा पनि जहाज उडान हुन सकेको छैन। विमानस्थल निर्माण भइ परीक्षण उडान भएको विमानस्थलमा उडान नियमति हुननसकेपनि अहिले ओखलढुंगाको खिजिचन्डेश्वरी र अर्घाखाँचीमा अर्घा विमानस्थल निर्माण भइरहेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सातवटा विमानस्थलमा चार्टर उडान हुने गरेको छ भने १२ वटा विमानस्थलमा नियमित उडान भइरहेको छ। सातवटा विमानस्थलमा बढी ट्राफिक चापसहित चलेका छन्। विराटनगर, गौतम बुद्ध, नेपालगन्ज र पोखरा आन्तरिक हव विमानस्थल
हुन ्।