अन्नपूर्णकर्मी खड्कालाई एक लाख राशीको राष्ट्रिय युवा प्रतिभा सम्मान
गुल्मी : अन्नपूर्ण पोष्टका गुल्मी संवाददाता गंगा खड्का एकलाख राशीको राष्ट्रिय यूवा प्रतिभा सम्मान पुरस्कारका लागि छनौट भएकी छन् । पत्रकारीतासँगै सामाजिक रुपान्तरणको क्षेत्रमा क्रियाशील खड्कालाई युवा तथा खेलकुद मन्त्रालयले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गर्नेछ ।
खड्का विगत पाँचवर्षदेखि सुरक्षित महिनावारी अभियानको क्षेत्रमा समेत क्रियाशील छन् । सामाजिक रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको मूल्यांकन गर्दै यवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्न लागेको मन्त्रालयका सूचना अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
विगत पाँचवर्षदेखि गुल्मी सहित पाल्पा, सुर्खेत र बैतडी जिल्लामा पुगेर खड्काले विद्यालयका किशोरीहरुलाई सुरक्षित महिनावारीको विषयमा अभिमुखीकरण गर्दै आइरहेकी छिन् । महिनावारी भएको बेला किशोरी छात्राहरुले विद्यालयमा भोग्नुपरेको पीडालाई देखेर खड्काले देशभर अभियान सचालन गर्ने उद्देश्यले गुल्मीबाट सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल समेत गठन गरेकी छन् ।
छात्राहरुलाई अभिमुखीकरण कार्यक्रम, सञ्जाल गठन, सेनेटरी प्याड वितरण, इन्सिनेटर सहितको छात्रा शौचालय, फोकल शिक्षिकाको व्यवस्था लगायत क्षेत्रमा उनले सहजीकरण गर्दै आइरहेकी छन् । उनले कार्यक्रम संचालन गरेपछि हालसम्म ८० वटा विद्यालयमा कार्यक्रम गरी झण्डै १२ हजार बढी छात्राहरु प्रत्यक्ष लाभांवित भएका छन् ।
मन्त्रालयका अनुसार युवा प्रतिभा सम्मानका लागि देशभरबाट विभिन्न विधामा एकसय बढी सहभागीहरुले आवेदन दिएका थिए । खुल्ला प्रतिस्पर्धाको आधारमा खड्का सहित विभिन्न विधामा दशजना युवाहरुलाई सम्मानका लागि छनौट गरिएको छ ।