नक्कली नोटसहित दुई भारतीय पक्राउ
बिर्तामोड : नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई झापा पहरीले पक्राउ गरेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ४० वर्षीय सतिश अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेश अग्रवाललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सतिशको साथबाट ३३ हजार र हितेशको साथबाट १७ हजार नेपाली नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता जितेन्द्र कुमार बस्नेतले बताए । पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बस्नेतको भनाई छ ।
यसैबीच प्रहरीले बिर्तामोड नगरपालिका– ५ स्थित बिनोद भट्टराईको डेराको कोठा अगाडी आगनमा पार्किङ गरी राखेको मे. ९ प ९०४६ नम्बरको मोटरसाइकल चोरीमा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– ७ का २५ वर्षीय बिबेश चौधरी र २ का साजन भन्ने यसराज राजबंशी रहेका छन् । उनीहरुलाई मोटरसाइकल कुदाउँदै गरेको अबस्थामा बिर्तामोड क्षेत्रबाटनै पक्राउ गरेको प्रहरीले बताएको छ ।
यस्तै झापाको गौरादह नगरपालिका– १ स्थित पदम फुयाँलको घरबाट मंगलबार ८० हजार मुल्य बराबरको अवैध सुर्ती बरामद भएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले फुयाँलको घर पछाडी रहेको कुखुराको खोरबाट लुकाई राखेको अवस्थामा १७ बोरा सुर्ती बरामद गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरादहबाट थप अनुसन्धान गरिरहेको जनाइएको छ ।