बाँझोबारीमा व्यवसायिक खेती

बाँझोबारीमा व्यवसायिक खेती

बुटवल : गुल्मी हुँगा रुक्सेका किसान रामकृष्ण कँडेलको बारी करिब ७५ डिग्रीको ठाडो भीरमा छ। चिउरे चट्टानमा रहेका स–साना बारीमा मुस्किलले चारपाथी जौ फल्थ्यो। त्यही बारीमा फल्ने मकै बोक्न डोकोसमेत चाहिँदैन थियो।

दुई भैंसी, दुईचार बाख्रा पालेका रामकृष्णलाई मकैले बढीमा तीन महिनामात्रै खान पुग्थ्यो। तरकारी घरमै खान पनि धौ धौ थियो। ०७२ तिर रामकृष्णको बारीले मुहार फे¥यो। आफ्नो बारीमा के फल्छ भन्ने प्राविधिक ज्ञान नभएका उनले जब सीप सिके त्यही बारीमा ‘सुन’ फल्यो।

‘किसानले खेती गर्न जाने सुन फल्दो रैछ, नजाने लसुनले पनि केशरा हाल्दैन’, विगत सम्झिँदै उनी भन्छन्, ‘मेरा बाले जीवन काटे, मैले ३५ वर्ष बिताए तर अहिलेजस्तो उब्जनी कहिल्यै भएन।’

उनको चारपाथी जौ हुने बारीमा काँक्रा छन्। बीचबीचमा अकबरी खुर्सानी, ढिकमा सिस्नो। ‘यो वर्ष काँक्रा बोक्दा बोक्दा काँध खुइलियो’, उनले कपडा उप्काउँदै भने, ‘काँध खुइलिएको मेहनत पनि राम्रै आयो।’ उनले त्यही बारीबाट झन्डै चार लाखको काँक्रा बिक्री गरे। अकबरी सुर्खानी पाकेर टिप्ने बेला भएको छ। ढिकको सिस्नो काटेर छानामाथि सुकाएका छन्। सिस्नोको सिजन भदौ १५ पछिमात्रै भित्रिने भएकाले हुँगाका किसानले त्यसको तयारी थालेका छन्।

रामकृष्णले गत वर्ष साढे १२ लाखको तरकारी बेचे। झन्डै आठ लाख नाफामात्रै भयो। बारीमा रामभेंडा, कफी, सुन्तलाका बोटसमेत प्रसस्तै छन्। ४५ रोपनी बारीमा नफलेको फलफूल र तरकारी सायदै होला।

‘हेरचाह गरेर खेती गरे त हुँदो रैछ, तर अहिलेमात्रै बुद्धी आयो’, उनले भने। रामकृष्ण हुँगाकै सबैभन्दा बढी कृषिउपज बेच्ने किसान हुन्। उनले जिल्ला कृषि विकास कार्यालय गुल्मीबाट उत्कृष्ट पुरस्कारसमेत पाए।

यो वर्ष १५ लाखको तरकारी बेच्ने योजना बनाएका रामकृष्ण मात्रै होइन गुल्मी छत्रकोट गाउँपालिकाको साबिक हुँगा गाविसमा साच्चिकै कृषि क्रान्ति सुरु भएको छ। यहाँ ९० प्रतिशत किसान व्यावसायिक कृषि पेसामा छन्।

खुर्सानीले बनायो लखपति

२५ वर्षे युवा भुवन खराल मानविकी संकायबाट स्नातक तह पढ्दै थिए। गाउँमा कृषिको अभियान नै चल्यो। उनलाई पनि आफ्नो बाँझो बारीमा तरकारी लगाउने इच्छा जाग्यो। गत वर्ष सात लाखको गोलभेंडा बिक्री गरेका उनले यो वर्ष १२ रोपनी बारीमा २२ हजार बोट खुर्सानी रोपेका छन्।

पैंचो पसलको बलेटक्सार संकलन केन्द्रले किसानले उत्पादन गरेका जुनसुकै उपज पनि खरिद गर्छ। भुटुक, गिठा, अमला, सिस्नो, तामा, भूइँकटहर, रुख कटहर, सागपात, अमिलो सबै खरिद हुन्छ।

