पहिरोले राम्चे गाउँ जोखिममा

पहिरोले राम्चे गाउँ जोखिममा

 गजुरी (धादिङ) : गजुरी गाउँपालिका-६ स्थित कच्ची सडकमा पहिरो खस्दा सडकमुनि रहेको राम्चे गाउँ जोखिममा परेको छ। सडकमा चट्टान थुप्रिएर सवारी आवागमन बन्द भएको छ भने पैदल यात्रुलाई आवतजावत गर्न कठिन बनेको छ।

लगातारको वर्षापछि गाउँमाथिको पहिरोका कारण स्थानीय त्रसित भएका छन्। पहिरोमा खसेका ठुल्ठूला चट्टान सडकमा थुप्रिएर आदमघाट किरान्चोक सडक नै बन्द भएको छ भने स-साना चट्टान गाउँसम्म खसेपछि स्थानीय त्रसित भएका हुन्।

सडकमा थुप्रिएको चट्टान गाउँमा खस्न ठिक्क परेको र खसिहालेमा बस्ती सखाप बनाउने हो कि भन्ने चिन्ताले स्थानीय राति घरमा बस्नसमेत छाडेका छन्। ‘कच्ची सडक बनाएपछि यसपालिको बर्खामा सडकमाथि रहेका ढुंगा खस्न थाले, ३ साताअघि त ठूलो पहिरो झरेर ठुल्ठूला चट्टान सडकमा थुप्रिएको छ, सडकमुनि गाउँ छ, पहिरो खस्ने क्रम नरोकिए गाउँसम्मै पुग्छ’, स्थानीय प्रेमबहादुर अधिकारीले भने, ‘जोखिम यति धेरै छ कि राति निदाउनै सकिँदैन।’

स-साना चट्टान पल्टिएर बस्तीको घरमा पुगेको छ। पहिरो मुनिका १५ घर अत्यन्तै जोखिममा परेका छन्। स्थानीय हरि सुवेदीले भने, ‘बाटो बन्द भएको छ, पैदल यात्रुलाई पहिरो पार गर्नसमेत जोखिम छ, ढुंगा झर्ने क्रम रोकिएको छैन।’

बाटो बन्द भइदिँदा आकस्मिक अवस्था आइहाले ठूलै समस्या हुने विनोद भण्डारीले बताए। ‘पहिरो खसेको यत्तिका दिन भइसक्दासमेत गाउँपालिकाले हटाउन कुनै चासो देखाएका छैनन्’, भण्डारीले भने, ‘गाउँमा कोही आकस्मिक बिरामी भयो, ठूलै विपद् आइहाल्यो भने बिरामी लैजानसमेत बाटोकै कारण थप समस्या थपिने अवस्था छ।’

स्थानीयले सुरक्षित तरिकाले पहिरो पन्छाई गाउँलाई जोखिममुक्त बनाइदिन गाउँपालिका गुहारेका छन्। पहिरोका कारण सडकमा ठुल्ठूला चट्टान थुप्रिएको र तलतिर ढुंगा पल्टाउनसमेत मानव बस्ती भएकाले पहिरो हटाउन समस्या भइरहेको गजुरी गाउँपालिका-६ नम्बरका वडाध्यक्ष अर्जुनबहादुर भुजेलले बताए। उनले भने, ‘लगातार वर्षा हुने क्रम जारी छ, डोजर मात्रै प्रयोग गरेर तत्काल पहिरो हटाउन सम्भव छैन, घाम लाग्न सुरु हुनेबित्तिकै ब्रेकर लगाएर ढुंगा फुटाई सुरक्षित तरिकाले पहिरो हटाउने योजना छ।’

सवारीसाधन बन्द हुँदा उक्त क्षेत्रमा उत्पादित कृषिजन्य पदार्थ आदमघाट बजारसम्म ल्याउन र गाउँसम्म खाद्यान्न लैजान समस्या भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.