कालिकोटको महावैमा ठुलो पहिरो, ३४ परिवारको बिचल्ली
कालिकोट: यहाँको महावै गाँँउपालिका वडा नं. ३ नकुमा भीषण पहिरोे जाँदा स्थानीय ३४ परिवार बिचल्लीमा परेका छन् । एक सातादेखिको अबिरल बर्षापछि नकुमा पहिरो जाँदा उनीहरुको बिचल्ली भएको हो ।
महाँवै गाउपालिका–३ का वडा सदस्य रजबहादुर बिष्टले गाँउको तलतिरबाट निरन्ततर पहिरो खस्दा पुरै गाँउ जोखिममा परेको बताए । उनका अनुसार नकुको गाँउमा ३३ बिष्ट र एक सिंकको परिवारको पहिरोका कारण बिचल्ली भएको छ ।
‘गाँउको तलतिरको भाग पुुरै भासिएको छ । स्थानीय बखतबहादुर सिंहको घर र प्रबिण बिष्टको खुर्सानी बारीसम्म पहिरो पुगेकाले गाँँउका सबै स्थानीयले गाउँ छाड्नुपर्ने अवस्था आएको छ’, उनले भने ।
गाँउमा पहिरोले सबैको बिचल्ली हुने अवस्था आएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर पीडितलाई सुरक्षित स्थानमा सार्न आग्रह गरिएको बताए ।
यस्तै स्थानीय भिमराज बिष्टले साउन १ देखि गाँउको तलबाट पहिरोको सुरुवात भएको बताउँदै त्यसले गाउँनै संकटमा पारेको उल्लेख गरे । गाँउका ११ घरपरिवारको धान खेत करिब पाँच बिघा बगिसकेको जानकारी दिए ।
‘न बर्षा रोकिएको छ न पहिरो रोकिएको छ । शुक्रबारसम्म गाँँउमै बसेका स्थानीयले अब त गाँँउनै छाड्नु परेको छ’, उनले भने, ‘गाउँ छाडेर वनमा रुखको छाहारीमा पाल हाल्दै बास बस्नु पर्ने अवस्था आएको छ ।’
यस्तै स्थानीय सर्जन बिष्ट, रत्न बिष्ट, तिर्थ बिष्ट र हिक्मत बिष्टले गाँउ पुरै पहिरोले जोखिममा परेकाले जिल्ला प्रशासनमा हारगुहार गर्न सदरमुकाम आएका बताए । ‘गाँउमा टेलिफोन सेवासमेत छैन । डाँडामा गएर फोन गर्नुपर्छ । फोन गर्नकै लागि २ घण्टाको बाटो हिँड्नु पर्छ’ उनीहरुले एकै स्वरमा भने, ‘पहिरोले सबै खेत बगाएर गाउँको छेउका घर भासिएपछि बस्ती छाड्न थालेका छन् ।’
यस्तै महाँवै गाँउपालिका अध्यक्ष नन्दबहादुर सिंहले पहिरोले गाँउनै जोखिममा परेकाले जिल्ला दैवी प्रकोप उद्धार समितिमा जानकारी गराइएको बताए । उनले बर्षासँगै निरन्तर पहिरो खसिरहेकाले तत्काल स्थानीयलाई गाँउबाट सुरक्षित स्थानमा सार्नुको बिकल्प नरहेको बताए ।
सहायक प्रमूख जिल्ला अधिकारी राजकुमार दुलालले नकुको पहिरोको सूचना आफुहरुले पाउनासाथ गृहमन्त्रालयमा समेत पत्र पठाएको बताए । उनले स्थानीय सबै नागरिकलाई सुरक्षित स्थानमा राख्नका लागि गाँउपालिकासँग समन्वय गरिरहेको बताए ।