एउटै गाईबाट सवा पाँच लाख आम्दानी

एउटै गाईबाट सवा पाँच लाख आम्दानी

नेपालगन्ज : एउटा गाईले कति लिटरसम्म दूध दिन्छ ? पाँच लिटर वा १० लिटर। तर, बाँकेको शारदा सिर्जनशील गाई फार्मको ‘गौथली’ गाईले दैनिक २८ लिटरसम्म दूध दिन्छ। कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी शारदा शर्माको होलेस्टेन फ्रोजन जातको यो गाईले दुई बेतमा गरी पाँच लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ।

१६ वैशाख २०७३ मा पहिलो बेत ब्याएको यो गाइले आठ महिनामा चार हजार चार सय १० लिटर दूध दियो। २१ वैशाख २०७४ मा दोस्रो बेत ब्याएपछि पाँच हजार दुई सय ८० लिटर दूध दिएको फार्म सञ्चालक शारदा शर्माले बताइन्। ‘पहिलो बेतको सुरुका चार महिना २२ लिटरका दरले दूध दियो। त्यसपछिका तीन महिना १७ लिटर र अन्तिम एक महिनामा आठ लिटरका दरले दूध दिएको थियो’, सञ्चालक शर्माले भनिन्, ‘दोस्रो बेतमा त चमत्कार नै भयो। सुरुका चार महिना २८ लिटरका दरले दूध दियो। त्यसपछिका तीन महिना १८ लिटर र अन्तिम एक महिना १० लिटरका दरले दूध दियो।’

गाईले वर्षभरि दूध दिने भए पनि क्रमशः दूधको मात्रा घटाउँदै लैजानुपर्ने उनी बताउँछिन्। ‘बाह्रै महिना दूध दुहुनु हुन्न। क्रमशः दूधको मात्रा घटाउँदै घटाउँदै आठ महिनामात्र दुहुनु पर्छ’, उनले भनिन्। गौथली अहिले फेरि गर्भिणी भएकी छे। हरेक वर्ष वैशाखमा ब्याउँछे।

साबिक जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख डा.वेदबहादुर केसी जिल्लामा धेरै दूध दिने गाई गौथली नै भएको बताउँछन्। ‘विगतमा पशु मेला प्रदर्शनी हुन्थ्यो। धेरै दूध दिने गाईभैंसी पुरस्कृत हुन्थे। अब प्रदर्शनी हटेको छ। अहिलेसम्म २८ लिटर दूध दिने अर्को गाई मैले भेटेको छैन’, उनले भने। फार्म सञ्चालक शर्मा त जिल्लाको मात्र होइन, मध्यपश्चिममै सबैभन्दा धेरै दूध दिने गाई भएको दाबी गर्दै भन्छिन्, ‘मध्यपश्चिममा २८ लिटर दूध दिने अर्को गाई छैन। गौथली मात्र हो। तर, पोखरामा मैले ४० लिटर दूध दिने गाई पनि देखेकी थिएँ।’ यो गाई किन्न कति आए, आए। ‘एक लाख ९० हजार रुपैयाँसम्म मोल गरे। मैले बेचिन्’, उनले भनिन्।

गौथलीले सुरुका चार महिना २८ लिटर, त्यसपछिका तीन महिना १८ लिटर र अन्तिम एक महिनामा १० लिटरका दरले दूध दियो।

