प्यूठानमा पहिरोमा पुरिएर एक वेपत्ता, तीन घर पुरिए
प्यूठान : मंगलबार रातिको अविरल वर्षाका कारण पहिरोमा पुरिएर एकजना वेपत्ता भएका छन्। जिल्लाकै अति दुर्गम क्षेत्रमा पर्ने गौमुखी गाउँपालिका-४ पुँजा जाडगाउँका अन्दाजी ३२ वर्षीय झक बहादुर सुनार वेपत्ता भएका हुन्।
पूँजा लिवासेबाट गएको प्रहरी टोलीले उनको खोजी कार्य जारी राखेको प्यूठानका प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।
पहिरोले तीनवटा घर बगाएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए। जाडगाउँका स्थानीय देवबहादुर सुनार, रेशम सुनार र रेकम सुनारको घर पहिरोले बगाएको हो।
घर बगाएपछि परिवार विचल्लीमा परेका छन्। पहिरोकै जोखिममा रहेका घरहरु बगाएको गिरीले बताए। मंगलबार रातिदेखि जिल्लामा भारी वर्षा भएको छ। झिमरुक खोलाको बहाव समेत बढेको छ।