नयाँ शक्ति नेता हत्यामा प्रहरीमाथि आशंका
जुम्ला : नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य तथा पूर्वजिल्लासंयोजक राधाकृष्ण बुढ्थापाको हत्यामा प्रहरीको संलग्नता रहेको पारिवारिक स्रोतको आशंका छ । साउन २० गते साँझ जुम्ला सदरमुकामस्थित सनलाइट होटलभित्र प्रहरीको मिलेमतोमै राधाकृष्णको हत्या भई उनको शव होटल नजिकैको जुगाडखोलामा फालिएको पारिवारिक स्रोतकाे दाबी छ ।
रहस्यमय हत्याकाण्ड प्रहरीको संलग्नतामा घटाइएको हुन सक्ने आशंकामा मृतकका परिवारले पत्रकार सम्मेलनसमेत गरेका छन् । रहस्यमय हत्याकाण्डले मृतकका परिवारलाई स्तब्ध बनाएको छ । उनले भने, ‘आमनागरिकलाई प्रहरी, प्रशासनले दिने शान्ति सुरक्षाको प्रत्याभूतिप्रति विश्वास लाग्न छाडेको छ ।’
किटानी दर्ता गर्ने तयारी
घटनास्थलमा प्रहरीले गरेको व्यवहार र घटनाको प्रकृति हेर्दा प्रहरीको संलग्नता रहेको ठहर गर्दै जिल्ला प्रहरी कार्यालयमा कार्यरत (नाम नखुलाउने सर्तमा) एक प्रहरीमाथि किटानी जाहेरी दर्ता गराउने तयारीमा पीडित परिवार लागेको छ । घटनाबारे प्रहरी मुचुल्का, मुद्दा दर्ता प्रक्रियादेखि परिवारलाई भएको खबरअनुसार प्रहरीप्रति नै शंका बढ्दै गएको मृतक राधाकृष्णका बाबा रामकृष्ण बुढ्थापाले बताए ।
घटनास्थलमा पुगेको प्रहरीले शवलाई समयमै उद्धार नगर्नु र अरूलाई पनि गर्न नदिनु, मृतकका आफन्तलाई घटनास्थलमा बन्देज लगाउनु, शव भेटिएको आधा घण्टापछि मात्र दुई मिटरको उचाइमा घाँटीमा डोेरी लगाएर शव निकाल्नुलगायत क्रियाकलापले हत्यामा प्रहरीको संलग्नता रहेको उनले आशंका व्यक्त गरे ।
‘यो षड्यन्त्रपूर्वक घटाइएको हत्याकाण्ड हो, प्रहरी, प्रशासन लाचारी बनेको छ’, उनले भने, ‘घटनाको नौ दिन बितिसक्दासमेत दोषी सार्वजनिक नहुनुले अनुसन्धानमाथि नै शंका लाग्छ ।’ पीडित परिवारले हत्याको यथाशीघ्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।
शव पोस्टमार्टम नहुँदैे प्रहरीले तयार पारेको मुचुल्कामा घटनाको सत्यतथ्य विवरण उल्लेख नभएको मृतक परिवारको भनाइ छ । आफूलाई हेर्न नदिई सामान्य व्यहोरा मात्रै हो भन्दै प्रहरीले अस्पतालमा गरेको मुचुल्कामा हस्ताक्षर गर्न दबाब दिए पनि आफूले असहमति जनाएको मृतकका बाबा रामकृष्ण बुढ्थापाले बताए ।
‘श्रीमान्को षड्यन्त्रपूर्वक हत्या भएको हो, हत्या हुनु एक घण्टाअघि उनले मलाई फोन गरेर खाना खान आउँदै छु, सँगै खाउँला भनेका थिए’, मृतककी श्रीमतीले भनिन्, ‘तर आधा घण्टा नबित्दै उनले चढ्ने मोटरसाइकल र शव फरक–फरक ठाउँमा भेटिएको खबर आयो ।’ चन्दननाथ नगरपालिका–२ निवासी मृतक राधाकृष्णको शव नांगो अवस्थामा भेटिएको थियो । हत्याको आशंकामा प्रहरीले चन्दननाथ नगरपालिका–६ निवासी होटल सञ्चालक खड्कजित रोकाया र स्थानीय एंगल लामालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
स्थानीय आन्दोलित
राधाकृष्ण हत्याकाण्डको चाँडो छानबिन गरी दोषीमाथि कारबाही माग गर्दै स्थानीय महिला, युवा र आफन्तजनले आन्दोलन थालेका छन् । जतिसक्दो छिटो छानबिन नभए आन्दोलनलाई कडा बनाइने उनीहरूको चेतावनी छ । हत्याको विरोध गर्दै प्रत्रकार महासंघ शाखा, नागरिक समाज र पूर्वसांसददेखि मन्त्रीद्वारा हस्ताक्षरित विज्ञप्ति जिल्ला प्रशासनमा बुझाइएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले घटनाको अनुसन्धान तीव्र पारिएको बताएका छन् । दोषी ठहरिएका कुनै पनि व्यक्ति कानुनी सजायबाट उम्कन्न नपाउने उनले बताए ।