विद्यालयको पानी ट्यांकीमा विषादी ! २८ विद्यार्थी बिरामी

विद्यालयको पानी ट्यांकीमा विषादी ! २८ विद्यार्थी बिरामी

विराटनगर : मोरङको लेटाङ नगरपालिका ९ जाँतेस्थित श्री माध्यमिक विद्यालयको पानी ट्यांकीमा मंगलबार हानिकारक किटनाशक विषादी हालेको भेटिएको छ। मानव स्वास्थ्यका लागि अत्यन्तै घातक मानिने साइपरमेथिन समूहको साइप्रिन नामक विषादी ट्यांकीमा हालिदिएर अमानवीय हर्कत प्रदर्शन गरेको विद्यालयले जनाएको छ। 

पानी पिउँदा २८ बालबालिका बिरामी परेका छन्। बिरामीमध्ये चारजनाको अवस्था गम्भीर छ। लेटाङ ८ र ९ घर भएका विद्यार्थी बिरामी परे पनि अधिकांश लेटाङ ९ का छन्।
 

प्रधानाध्यापक खेमराज दुलालका अनुसार विषादी हालेको पानी पिउँदा कक्षा १० मा अध्यायनरत पूजा लिम्बू, अनिश राई, रुपा लिम्बू, गोमा गजमेर, कक्षा ९ का धिरज लिम्बू, प्रभा लिम्बू, उर्मिला लिम्बू, मनकुमारी गजमेर, कमला लिम्बू, अञ्जली लिम्बू, दीपा सापकोटा, उज्वल मग्राती, अमृत पौडेल, खुश्वु मिश्र, सृष्टि लिम्बू, कक्षा ८ का युरेन लिम्बू, सुन्दर राई, रिजन सेन्च्युरी, हर्कबहादुर विक, पर्वत आलेमगर, कक्षा ७ मा की प्रतिमा लिम्बू, सृष्टि निरौला, कक्षा ५ का कृृष्टिना लिम्बू, सिर्जना निरौला, मनिष थापा, महेश राई, कक्षा ३ र २ का  चेतन खड्का र सिपरा लिम्बू बिरामी परेका छन् ।
 
११ बजे ट्यांकीको पानी पिउने क्रममा गन्ध आएपछि विद्यार्थीले विद्यालय प्रशासनलाई खबर गरेको दुलालले बताए। ट्यांकीमा हेर्दा एक सय मिलिलिटरको साइपरमेथिन समूहको साइप्रिन नामक किटनाशक विषादीको बट्टा फेला परेको छ। 

‘पानी पिउँदा गन्ध आएको खबर पाएपछि हेर्दा विद्यालयको खानेपानी ट्यांकी भित्र विषादीको बट्टा भेटियो। तत्काल विद्यार्थीलाई पानी पिउन रोकियो,’ प्रअ दुलालले भने, ‘तर केही विद्यार्थीले पानी खाइसकेका रहेछन्। पानी खाएका विद्यार्थी धमाधम बिरामी पर्न थालिहाले ।’ 

विषादी मिसिएको पानी कति जनाले खाए भन्ने यकिन नभएपछि विद्यालयले गाउँ भरी नै ‘माइकिङ’ गरेर विद्यालयमा आएर पानी पिउने विद्यार्थीलाई सम्पर्क राख्न सूचना गरेको छ। 

‘विद्यार्थी बिरामी पर्न थालेपछि तत्काल पठन पाठन बन्द गरियो,’ दुलालले भने, ‘हाम्रा अगाडि बिरामी भएकालाई अस्पताल पठाउँदै घरमा पुगेका विद्यार्थीलाई  घरैबाट पनि उपचारका लागि लगियो ।’ 

विद्यालयमा खानेपानीका पाँच सय लिटर र तीन हजार लिटर क्षमताका दुईवटा ट्यांकी छन्। विद्यालयदेखि तीन किलोमिटर टाढा लेटाङ ८ मा रहेको तेली खोलामा मुल थापेर पाइपमार्फत ल्याइएको पानी ट्यांकीमा राखेर विद्यालयमा खानेपानीको व्यवस्था गरिएको छ। 

जाँते खानेपानी तथा सरसफाई उपभोक्ता समितिले विद्यालयसम्म पाइपमार्फत पानी पुर्‍याउने काम गर्दै आएको छ।

खोलाबाट ल्याएको पानी सिधै पाँच सय लिटरको ट्यांकीमा हालेपछि त्यहाँबाट फिल्टर गरेर तीन हजार लिटरको ट्यांकीमा जम्मा हुने र फिल्टर भएको पानी विद्यालयमा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा अन्यले प्रयोग गर्दै आएका थिए।

कृषि प्राविधिक देवीप्रसाद भट्राईले खानेपानी ट्यांकीमा फेला परेको बट्टामा पाइने  विषादी मानव स्वास्थ्यका लागि घातक र हानिकारक रहेको बताए। ‘विभिन्न बालीनाली, फलफूल तथा तरकारी बालीमा लागेका किरा नष्ट तथा बालीनालीमा लाग्ने किराको व्यवस्थापन गर्न पानीमा हालेर उक्त विषादीको प्रयोग गरिन्छ,’ उनले भने, ‘यो विषादी खाएमा तत्काल मानिसको ज्यान जान्छ ।’ 

विद्यालयमा कक्षा १ देखि १२ सम्म चार सय ९१ जना विद्यार्थी अध्यायनरत छन्। विष मिसिएको पानी खाएर बिरामी परेका विद्यार्थीलाई उपचारका लागि उर्लाबारी स्थित मंगलबारे अस्पतालमा लगिएको छ। 

उपचारमा संलग्न चिकित्सक धनबहादुर श्रेष्ठका अनुसार गम्भीर बिरामी चारजनालाई विराटनगरस्थित नोबेल अस्पताल पठाइएको छ। 

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवडाले विद्यालयको खानेपानी ट्यांकीमा कसले विषादी हालेको हो भन्ने बारेमा खुल्न नसकिरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.