भेटिँदैनन् हराएका महिला
सुर्खेत : सुर्खेतमा बर्सेनि महिला तथा बालबालिका हराउने क्रम बढ्दो छ। हराएकामध्ये अधिकांश महिला फेला पर्दैनन्। गत आर्थिक वर्षमा सुर्खेतमा तीन सय ६७ महिला तथा बालबालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी परेको थियो। जसमध्ये आधा मात्र फेला परेको प्रहरीले जनाएको छ।
एक सय ९६ जना महिला तथा बालबालिकालाई खोजी गरेर सम्बन्धित परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी श्यामसिंह चौधरीले बताए। हराएकामध्ये पनि महिला नै छन्। जम्मा हराएकामध्ये दुई सय ६ जना महिला थिए। जसमा एक सय १३ जना महिलालाई सम्पर्कमा ल्याएर परिवारलाई बुझाइएको छ। सुर्खेतमा मात्रै गत आवमा ७८ बालक र ४३ बालिका हराएका थिए।
तीमध्ये ४९ जना बालक र ३४ जना बालिका फेला परेका छन् भने अझै ३८ जना बालबालिका बेपत्ता छन्। फेला पर्न नसकेका महिला तथा बालबालिकाको खबर के-कस्तो छ भन्ने सम्बन्धित निकाय नै बेखबर छ। प्रहरीलाई पनि कुनै जानकारी छैन। डीएसपी चौधरीका अनुसार विशेष गरी ०६२÷६३ पछि जिल्लामा महिला तथा बालबालिका हराउने क्रम बढिरहेको छ। गत आर्थिक वर्षको तथ्यांक हेर्दा जिल्लाका एक सय ३१ महिला तथा बालबालिका फेला पर्न बाँकी छन्।
उमेर पुगेका र विवाह भएका केही युवती अन्यत्रै विवाह गरेर गएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरी कार्यालयमा हराएको निवेदन आए पनि फेला परेको जानकारी नआउने भएकाले हराएकाहरूको तथ्यांक बढी हुने गरेको प्रहरीको भनाइ छ। महिला तथा बालबालिका हराएको वा बेचिएकाको उजुरी पर्दासमेत उनीहरूको खोजी प्रभावकारी छैन। ‘हराए भनेर हामीकहाँ उजुरी त आउँछन् तर फेला परेमा परिवारले हामीलाई खबर नै गर्दैनन्’, डीएसपी चौधरीले भने, ‘कतिपय महिला र किशोरकिशोरीले भागीविवाह गर्छन् तर परिवारलाई खबर नगर्नाले पनि हराउनेको संख्या बढी देखिएको हुन सक्छ।’
वैदेशिक रोजगारीमा गएका परिवार बढी
हराउने तथ्यांकमा महिला नै धेरै छन्। त्यो पनि पछिल्लो समय वैदेशिक रोजगारीमा गएका पुरुषहरूका पत्नी धेरै रहेको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका केन्द्रकी प्रमुख मञ्जु चौधरी बताउँछिन्। ‘हप्तामा दुई÷तीन जना महिला हराएको उजुरी आउने गर्छ, अधिकांश पुरुष विदेशमा भएकाहरूका श्रीमती हराएको उजुरी हुन्छ’, उनले भनिन्।
लामो समयसम्म पति विदेशमा रहँदा पठाएको पैसा हिनामिना गरेको र पति घर फर्किने समयमा रकम लिएर भागेको भन्दै परिवारले उजुरी दिने गरेका छन्। प्रहरीले खोजी गरी फेला पारेकाहरू तथ्यांकमा हुने तर परिवारकै सम्पर्कमा आए पनि परिवारले प्रहरीलाई खबर नगर्दा तथ्यांकको सूची लामो भएको चौधरीको भनाइ छ। हराएर फेला परेकाहरूको बयानका आधारमा सामाजिक सञ्जालमार्फत सम्पर्क गरी विभिन्न रोजगारीको बहानामा भाग्ने गरेको पाइएको छ।
यस्तै, हराएको उजुरी पर्नेबित्तिकै उनीहरू कहाँ गए भनेर पत्ता लगाउन कलडिटेल नै हेर्न सहज हो। तर, कल डिटेल जाँच गर्न अदालतको आदेश कुर्नुपर्ने र त्यो आदेश आउँदासम्म धेरै समय लाग्ने भएका कारण पनि तत्काल कारबाहीमा जान नसकिएको चौधरीको भनाइ छ। हराउनेमध्ये केही बेचबिखनमा समेत परेको पाइएको छ। केही महिला र बालिकालाई यौनशोषणका लागि र बालकहरूलाई श्रमशोषणमा लगाउने गरेका छन्। प्रहरीसँग हालसम्म कसले बेपत्ता पारे भन्ने कुनै जानकारी छैन। महिला तथा बालबालिका तस्करीका लागि दर्जनांै संघसंस्था कार्यरत भए पनि यसरी हराउनेलाई सम्पर्कमा ल्याउने कार्यमा भने खासै काम गरेको देखिएको छैन।