खोलाले बगाएका दुईजना २४ घण्टादेखि बेपत्ता
विराटनगर : मोरङको ग्रामथान गाउँपालिका– स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात रहेको छ ।
पौडी खेल्ने क्रममा रंगेली नगरपालिका–२ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका ३ का १७ वर्षीय मिथुनकुमार मण्डललाई आइतबार दिउँसो खोलाले बगाएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी निशान थापाका अनुसार खोलाले बगाएर बेपत्ता भएकाको अवस्था अझैसम्म पनि थाहा हुन सकेको छैन । उनले स्थानीयसँगको समन्वयमा खोजी तीव्र पारिए पनि दुवैलाई फेला पार्न नसकिएको जानकारी दिए ।
खोलाले बगाएको २४ घण्टा भन्दा बढी भइसकेका कारण उनीहरुलाई जीवितै फेला पार्न सकिने सम्भावना न्यून रहेको प्रहरीको भनाइ छ ।