कृषि उपजमा पनि कर

कृषि उपजमा पनि कर

धनगढी/ बैतडी : सिंहदरबारको सेवा गाउँगाउँमा भन्ने नाराका साथ स्थानीय सरकार गठन भयो । स्थानीय सरकारले किसानलाई लक्ष्य गरी कृषिमा अनुदान दिएर उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य पनि लिएको थियो । तर त्यसको विपरीत अहिले उल्टै किसानको ढाडै सेकिने गरी सरकारले कृषि उपजमा कर लगाएको छ ।

प्रदेश राजधानी रहेको धनगढी उपमहानगरपालिकाले यस वर्षदेखि चार प्रकारको कर थपेको छ । उसले कृषि तथा पशुजन्य वस्तुमा कर लगाएको छ भने जडीबुटी, कवाड र जीवजन्तु, नदीजन्य पदार्थ (ढुंगा, बालुवा र गिट्टी) र प्राकृतिक स्रोत उपयोग भनेर विगतको भन्दा चार प्रकारको कर थपेको छ ।

माछा उत्पादन गर्ने किसानले अब प्रतिकिलो २० रुपैयाँ कर तिर्नुपर्ने भएको छ भने खसी, भेडा, बाख्रा, सुँगुर र राँगा पाल्ने किसानले प्रतिगोटा दुई सय रुपैयाँ रकम स्थानीय तहलाई तिर्नुपर्नेछ । कुखुरा निकासी गरे प्रतिगोटा २० र अण्डामा समेत प्रतिगोटा एक रुपैयाँ कर लगाइएको छ । तरकारी उत्पादन गर्ने किसानले प्रतिक्विन्टल तरकारी १५ रुपैयाँ स्थानीय तहलाई बुझाउनुपर्नेछ । ‘जनताको अधिकार घरघरमा आएको भनेको त करको भकारी घरघरमा आएको रहेछ’, कैलाली फूलबारीका किसान किसनप्रसाद भण्डारीले भने, ‘स्थानीय तहहरूले यसरी किसानको उपजमा करमात्रै लगाउने हो भने उत्पादनमा हौसला कसरी बढला ? ’ धनगढी उपमहानगरपालिकाले धान र गहुँको निकासीमा प्रतिक्विन्टल ६ रुपैयाँ कर तोकेको छ । दाल, तेलहनमा प्रतिक्विन्टल ९ रुपैयाँ, पिठो मैदा र सुजीमा प्रतिक्विन्टल ६ रुपैयाँ कर तोकेको छ । मकैमा ६ रुपैयाँ, भटमास, मटर र चनामा प्रतिक्विन्टल ९ रुपैयाँ कर तोकिएको छ ।

‘कैलाली भन्सार कार्यालयको तथ्यांकअनुसार भारतबाट वर्षमा एक अर्बको मसिनो र बास्नादार चामल आयात हुन्छ, तर किसानलाई मल बीउ र बिजनमा अनुदान दिनुको सट्टा स्थानीय तहका पदाधिकारी पोस्न किसानलाई कर लगाउनु जायज होइन’, अर्थशास्त्रका जानकार तथा नास्ट कलेज प्रमुख शिवहरी मुडभरीले भने । ‘अहिले किसानलाई करभन्दा पनि अनुदान दिएर उत्पादनमा प्रोत्साहन गर्ने बेला हो ।’ स्थानीय तहले कृषि उत्पादन निकासीमा कर लगाएसँगै प्रदेश सरकारले पनि किसानलाई करको दायरामा ल्याएको छ । प्रदेश सरकारले ५ लाख वार्षिक आय गर्ने किसानलाई करको दायरामा ल्याएको हो । ‘प्रदेश सरकारले एकातिर खेत बाँझो छोडनेलाई पाँच सयदेखि माथि जरिवाना लगाउने नियम बनाएको छ भने अर्कोतिर कृषि कर्म गरेर आम्दानी गर्ने किसानलाई पनि आयकरको दायरमा ल्याएको छ, यो द्विविधापूर्ण नीति भयो’, कैलाली उद्योग वाणिज्य संघका पूर्वमहासचिव मोहनराज शर्माले भने । धनगढी नगरपालिकाले नदीजन्य पदार्थ निकासीमा पनि कर लगाएको छ भने नगर क्षेत्रभित्रै प्रयोग गर्ने उपभोक्ताका लागि पनि कर लगाएको छ । एक स्थानीय तहबाट अर्को स्थानीय तहमा ढुंगा बालुवा र गिट्टी निकासीको सानो एक ट्र्याक्टरको दुई सय र ठूलोको चार सय कर लगाएको छ भने टिपरको पाँच सय कर तोकेको छ । नगरपालिकाले मदिराजन्य पदार्थको व्यवसायमा तेब्बरले वृद्धि गरेको छ । मदिराका डिलरहरूलाई वार्षिक नवीकरणबापत १० हजारबाट २० हजार कर बढाइएको छ । खुद्रा मदिरा व्यापारीलाई ५५ सयबाट १० हजार र चिसो पेय पदार्थसहितको खुद्रा मदिरा पसललाई ३५ सयबाट बढाएर ७ हजार पुर्‍याइएको छ । तर धनगढी नगरपालिकाका सूचना अधिकारी सुरेन्द्रसिंह कार्की भने कर नबढाएर करको दायरा बढाएको बताउँछन् । उनले एकीकृत सम्पत्ति करमा विगतको भन्दा दर घटाएको बताए ।

