महाकालीको डर, ‘रातभर निद्रा लाग्दैन’
महेन्द्रनगर : ‘घरछेउ नजिकै उर्लिंदो महाकाली छ । बर्सेनि नदीले जमिन कटान गर्दै लगेपछि झनै महाकालीले आफ्नो क्षेत्र फराकिलो बनाउँदै लगेको छ । अझ बर्खा सुरु भएपछि झनै महाकालीको डरलाग्दो रुप देखिन्छ । र, कटानसमेत तीव्र पार्छ’, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली टोलकी कौशिका पन्तले भनिन् ।
बर्खा सुरु भयो कि उनलाई रातभर निद्रा लाग्दैन । नदीको धार घरनजिकै आउन लागिसकेकाले उनको चिन्ता झन् बढ्दै गएको छ । वर्षौंदेखि महाकाली टोलमा बस्दै आएकी उनले सुरुमा देखेको महाकाली नदी र अहिलेको धेरै फरक भइसकेको छ
‘वर्षाैंअघि धेरै टाढा बगेको देखिन्थ्यो महाकाली नदी, अहिले घरनजिकै आइसक्यो’ कौशिकाले भनिन् । ‘जति–जति नदीले बर्सेनि कटान गर्दै लगेको छ, त्यति नै आफ्नो चिन्तासमेत बढेको छ ।’ उनको घरनजिकै पुगिसकेको छ, आजभोलि महाकाली नदी । उनले घर, सम्पत्ति र बालबच्चा कसरी जोगाउने भन्ने डरले सधैं सताउने गरेको बताइन् ।
कौशिका पन्त मात्र होइनन्, महाकाली नदीकिनारमा बस्ने भीमदत्त नगरपालिकाका भुजेला, ऐरी, ओदाली, क्षेत्रका विभिन्न टोलका मानिसको एउटै पीडा हो । ‘धेरै वर्ष भयो महाकालीमा आउने बाढीको पीडा भोग्दै आएको तर अहिलेसम्म पनि स्थायी समाधान भएको छैन’, स्थानीय राधिका नेपालीले भनिन,्‘सरकारले तटबन्ध बनाएजस्तो गर्छ तर सधँै बाढीले असर पु¥याउँदा त्यसको क्षति स्थानीयलाई हुन्छ ।’
उनले सरकारले मजबुत खालको तटबन्ध निर्माण नगर्दा बर्सेनि समस्या हुने गरेको बताइन् । ‘समयमा ठेकेदारले यस वर्षसमेत काम गरेनन् र अहिले पनि कटान थालिसक्यो’, उनले भनिन्, ‘सरकारले समयमा कामको जिम्मा दिएर भरपर्दो र बलियो तटबन्ध नबाँधेसम्म सधँै बाढीले दुःख दिइरहनेछ ।’
भारत सरकारले आफ्नो भूभाग जोगाउन पक्की संरचना निर्माण गरी तटबन्ध बनाएकाले नेपालतर्फ समेत त्यस्तै खाले तटबन्ध निर्माण आवश्यक रहेको उनी बताउँछिन् । ‘हामी त बाढी घर पसे पनि भागेर बाँच्न सकौंला तर बालबच्चा र बूढाबूढी कसरी जोगाउने भन्ने चिन्ता बढी हुन्छ’, उनले भनिन् ।
बर्सेनि महाकाली नदी नियन्त्रणका लागि करोडौं रकम खर्च हुने गरेको छ । तर, समस्या भने समाधान हुन सकेको छैन । ‘सरकारले अलिअलि गरेर काम गराउने, त्यही कामसमेत समयमा सम्पन्न हुँदैन’, देवीसरा सुनारले भनिन् । उनले हरेक वर्ष नदी नियन्त्रणका लागि आउने रकम बालुवामा पानी हालेजस्तै भइरहेको बताइन् ।
महाकाली नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष श्याम थापा सरकारले एकै ैपटक धेरै बजेट लगाएर काम थाल्नुपर्ने बताउँछन् । ‘यो समस्या प्रतिदिन बढ्दै जाने हो’, उनले भने, ‘महाकाली नदी नियन्त्रण गर्न बलियो तटबन्ध निर्माण गर्नु आवश्यक छ ।’
यस वर्ष पनि बर्खा सुरु भएदेखि नै महाकाली टोलमा नदीले तटबन्ध कटान गर्न थालेको थियो । स्थानीयले तत्काल वैकल्पिक रूपमा नियन्त्रण गरे पनि वर्षात अझै बाँकी रहेकाले ढुक्क हुने अवस्था भने छैन ।