कोहलपुर– ८ पिपिरीको प्रकृति गाई फार्ममा पनि २२ लिटरसम्म दूध दिने होलेस्टेन फ्रोजन जातका गाई छन्। ३५ वटा उन्नन जातका गाई पाल्ने यो फार्म जिल्लाकै ठूलो व्यावसायिक गाईपालन हो। यसका सञ्चालकद्वय दम्पत्ती विष्णु पोखरेल र शारदा पोखरेल समाजशास्त्रका स्नातकोत्तर हुन्। उनीहरू आफैं खटेर काम गर्छन्। फार्ममा अहिले आठवटा दुहुना गाई छन्। यसबाट दैनिक सवा दुई सय लिटर दूध बेच्छन्। पोखरेल भन्छन्, ‘दैनिक दुई सय १५ देखि दुई सय २५ लिटर दूध बिक्री हुन्छ। मासिक एक लाख ८० हजार त नाफा मात्र हुन्छ।’ १३ वर्ष शिक्षण, १० वर्ष सामाजिक संघसंस्थामा लागेर गाई पाल्न थालेका पोखरेल आपूmलाई ‘गोठालो’ भन्न रुचाउँछन्। अनि गाईवस्तुको स्याहारमा रमाउँछन्। ‘पढे लेखेका मान्छेले गोबर स्याहार्नु हुँदैन भन्ने मानसिकता विरुद्ध गाईपालन मेरो अभियान हो’, उनी भन्छन्, ‘मेरा लागि गाई सन्तान जत्तिकै प्यारा छन्।’ कोहलपुर –१३ हवल्दारपुरका लालमणि भण्डारी पनि गाईपालनमै रमाएका छन्। उनको विकास पशुपालन फार्ममा १७ वटा गाई छन्। यसमध्ये पाँचवटा दुहुना छन्। फार्मसँगै उनको समृद्धि दूध डेरी पनि छ। फार्मबाट उत्पादन भएको दैनिक ५० लिटर दूध आफ्नै डेरीमा खपत हुन्छ। भन्छन्, ‘अहिले मासिक ३५ हजार बचत हुन्छ।’ उनले छोरालाई भेटनरी जेटीए पढाएका छन्। त्यसो त उनले गाईसँगै भैंसी र बाख्रा पनि पालेका छन्। हाँस थप्ने तयारीमा छन उनी। कृषिमै सम्भावना भएको उनको बुझाइ छ।

साबिक जिल्ला पशु सेवा कार्यालय बाँकेका अनुसार जिल्लामा बागेश्वरी, कोहलपुर, सीतापुर महादेवपुरी, कचनापुर, वनकटवा, चिसापानी र बैजापुरलगायत झन्डै एक दर्जन गाई पकेट क्षेत्र हुन्। जिल्लाभरी एक सय १७ गाई फर्ममा १० हजार ५७ गाई छन्। जिल्लामा वार्षिक १० लाख ४५ हजार नौ सय २८ लिटर गाईको मात्र दूध उत्पादन हुन्छ।

कार्यालय प्रमुख डा.वेदबहादुर केसी व्यावसायिक गाईपालन गर्ने फार्मलाई प्रोत्साहन गर्न नगद अनुदान र विभिन्न सहयोग प्रदान गरेको बताउँछन्। उनी भन्छन्, ‘गोठ सुधारका लागि साढे दुई लाख रुपैयाँसम्म दिएका छौं। त्यसबाहेक क्यान, ह्विल ब्यारो, घाँसका बेर्ना, खोप, प्रयोगशाला सुविधा उपलब्ध गराइन्छ।’ गाई पाल्ने सानै रकम भए पनि अनुदानबाट राहत मिलेको बताउँछन्। प्रकृति गाई फार्मका पोखरेल किसानले लगानी गरे पनि राज्य अझै अनुदार भएको भन्दै गुनासो गर्छन्। ‘राज्यले अनुदान नदिने हो भने उँभो लागिने रहेनछ। उनको सुझाव छ, ‘अनुदान गरिखानेभन्दा ठगिखाने किसानले पाएका छन्। यस्ता कार्य रोक्नुपर्छ। कृषिबाट नै देशमा समृद्धि सम्भव छ।’

जिल्लामा गाईको दूध उत्पादन अवस्था गाई फार्म संख्या : ११०

उन्नत गाई संख्या : ७०००

गाईको दूध उत्पादन : १४२२५ मेट्रिक टन


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.