‘दाल भात तरकारी’ पस्कँदै मह

‘दाल भात तरकारी’ पस्कँदै मह

काठमाडौं : मह सञ्चारको ब्यानरमा नयाँ फिल्म ‘दाल भात तरकारी’ निर्माण हुने भएको छ। गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘शत्रु गते’ को टिमले निर्माण गर्ने यो कमेडी फिल्मको बुधबार राजधानीमा औपचारिक घोषणा गरिएको हो।

किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको निर्देशन उनकै छोरा सुदन केसीले निर्देशन गर्ने भएका छन्। यसअघि सुदनले दुई हलिउड फिल्म रिमेम्बर मी र माई लभमा सहनिर्देशकका रूपमा काम गरेका थिए। उनले टिमकै अघिल्लो फिल्म ‘शत्रु गते’ मा पनि सहायक निर्देशकको रूपमा काम गरेका थिए। निर्देशनमा भने उनको यो डेब्यु फिल्म हो।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिशिर बाँदेललगायतका कलाकारको जम्बो टोलीले फिल्ममा अभिनय गर्ने भएका छन्। मंसिर पहिलो साताबाट फिल्मको छायांकन सुरु हुँदैछ। २०७६ को वैशाख १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले हरेक मानिसले ‘दाल भात तरकारी’ खानका लागि गर्ने संघर्षको कथा बोक्ने फिल्मका लेखक हरिवंश आचार्यले बताए। स्क्रिन प्ले र डाइलग पनि उनकै हो।

लामो समयको ग्यापपछि गोल्डेन टच संगीतकार शम्भुजित बाँस्कोटाले ‘दाल भात तरकारी’मा संगीत भर्दैछन्। फिल्मका गीत पनि हरिवंश आफैंले लेखेका हुन्। फिल्ममा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीका रूपमा देख्न सकिनेछ। विल्सनविक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरि पौडेल, किरण केसीलगायतका कलाकारको पनि फिल्ममा अभिनय रहने बताइएको छ। मित्र डी गुरुङको सम्पादन रहने फिल्मलाई दीर्घ गुरुङले खिच्नेछन्। कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुराग कुँवर, विल्सनविक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्माता छन्।

फिल्म घोषणा समारोहमा मदनकृष्ण श्रेष्ठले भने, ‘फिल्ममा आम मानिसकै कथा पेस गर्दैछौं। यसमा पनि केही भिन्न भूमिकामा मलाई दर्शकले देख्न पाउनु हुनेछ। फिल्मलाई सरल बनाउन टिम प्रयासरत छ। हाम्रो टिमले दर्शकलाई राम्रो फिल्म दिने कोसिस गर्नेछ।’

‘पछिल्लो फिल्म ‘शत्रु गते’ लाई दर्शकले मन पराएपछि हामी फेरि नयाँ फिल्मको तयारीमा जुटेका छौं’, फिल्मका लेखक तथा कलाकार हरिवंशले भने, ‘फिल्मको क्याप्टेन यसपटक सुदन छन्। उनलाई किरणकै छोरा भएको भन्दा पनि प्रतिभा भएका कारणले क्याप्टेनसिप दिएका हौं। फिल्ममा दाल भात तरकारी खानका लागि गरिने संघर्षको कथा देखाउने कोसिसमा छौ। फिल्म पूर्णतया मनोरञ्जनात्मक हुनेछ।’

फिल्मका निर्देशक सुदनले भने, ‘यो मेरा लागि अवसर र चुनौती दुवै हो। फिल्ममा दाल भात तरकारीकै लागि गरिने संघर्ष देखाउनेछौं। यो ब्यानरबाट निर्माण भएका फिल्म सफल मात्र छैनन् दर्शकका प्रिय पनि छन्। यसैले केही जिम्मेवारी बढेको भान भएको छ। मह सञ्चारको साख बढाउने फिल्म बनाउने प्रयास गर्नेछु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.