भेरी थुनिँदा तीन घर र ६ कटेज बगायो, २३ घर उच्च जोखिमा
जाजरकोट : जाजरकोटको तल्लुबगर नजिक पहिरोले भेरी नदी थुनिँदा तीन घर र ६ वटा कटेज बगाएको छ । नलगाड–१२ तल्लुवगरका तीन घर र रुकुमको आठबिसकोट ४ गोतामकोटका ६ वटा कटेज नदी कटानले बगाएको स्थानीय मोहन बस्नेतले बताए ।
तल्लुबगर माथिको पहाडको ढिस्को खसेपछि ठूलीभेरी नदी केहीबेर थुनिएको थियो । नदी थुनिएपछि नदीले बाटो पहिल्याउन दुवै किनारातिर कटान गरेको बस्नेतले बताए । कटानका कारण नलगाड–१२ का भवीन्द्रबहादुर बस्नेत, ककबहादुर बस्नेत र टीकाराम खत्रीको घर बगाएको छ । घरभित्रको सामान निकाल्न नपाउँदै मंगलबार बिहान नदीले जाजरकोटतिरका तीन घर र रुकुमतर्फका ६ वटा कटेज बगाएको नलगाड नगरपालिका–१२ का वडाध्यक्ष लालबहादुर खत्रीले बताए । अर्का स्थानीय रामबहादुर बस्नेतको घर बग्ने अवस्थामा पुगेको छ भने २३ घर नदी कटानको उच्च जोखिममा रहेका वडाध्यक्ष खत्रीले बताए । नदीले घर बगाइदिएपछि घरवारविहीन भएका र उच्च जोखिममा परेका परिवार आफन्तको शरणमा बसेका छन् ।
जाजरकोट–डोल्पा सडकमा पर्ने उक्त स्थानमा खोलिएका ६ वटा कटेजसमेत भेरीले बगाएको उनले बताए । ती कटेज (नास्ता पसल) सञ्चालकको नाम, ठेगाना खुल्न सकेको छैन । तल्लुबगरमा नेपाली सेनाको जाजरकोट–डोल्पा सडक निर्माणको एक कार्यदलसहित एक सय ५० घर बसोवास गर्छन् । नदी थुनिएपछि सोमबार राति बाढीको त्रासले स्थानीय रातभर जाग्राम बसेको वडाध्यक्ष खत्रीले बताए ।
नदीले जाजरकोट–डोल्पा सडकको केही भागसमेत बगाएको छ । कटानले जाजरकोटको तल्लुबगर र रुकुमको गोतामकोट जोड्ने झोलुंगे पुलसमेत जोखिममा परेको छ । पुल छेउको सात मिटरजति जमिन कटान गरिसकेको छ । नदी बढ्दै गए अब १० मिटर मात्र टाढा रहेको पुलसमेत बगाउने खतरा रहेको स्थानीय विमला शाहीले जानकारी दिइन् ।
बाढीको जोखिमका कारण पठनपाठनसमेत प्रभावित भएको छ । त्यही पुल तरेर रुकुमबाट तल्लुबगरमा रहेका हिमालय मावि, भगवती बोर्डिङ र हिमालय प्राविमा अध्ययनका लागि आउने गर्छन् । पाल्लोपट्टि रुकुमको गोतामकोटमा धेरैजसो जाजरकोटवासीको बसोवास छ । घटनास्थल सदरमुकामबाट २३ कोस पूर्वमा पर्छ । प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले नदीले कटान गरेको क्षतिको विस्तृत विवरण आइनपुगेको बताए । ‘विस्तृत विवरण आइपुगेको छैन, जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरेका छौं’, उनले भने ।