अंग्रेजीमा सिफारिस गर्दा ७ सय दस्तुर
सिरहा : सिरहाको मिर्चैया नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ बाट लागू हुने गरी निवेदन, सिफारिस, नक्कलमा पनि नयाँ दस्तुर कायम गरेको छ। गाविस हुँदा कम दस्तुर लाग्ने विभिन्न सिफारिसमा नगरपालिका भएपछि तेब्बरले दस्तुर वृद्धि गरेको छ। यससँगै नगरपालिकाले खाद्यन्न, तरकारी, ठेलामा व्यापार गर्ने र गाउँबाट उत्पादित खाद्य वस्तुमा पनि कर लगाएको छ।
मिर्चैया नपाले वंशजको नागरिकता अभिलेख कायम गरी सिफारिस गरेमा १५० र अंगिकृत नागरिकता सिफारिस गरे पाँच सय दस्तुर कायम गरेको छ। यस्तै, नागरिकताको प्रतिलिपि सिफारिस गर्दा सय रुपैयाँ, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइसराइ, सम्बन्धविच्छेदको लागि सय रुपैयाँ तोकेको छ।
नाता प्रमाणित ३००, सनाखत २५०, मिलापत्र ७००, अविवाहित प्रमाण पत्र सिफारिस २०० तथा अंग्रेजीमा कुनै कुरा सिफारिस गराउँदा ७०० सय दस्तुर कायम गरिएको नगरपालिकाका खरिदार राजगिर यादवले जानकारी गराए।
अन्य सिफारिस(मुल्य नखुलेको भएमा) भनेर नगरपालिकाले २५० रुपैयाँ तोकेको छ । यसैगरी नगर क्षेत्रका लागि चारित्रिक प्रमाणपत्रको सिफारिस लिँदा २५० र नगर क्षेत्रभन्दा बाहिरको लागि त्यही सिफारिस गराउँदा ५०० रुपैयाँ दस्तुर तोकेको छ।
वडा सचिव पशुपति चौधरीका अनुसार गाविस हुँदा नाता प्रमाणितको ५० रुपैयाँ, अंग्रेजीमा सिफारिस गराए डेढ सय र नागरिकता सिफारिस गराउँदा ५० रुपैयाँ लाग्ने गथ्र्यो। यसरी हरेक क्षेत्रमा शुल्क बढी लिने थालेपछि सबभन्दा बढी गरिबीका रेखामुनि रहेका जनतालाई मार परेको उनले बताए।