कर बढाउँदै स्थानीय तह

बैतडीको दशरथचन्द नगरपालिका १ का बीरबहादुर टेर आफ्नो व्यवसाय नवीकरणका लागि हिच्किचाएका छन् । नगरपालिकाले व्यवसाय दर्ता र नवीकरणमा २५ प्रतिशतले करवृद्धि गरेपछि उनी कर कसरी तिर्ने भनेर अन्यौलमा छन् । ‘हामीले वडा कार्यालयमा पनि दर्ता गर्नु पर्‍यो, उद्योग वाणिज्य संघ, घरेलुमा पनि दर्ता गरेका छौं । कति ठाउँमा हामीले कर तिर्नुपर्ने हो ? ’उनले भने, ‘सरकारले दिने सेवा सुविधामा केही फरक छैन् । तर जताततै करवृद्धिकै कुरा आईरहेको छ ।’

जिल्लाको पाटन नगरपालिकाले घ वर्गका निर्माण व्यवसायीहरूको लागि दर्ता र नवीकरणका लागि दश हजार तोकेपछि निर्माण व्यवसायीहरूले विरोध गरेका छन् । ‘हामी स साना व्यवसायीहरूलाई बढी कर थपेर समस्या भएको छ । यसको हामीले विरोध गरेपछि करको दरमा हेरफेर गर्छौं भन्ने नगरपालिकाबाट आश्वासन मिलेको छ’ निर्माण व्यवसायी नरेश चन्दले भने । ‘नगरपालिकाले अवैध रुपमा विक्रिवितरण भईरहेका कुरामा रोक लगाउन सकेको छैन् । जो हामी करको दायरमा छौं ।उनीहरूकै ढाड सेक्ने कोशीस गरिरहेको छ ।’

जिल्लाको पुरचौंडी नगरपालिकाले पशुचौपायामा पनि निकासी कर लगाउने तयारी गरेको छ । भैसी र खसीबोका व्यापारी प्रयोजनका लागि खरीद गर्नेहरूमा कर लगाउने निर्णय भएको नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताए । उनले भने ‘भैसीहरू यताबाट निकासी हुने गरेको छ । व्यापारीहरूले आफूखुशी लग्ने गरेका छन् । त्यसलाई हामीले करको दायरमा ल्याउने प्रयास गरिरहेका छौं ।’

स्थानीय तहहरूले कर बढाउने तयारी गरेका बेला स्थानीयबासी भने त्यसको विरोध गरिरहेका छन् । स्थानीय सरकारले जनतालाई सेवा सुविधा थप गर्नुपर्ने पाटन छविराज जोशीले बताए । उनले भने ‘करमात्रै बढाउने तर सुविधा केही नदिने हो भने स्थानीय सरकार अलोकप्रिय हुन्छन् । यसले सरकारप्रतिको नागरिकको विश्वास घट्दै जान्छ ।’

करमा वृद्धि नगर्ने तर करको दायर बढाउने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । उनले भने ‘हामी करको दायरा बढाउने पक्षमा छौं । करमा वृद्धि गर्दैनौं ।’ तर नागरिकले भने करको दायरा बढाउने नाममा सबै क्षेत्रमा कर लगाउनु राम्रो नभएको बताएका छन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.