वार्षिक २० हजार भाडा तिर्ने गरी लिएको जग्गामा फलेको खुर्सानी पाकेर राताम्मे भएको छ। खुर्सानी एक पटक रोपेपछि बढीमा तीन वर्ष उत्पादन दिन्छ। खरालले आठ रोपनी जग्गामा आठ हजार पाँच सय गोलभेंडाका बिरुवा पनि रोपेका छन्। ‘खुर्सानी र टमाटर एकै पटक पाकेर स्याहार्न भ्याइनभ्याइ छ, खुर्सानी खेतमा भेटिएका खरालले भने, ‘जागिर खान नलागी आफैं कृषि व्यवसाय गर्दै छु।’

खुर्सानी र गोलभेंडाबाट यो वर्ष १२ लाख जति आम्दानी आउने उनलाई विश्वास छ। चार जनालाई रोजगारी दिएका उनले आगामी वर्षदेखि खेती थप्दै जाने बताए। गाउँमा उत्पादन भएको तरकारी र फलफूल पैंचो पसलले बारीमै गएर खरिद गरिदिएपछि किसान हौसिएका हुन्।

‘बिक्री नभएर कुहिन्छ कि भन्ने चिन्ता छैन’, उनले भने, ‘किसानलाई बजारको समस्या हो, तर पैंचो पसलले यी सबै सहज बनाएको छ।’ गुल्मी जिल्लामै बढी खुर्सानी उत्पादन हुने हुँगाका किसानमध्ये खराल पहिलो हुन्।

विभिन्न व्यवसायमा हन्डर खाएपछि गाउँ फर्किएका लक्ष्मण न्यौपानेको दिन गोलभेंडा बारीमा बित्छ। चार वर्षदेखि गोलभेंडा र काउली खेती गर्दै आएका उनले फेन्सी, गल्ला, होटल तथा जागिरसमेत नगरेका होइनन्।

‘आफ्नो बारीलाई चिन्न नसकेर १५ वर्ष भौतारिए, अहिले बल्ल सही काम गरेजस्तो भएको छ’, उनले भने, ‘पहाडको बाँझो बारीको डल्ला फुटाउन थालेपछि बल्ल आनन्द मिल्यो।’ उनले बारीमा ६ हजार पाँच सय बोट गोलभेंडा लगाएका छन्। फल दिन सुरु गरिसकेको गोलभेंडाबाट आठ लाख आम्दानी हुने अपेक्षा छ। गत वर्ष उनले सात लाख रुपैयाँ कमाएका थिए।

एउटै बोटबाट ५÷६ किलो गोलभेंडा उत्पादन भएपछि उनले चार वर्षदेखि यही खेती गर्दै छन्। गोलभेंडा फल्न थालेपछि पैंचो पसलले प्रतिकिलो ३० रुपैयाँमा खरिद गर्ने सम्झौता गरिसकेको छ। ‘बिक्री नहोला भन्ने डर भएन, कति धेरै फलाउने भन्ने चिन्ता मात्रै छ’, उनले भने।

उनले १० हजार बोट फूलगोभीसमेत लगाएका छन्। केही सानो क्षेत्रमा लगाइएको बन्दा डल्लो हुँदै छ। बाँकी बारीमा मकै लगाएका उनले केही बिक्री गरिसके। आफ्नो जग्गा प्रसस्त नभएपछि वार्षिक २० हजार रुपैयाँ तिर्ने गरी आठ रोपनी जग्गा भाडामा लिएर उनले खेती गरेका हुन्। उनले लगाएको फूल काउली दसैंमा बजार पठाउन लायक हुने भएकाले उनलाई बिक्री र मूल्यको चिन्ता छैन।

छत्रकोट गाउँपालिकाका वडा सदस्यसमेत रहेका लाकुरीबोटका रमेश परिवार पनि व्यावसायिक किसान हुन्। उनले बाँसका तामा, भूइँकटहर, गोलभेंडा, बोडी र काँक्रो बिक्री गर्दै आएका छन्। बारीमा तीन हजार बोट गोलभेंडा लगाएका उनले छोराछोरीको पढाई, घरखर्च चलाएर केही रकम बचत पनि गर्छन्।

