‘गल्ती ढाकछोप गर्न समिति गठन’
नेपालगन्जः सिक्टा सिँचाइ आयोजनाको भत्केको पश्चिमी नहर छानबिन गर्न मन्त्रालयस्तरीय समिति गठनलाई नागरिक समाजले गल्ती ढाकछोप गर्ने प्रपञ्च मात्र भएको भनेर टिप्पणी गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीबार राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको भत्केको नहर छानबिन गर्न सहसचिवको संयोजकत्वमा समिति गठन गरेको छ । विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ मन्त्रालयले यस्तो समितिबाट सत्यतत्य बाहिर ल्याउन नसक्ने दाबी गर्छन् ।
उनी भन्छन्, ‘कि त स्वतन्त्र छानबिन समिति बनाउनुपथ्र्यो, होइन भने संसदीय समितिबाटै अनुगमन गरी छानबिन हुनुपथ्र्यो । आफूमातहतको निकायबाट छानबिन गर्दा समस्या ओझेलमा पर्ने र गल्ती ढाकछोप गर्ने खतरा हुन सक्छ ।’
केही दिनअघि समितिले स्थलगत अनुगमन गरी आयोजनाको जीर्ण नहरबाट भविष्यमा ठूलो मानवीय क्षति हुनसक्ने भन्दै केही दिनअघि संसदीय समितिबाट अनुगमन गरी समस्याको दिगो समाधान खोज्न माग गरेको थियो । मन्त्रालयले सहसचिवको संयोजकत्वमा समिति गठन गरेको छ । विगतमा सिक्टा सिँचाइ आयोजनाको प्रमुख भई काम गरेका सरोज पण्डित नै जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशक छन् । त्यसैले समितिले निष्पक्ष ढंगले काम गर्नेमा आशंका छ । बाँकेका प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अथक’ ले पनि सिक्टा सिँचाइ आयोजनाको राज्यका सबै निकायबाट गम्भीर छानबिन हुनुपर्ने बताए । उनले भने, ‘यस विषयमा मैले मन्त्रीहरूलाई पटक–पटक ध्यानाकर्षण गराएको छु ।’
राप्तीसोनारी गाउँपालिकाले भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन गर्न समिति गठन गरेकोमा स्वागत गरेको छ । ‘पहिले छानबिन गरेर सत्यतत्य सार्वजनिक गर्नुपर्छ’, गाउँपालिका अध्यक्ष लाहुराम थारूले अन्नपूर्ण पोस्ट्सँग भने, ‘डुबान नहुने ठाउँमा पनि नहरकै कारण डुबानको खतरा छ । नहरको समयमै मर्मत सम्भार गर्नुपर्छ ।’
सिक्टाको नहर जीर्ण भएकै कारण तीन वटा वडा जोखिममा रहेको भन्दै गाउँपालिकाकाले बुधबार गाउँकार्यपालिका बैठकबाट छानबिन गर्न माग गरेको थियो । समितिले प्रतिवेदन सार्वजनिक गरेपछि आयोजनाको गुणस्तरमा देखिएको कमजोरीमा संलग्न व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउन अध्यक्ष थारूको सुझाव छ । सिक्टा सिँचाइ आयोजनाको निर्माण २०६३ सालबाट सुरु भएको हो । ४४.२५ किमि लामो पश्चिमी मूल नहरको परुवा खोलादेखि डुडुवा खोलासम्मको १४ किलोमिटर क्षेत्रमा सयौं ठाउँमा प्वाल परेको छ । ५० क्युमेक्स क्षमता थेग्ने गरी निर्माण गरिएको नहर परीक्षणका क्रममा दुई पटक भत्किएको थियो । आयोजनाबाट बाँकेको ४२ हजार ७ सय ६६ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य रहेको छ ।