अधिकांश ग्रामीण सडक अवरुद्ध
तानसेन : गत आर्थिक वर्ष विनियोजित बजेटको आधा रकम सडक निर्माणमा खर्च गरेपनि पाल्पाका अधिकाश ग्रामिण बाटो पहिरोका कारण अवरुद्ध भएका छन । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी आएपछि घर घरमा पुग्ने गरी डोजरको अत्याधिक प्रयोग गरी बाटो खनिएपनि बर्षाको पानीले गत बर्ष खनिएका सवै सडक पहिरोका कारण अवरुद्ध भएका छन ।
जिल्ला सदरमुकाम समेत रहेको तानसेन नगरपालिकाले गत बर्ष निर्माण गरेका अधिकाशं ग्रामिण सडक पहिरोका कारण अवरुद्ध भएका छन । पर्यटकिय सडक तानसेन रानीमहल सडक पहिरोका कारण केही दिन देखि बन्द रहेको छ । सडक निर्माणको लागी स्थानीयबासीले डिभिजन सडक कार्यालय र तानसेन नगरपालिकामा पटक पटक आग्रह गर्दा समेत पहिरो सफा नगर्दा दैनिक रुपमा रानीमहल पुग्ने पर्यटकहरु लाई सास्ती पुगेको स्थानीय पोषकान्त बस्यालले बताए ।
धार्मिक पर्यटकिय मार्गको रुपमा परिचित हुदै गरेको तानसेन तेल्घा गुफाचौर सडकको अधिकाशं स्थानमा पहिरो झरेको छ । तानसेन छेरलुङ सडक, तानसेन बौघागुम्वा सडकमा पहिरोका कारण अवरुद्ध भएको छ । तानसेन नगरपालिकाले ६५ किलोमिटर सडकको स्तरोन्नती ३ किमि कालोपत्रे, १ किमि ग्राभेल र ६१ किमि नयाँ ट्रयाक खोलेको जनाएको छ ।
कालीगण्डकीको किनारै किनार खनिएको कालीगण्डकी करिडोरको पाल्पा खण्डको अधिकाशं स्थानमा पहिरो झरेको कारण सडक अवरुद्ध हुदै आएको छ । यातायात संचालनमा राम्दी रामपुर सडक खण्डको अधिकाशं स्थानमा पहिरो झरेपछी सो क्षेत्रका जनताका रामपुर बेलडाडा हुदै सदरमुकाम तानसेन जानुपर्ने बाध्यता रहेको छ ।
निस्दी गाउँपालिकाको केन्द्र रहेको मित्यालमा समेत पहिरोका कारण सहज रुपमा जाने स्थिती छैन भने ग्रामिण भेगका सडकहरु मोटरसाईकल समेत गुड्न सक्ने अवस्थामा छैन । पूर्वखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक विरकोट पुर्वखोला सडकमा समेत पहिरोका कारण अवरुद्ध हुदै आएको छ । सिलुवादेखी अर्चले जोड्ने बाटोमा नियमित गाडी सञ्चालन हुन छाडेको छ ।
रम्भा गाउँपालिका वडा नं. २, ४ र ५ देखी गाउँपालिका केन्द्र जोड्ने बाटोको अधिकांश भागमा पहिरो खसेको छ । तिनाउँ गाउँपालिका–२ मा ३० लाख खर्चर गरेर ५ किलोमिटर सडक ग्राबेल बाटो बनाईएको छ तर अहिलेसम्म नियमित गाडी गुड्न सकेको छैन । रैनादेवी छहराको अधिकांश वडादेखी गाउँपालिकाको केन्द्र जाने ग्रामीण सडक बन्द हुँदा सेवा प्रवाहमै समस्या भएको छ ।
गत बर्ष स्थानीय तहले खनेका सबै सडकमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ भने विगतका पुराना सडकमा स्तर उन्नतीको नाममा जथाभावी डोजर प्रयोग गर्दा पहिरोका कारण यातायात अवरुद्ध भएका छन । प्राविधिकको स्टिमेटबिना जथाभावी निर्माण गरिएका कच्ची सडकका कारण जिल्लाको ग्रामीण क्षेत्र कुरुप र कष्टकरमात्र होईन जोखिमयुक्त बनेका हुन् ।
सरकारी मापदण्डविपरीत वातावरणीय प्रभाव मूल्यांकन बिना नै प्राविधिक दृष्टिले उच्चजोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजीले एकातिर गाउँलाई कुरुप बनाएको छ भने जोखिम पनि उत्तिकै बढाएको छ । असार मसान्तको समयमा सम्पन्न गरिएका सडक योजनाका काम अहिले वर्षाको भेलसँगै बगेको रिव्दिकोट गाउँपालिका वडा ४ का लक्ष्मण ठडराईले बताए ।
हिउँदभरि बाटाहरु खनिन्छ, अहिले वर्षामा बगेर जान्छ केही सडक देखाउनका लागि खनिएका सडकमा गाईवस्तु समेत हिड्न सक्ने अवस्था नभएको ठड्राईले बताए । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा सडक दुर्घटना बढ्दै जानुमा जथाभावी खनिएका सडक नै प्रमुख कारण भएको नेपाल नागरिक समाजका अगुवा मिनबहादुर केसीले बताए । बाँसटारी झडेवा सडक , चिलाङ्दी चापपानी सडक, हार्थोक छहरा तीनगिरे सडकका केही स्थानमा कालोपत्रे भत्किएको छ ।