हराउन थाले गिठ्ठीदार ठेकी
गुल्मी (हुँगा) : गुल्मी हुँगा ठूला पोखराका यमन चुदारा अहिले पनि ठेकी कुद्दै हिँड्छन् । उनी तेस्रो पुस्ताका कान्छो छोरा हुन । हजुरवुवा र वुवाले ठेकी कुदेको देखेर उनले सिके । त्यही सीपले नै उनको जीवन निर्वाह भइराखेको छ । हुँगामा उनको जस्तै एक दर्जन परिवार ठेकी कुदेर गुजारा चलाउथे । तर अहिले छैनन् ।
गाउँमा प्लाष्टिक र स्टिलका भाडा भित्रिएपछि ठेकीको ब्यापार घट्यो । किसानले दुध डेरीमा पठाउन थाले । डेरीमा ठेकीको आवश्यकतै भएन । त्यसो हुँदा सवै चुदाराहरू विस्तापित भए । यमन र उनका दाई प्रेम चुदारा अहिले पनि ठेकी कुद्दैछन् । ‘हामी तेस्रो पुस्ताका हौ, हजुरवाले गरेको काम अहिले पनि जोगाएका छौं, यमनले भने–‘नेपालीको परम्परासंगै हाम्रो रोजिरोटी पनि ठेकीमै छ ।’
ठेकी काठबाट बनेको भाडो हो । जसमा दुध, दहि र घिउ राख्ने गरिन्छ । गिठ्ठीदार (रूख)बाट बन्ने यो ठेकी गोरस राख्नका लागि अति उत्तम मानिन्छ । कतिपयले यसलाई पानी राख्नमा समेत प्रयोग गर्ने गर्दछन् । गोरस राख्दा लामो समय नबिग्रिने, दही अमिलो नहुने लगायतका गुण रहेको यो परम्परागत ठेकी अहिले भने संकटमा छ ।
यमनका दुई भाई र परिवार ठेकी बनाउनका लागि बिभिन्न स्थानमा पुग्छन् । कहिले छत्रकोट, कहिले रेसुंगा नगरपालिका । कहिलेकाही पाल्पासम्म पनि आउछन् । गाँउमा गिठ्ठी काठ पाइने भएकाले ठेकी बनाउन समस्या छैन । तर ठेकीको व्यापार घट्दै गएपछि चुदारा परिवार निराश छन् ।
‘मान्छेले ठेकीको महत्व बुझेनन्, हुँगाका ठेकी व्यापारी पुस्करनाथ भण्डारीले भने–‘अहिले युरोपतिर यही काठमा भाडा बनाउन थालिएको सुनेको छु, हाम्रो देशमा वास्तै छैन ।’ भण्डारीले अहिले महिनाको दश वटासम्म ठेकी बेच्छन् । गाउँमै काठ खरिद गर्छन । ठेकी कुद्नका लागि चुदारा परिवारलाई बोलाउछन् ।
ठेकी कुद्ने काम चुदाराहरूको पुख्र्यौली पेसा हो । नौ वर्षदेखि ठेकी कुद्न हिड्ने यमन परिवारका कान्छा सदस्य हुन । उनका दाई ठेकी कुद्ने मेसिन चलाउछन् । भाउजु, श्रीमतीले मेसिन तान्छन् । ठेकी कुद्ने हाते मेसिन चलाउन कम्तिमा चार जना चाहिन्छ ।
चुदाराले कहिले अधिँया र कहिले ज्यालादारीमा काम गर्छन । ठेक्कामा काठ साहुको र बनाउनेको आधा–आधा भाग हुन्छ । ज्यालामा मिस्त्रीले ८ सय रुपैया लिन्छन । अन्यको गाउँमा चलेको भाँउमा मजदुरी हुन्छ । गिठ्ठीको पुरानो रूखबाट बनेका ठेकी बढी मजबुद हुने यमनले बताए । २० माने ठेकी बनाउन एक दिन पुरै लाग्छ ।
गिठ्ठी काठबाट बनेको एउटा २० माने ठेकीको मुख्य ९ हजार पुगेको छ । साना ठेकी एक मानाको ३ सय ५० को दरले विक्री हुन्छ । ठेकी व्यापारी भण्डारीले गएको वर्ष किनेको एउटा रूखबाट १६ वटा ठेकी बनाए । दश हजारमा किनेको रूखले करिव एक लाख १० हजार आम्दानी थियो ।
‘ठेकीको ब्यापार भए त आम्दानी राम्रै छ, बेच्नेलाई पनि फाइदा, बनाउनेलाई पनि फाइदा, भण्डारीले भने–‘तर ब्यापार घटेपछि चुदाराहरूले ठेकी बनाउन अरुचि देखाउन थालेका छन् ।’ यमनको परिवारले ठेकी कुद्न छाडे गुल्मीबाटै ठेकी उत्पादन हराउने सम्भावना रहेको उनले बताए । अन्य क्षेत्रका चुदाराहरू ठेकी कुद्न छाडेर अन्य पेसामा लागिसकेका छन् ।
परम्परागत काठको भाडो ठेकी शहरी क्षेत्रमा भने सजावटको वस्तु बन्दै गएको छ । ठेकीलाई व्यवसायिक उत्पादन गरे चुदाराको परम्परागत पेसा जोगिनुका साथै नेपाली संस्कृतिको पनि जगेर्ना हुने स्थानीयहरू बताउछन् ।
तस्विर ः हुँगाको ठूला पोखरामा ठेकी कुद्नै चुदाराको परिवार ।
तस्विर ः विक्रीका लागि राखिएका ठेकी देखाउदै व्यापारी भण्डारी ।