बनवासा पुलमा भारतले रोक्यो चार पाङ्ग्रे सवारी
महेन्द्रनगर : महाकाली नदीको बनवासा पुलमा भारतीय पक्षले चार पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ ।
नदीमा पानीको बहाव बढेपछि पुलमा सवारी साधन सञ्चालनमा रोक लगाईएको भारतीय पक्षले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको सुचना कक्षले दिएको जानकारी अनुसार बिहान ११ बजेदेखी पुलमा चार पाङ्ग्रे साधन चल्न रोक लगाइएको हो ।
बिहान गरिएको मापन अनुसार महाकाली नदीमा पानीको बहाव एकलाख क्यूसेक भन्दा माथि पुगेको छ । भारतीय पक्षले नदीमा पानीको बहाव एकलाख क्यूसेक नाघेमा सवारी सञ्चालनमा रोक लगाउदै आइरहेको छ ।
पैदल यात्रु बाहेकका अन्य सवारी साधन पानीको बहाव बढेपछि हरेक समयमा भारतीय पक्षले रोक लगाउदै आइरहेको छ ।
पुलको आयु कमजोर भइसकेको भन्दै एकलाख क्यूसेक पुगेपछि सञ्चालनमा रोक लगाउने गरिएको भारतीय पक्षको दावी छ । ७ नं. प्रदेशका पहाडी जिल्लाहरुमा समेत पानी पर्ने क्रम निरन्तर जारी रहेकाले महाकाली नदीमा पानीको बहाव बढेको हो ।