प्रदेशको पहिलो निर्देशनालयमा हाकिम मात्र

प्रदेशको पहिलो निर्देशनालयमा हाकिम मात्र

बुटवल : प्रदेश ५ मन्त्रालयअन्तर्गत पहिलो निर्देशनालयको रूपमा स्वास्थ्य निर्देशनालयको स्थापना भएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत साता दिनअघि स्वास्थ्य निर्देशनालय गठन भए पनि अहिलेसम्म निर्देशक मात्र हाजिर भएका छन् ।

संघीय सरकारको मन्त्रालयअन्तर्गतको विभागजस्तै प्रदेशको मन्त्रालयभन्दा एक तहमुनि निर्देशनालय रहने व्यवस्था छ । स्वास्थ्य निर्देशनालय प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्यसँग सम्बन्धीत कार्यान्वयन इकाइ हो । मन्त्रालयले तयार गरेका स्वास्थ्यसम्बन्धी नीति योजना र कार्याक्रमलाई कार्यान्वयन गर्ने, प्रदेशअन्तर्गतका अस्पताल तथा स्वास्थ्यसंस्थाहरू तथा मन्त्रालयबीच समन्वयको काम निर्देशनालयले गर्नेछ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयमा सहसचिवस्तरका एक निर्देशक रहने व्यवस्था छ । त्यसबाहेक विभिन्न क्षेत्रका ९ उपसचिवसहित ३७ जना कर्मचारी रहनेछन् । तर अहिलेसम्म निर्देशक डा. विनोद गिरी मात्र निर्देशनालयमा हाजिर भएका छन् ।

‘एक साताभित्र अरू कर्मचारी आउनुहुन्छ’, निर्देशक डा. गिरीले भने, ‘अहिले क्षेत्रीय मेडिकल स्टोरका साथीहरूले सहयोग गर्नुभएको छ ।’ बुटवलको क्षेत्रीय मेडिकल स्टोरको भवनमा स्वास्थ्य निर्देशनालय राखिएको छ । मेडिकल स्टोर खारेज भएर अब निर्देशनालयमार्फत नै औषधि खरिद तथा आपूर्ति व्यवस्थापन हुनेछ ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले भदौसम्म विभागमा केन्द्रबाट कर्मचारी आइपुग्ने बताए । ‘भदौसम्म उहाँहरूले आवश्यक कर्मचारी पठाउनुहुन्छ’, उनले भने, ‘कर्मचारी दरबन्दी हामीलाई प्राप्त भएपछि यहाँ करारमा पनि नियुक्त गर्न सक्छौं ।’ निर्देशनालयमा ९ वटा शाखा रहनेछन् । जसअनुसार नीति योजना तथा कार्यक्रम समन्वय शाखा, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा, खरिद तथा आपूर्ति व्यवस्थापन शाखा, प्रशासन शाखा, अनुगमन मूल्यांकन तथा नियमन शाखा, स्वास्थ्य सूचना तथा जनसंख्या व्यवस्थापन शाखा रहनेछन् । त्यसैगरी आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा, स्वास्थ्य प्रवद्र्धन तथा तालिम शाखा र नर्सिङ व्यवस्थापन शाखा पनि निर्देशनालयमा रहने छ । निर्देशनालयमातहत रूपन्देही, दाङ, प्युठान, पाल्पा र पूर्वी रुकुममा स्वास्थ्य कार्यालय रहनेछन् । यी कार्यालयले जिल्ला कार्यालय नभएका आसपासका जिल्लासमेत हेर्ने छ ।

सामाजिक विकास मन्त्रालयमातहत स्वास्थ्यबाहेक अर्को शिक्षा विकास निर्देशनालय पनि रहने छ । शिक्षा निर्देशनालयमा ४ वटा शाखा रहनेछन् । जसमा योजना तथा कार्याक्रम शाखा, उच्च तथा प्राविधिक शिक्षा शाखा, शिक्षक सेवा शाखा र अनुसन्धान तथा तथ्यांक शाखा रहने व्यवस्था गरिएको छ । स्वास्थ्यमा जस्तो शिक्षा निर्देशनालयमातहत जिल्लामा अरू कार्यालय रहने व्यवस्था छैन । सामाजिक विकास मन्त्रालयमातहत नै शिक्षा तालिम केन्द्र रहने छ ।

निर्देशनालयमा ३५ र तालिम केन्द्रमा १७ जना कर्मचारीको व्यवस्था गरिएको छ । कर्मचारी आइनपुगेकाले शिक्षा निर्देशनालय र तालिम केन्द्र दुवै स्थापना भएका छैनन् । ‘शिक्षातर्फको पनि संरचना स्वीकृत भइसकेको छैन, आवश्यक कर्मचारी आउनै बाँकी छन् ।’ मन्त्री बरालले भने । स्वास्थ्य र शिक्षासँगै युवा तथा खेलकुद, महिला तथा ज्येष्ठ नागरिक, श्रम तथा रोजगारी, पुरातŒवका विषय पनि सामाजिक विकास मन्त्रालयमातहत पर्ने गर्छ ।

‘मन्त्रालयमा पुरातŒव शाखा निर्माण भइसकेको छ । केही कर्मचारी आइसक्नुभएको छ । खेलकुद र समाज कल्याण परिषद निर्माण गर्ने प्रक्रियामा छौं’, मन्त्री बरालले भने, ‘शिक्षालाई आवश्यक सीटीईभीटी, परीक्षा बोर्डका शाखाहरू हस्तान्तरण हुने प्रक्रियामा छन्, पाठ्यक्रम विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालय निर्माण गर्दै छौं ।’ श्रम तथा रोजगार कार्यालय पनि हस्तान्तरण हुने क्रममा रहेको र असोजसम्म मन्त्रालयका संरचना निर्माण हुने मन्त्री बरालले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.