पत्रकार महासंघ झापामा बम विष्फोट
बिर्तामोड : झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलबार बम विष्फोट भएको छ। झापाको गौरादह नगरपालिका-७ को वडा कार्यालय र बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालय नजिक बम विष्फोट भएको हो।
विप्लव समूहको नेकपाका कार्यकर्ताले गौरादहको ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय र पत्रकार महासंघको कार्यालय भवन नजिकै बम विष्फोट गराएको प्रहरी बताएको छ।
वडाध्यक्ष बलराम खरेलले बम बिष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको बताए। घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताए। प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालयदेखि पाँच सय मिटर टाढा रहेको छ।
यसैगरी विप्लवका कार्यकर्ताले बिर्तामोड बसपार्कमा रहेको नेपाल पत्रकार महासंघको कार्यालय भवनभन्दा उत्तरको सडक किनारको झाडीमा सुतली बम बिस्फोट गराएका छन्।
विप्लवका दुईजना कार्यकर्ताले मंगलबार बिहान ६ बजे बम राखेर हिँडेको केही क्षणमै विस्फोट भएको स्थानीयले बताएका छन्। राजमार्गमा प्रहरीको गस्ती कडा पारिएपछि भित्रि इलाकामा विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ।
यसैबिच दमकबाट सोमबार नेत्रविक्रम चन्द (विप्लवं) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन्। पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।