‘सरकारले खेतीका लागि प्रोत्साहन गर्न सकेन, न त बिक्री गर्ने प्रबन्ध मिलाउँछ, न त मल बीउमा नै सहयोग गर्छ’, उनले भने, ‘निजी क्षेत्रका पैंचो पसल जस्ताले किसानलाई धनी हुने बाटो देखाएका छन्।’ उनी आफ्नै गाउँपालिकाले दिने अनुदान र बजेटप्रति पनि सन्तुष्ट छैनन्।

छत्रकोट वडा नम्बर १ का वडाध्यक्ष धातानन्द भण्डारीले भने गाउँपालिकाले किसानकै पक्षमा धेरै काम गरेको बताउँछन्। ‘जसले धेरै उत्पादन गरेर बिक्री गर्छ, उसलाई पेन्सन दिने नीति पालिकाले बनाएको छ’, उनले भने, ‘अनुदान सहयोगका लागि पनि निर्णय भएका छन्।’

बिक्री नहुने केही छैन

पैंचो पसलको बलेटक्सार संकलन केन्द्रले किसानले उत्पादन गरेका जुनसुकै उपज पनि खरिद गर्छ। भुटुक, गिठा, अमला, सिस्नो, तामा, भूइँकटहर, रुख कटहर, सागपात, अमिलो सबै खरिद हुन्छ। त्यसकै कारण गुल्मीका झन्डै १२ हजार किसान व्यावसायिक खेतीमा लागेका छन्।

पैंचो पसलका प्रबन्ध निर्देशक ध्रुव न्यौपाने भन्छन्, ‘किसानले बजार खोजेका थिए, हामीले बजार दियौं, अहिले गाउँमा व्यावसायिक तरकारी खेती गर्ने ‘ह्विम’ नै चलेको छ।’

किसानको उत्पादन संकलन गर्न पैंचो पसलले ३६ वटा संकलन केन्द्र बनाएको छ। गुल्मी र पाल्पाका किसानले तिनै संकलन केन्द्रबाट आफ्नो उत्पादन बिक्री गर्दै आएका छन्।

पैंचोले तरकारी खरिद गर्न थालेपछि हुँगाका ७२ वर्षीया डिल्लीराज कँडेलले दुई चार किलो गिठा बिक्री गर्दै आएका छन्। ‘थोरै तरकारी बेचे पनि नुनतेल खान पुगेको छ’, उनले भने।

पैंचोले बनायो व्यवसायी

चार वर्षअघिसम्म गुल्मी, पाल्पाका किसान सामान्य खेती किसानीमा थिए। जब ०७१ मा पैंचो पसलले किसानको तरकारी किन्न थाल्यो, किसानले व्यावसायिक उत्पादन थाले। अहिले १२ हजार किसान व्यावसायिक रूपमा कृषिमा लागेका छन्। उनीहरूको सबै उत्पादन पैंचोले खरिद गर्छ। किसाानलाई मूल्य नपाइएला कि भन्ने चिन्ता छैन।

पैंचो पसलका प्रबन्ध निर्देशक न्यौपाने भन्छन्, ‘गाउँका किसानको उत्पादन देख्दा आफैं अचम्ममा छौं।’ पैंचोले किसानको हरेक उत्पादन बजारभाउअनुसार खरिद गर्छ। त्यसका लागि विभिन्न स्थानमा संकलन केन्द्र खोलिएका छन्। गुल्मीको बलेटक्सारबाट सुरु भएको संकलन केन्द्र धेरै स्थानमा पुगिसकेको छ। भुटुक, गिठादेखि बासका तामासम्म किसानले बिक्री गर्न ल्याउछन्।

पैंचोले ती कच्चा पदार्थ प्रयोग गरेर अचार, जाम, ससलगायत अन्य उत्पादन संकलन गर्दै आएको छ। गुल्मीको रिडीमा रहेको सो उद्योगको उत्पादन सातै प्रदेशमा पुगेको छ। विभिन्न सहरमा शाखा सञ्चालनमा छन्। बुटवलमा हरियो तरकारी बिक्री केन्द्र छ। किसानलाई प्राविधिकदेखि अन्य सहयोग गर्दै आएको छ।

‘सरकारले किसानले उत्पादन गरेको बस्तु बिक्री नहुँदा कहिल्यै चिन्ता गरेन, तीन तहकै सरकार आए पनि उस्तै छ’, किसान कँडेलले भने।

पैंचोले ३५ करोड लगानीमा यी सबै काम गरिरहेको छ। विभिन्न स्थानमा चार सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.