गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : आधा नबन्दै आयोजना प्रमुखको सरुवा

गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : आधा नबन्दै आयोजना प्रमुखको सरुवा

भैरहवा : गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुखका इन्जिनियर ओम शर्माको सरुवा भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना प्रमुख शर्मालाई गौतमबुद्ध अन्तराष्ट्रिय विमास्थलमा आयोजनाबाट बाराको निजगढ विमानस्थल आयोजनामा सरुवा गरेको हो। आयोजना प्रमुख सरुवाको स्थानीय सर्वसाधरणदेखि उद्योगी, व्यवसायी, राजनितिक दलका नेतासम्मले विरोध गरेका छन्।

आधाभन्दा बढी काम सम्पन्न भइसकेको अवस्थामा आयोजना प्रमुखको सरुवा गर्दा सन् २०१९ को जुलाईदेखि सञ्चालनमा आउने भनिएको विमानस्थलमा अन्योलता देखिएको स्थानीयहरूले बताएका छन्। प्राधिकरणको नियामवलीमा २ वर्ष अवधिमा सरुवा गर्ने भए पनि शिलान्यासदेखि नै कार्यरत रहेका प्रमुखको विमानस्थलको निर्माण कार्य तीव्र गतिमा भइरहेको अवस्थामा सरुवा गरिएको छ। जसको चौतर्फी विरोध भइरहेको छ।

स्रोतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) सञ्जिव गौतमले केही समयअघि नै आयोजना प्रमुखलाई सरुवा गर्ने चलखेल गरेका थिए। तर विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा डीजीले रोकेर प्राधिकरणमै राखेपछि स्थानीयले डीजी गौतमविरुद्ध आन्दोलन गरेका थिए। स्थानीयको आन्दोलनका बीच प्रमुखको सरुवा गरिए डीजी थप विवादित हुन सक्ने अवस्था देखिएकाले उनको सरुवा तत्कालका लागि रोकिएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरव आयोजना प्रमुख प्रदीप अधिकारीले गौतमबुद्ध अन्तराष्ट्रिय विमास्थलमा आयोजना प्रमुखको नियमित प्रक्रियाअनुसार सरुवा भएको बताए। उनले आयोजना प्रमुख शर्माको सरुवा हुँदैमा विमानस्थल निर्माण कार्यमा कुनै प्रभाव नपर्ने र विमानस्थल तोकिएको समयमा बन्ने दाबी गरे।

रूपन्देही क्षेत्र नं ३ भैरहवाबाट निर्वाचित प्रदेश सांसद सन्तोष पाण्डेले आयोजना प्रमुखको सरुवाले विमानस्थल निर्माणको कार्य प्रभावित हुने बताए। उनले हालसम्मको प्रगतिलगायत सबै बुझेका प्रमुख हटाएर नयाँ आयोजना प्रमुख ल्याइँदा विमानस्थल निर्माण कार्य, मुआब्जा वितरणलगायत सबै बुझ्न महिनौं लाग्ने हुनाले तोकिएको समयभित्र कुनै पनि हालतमा विमानस्थल सञ्चालनमा नआउने दाबी गरे।

उनले पर्यटन मन्त्रालयका केही कमचारीको मिलेमतो र प्राधिकरणका डीजी गौतमको व्यक्तिगत रीसीइवीका कारण आयोजना प्रमुखको सरुवा गरिएको आरोप लगाए।

सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष ठाकुरकुमार       श्रेष्ठले विमानस्थल निर्माण कार्य र स्थानीयलाई राम्ररी बुुझेका शर्माको सरुवाले प्रदेश ५ वासीलाई दुखित बनाएको बताए। उनले सरकारले राजनीतिक स्वार्थ पूर्तिका लागि उनको सरुवा गरिएको बताउँदै विमानस्थल निर्माणको काम एक वर्ष पछाडि धकेलिने बताए। उनले राष्ट्रिय गौरवका आयोजना प्रमुखलाई अन्य कर्मचारीजस्तो सरुवा गर्नु जायज नभएको भन्दै यसले विकास निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने बताए।

कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“ लगानीमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एडीबीको ४०.५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ। यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेमलपमेन्टको ३०.५ र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्नेछ।

यो विमानस्थल ‘फोर ई’ स्तरको हो। जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन्। तराईको ‘लोकेसन’ भएको हुँदा कहिले काही त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्ने विमानहरू पनि यहाँ अवतरण गराउन सकिनेछ।

यो विमानस्थललाई त्रिभुवन विमानस्थलको विकल्पका रूपमा हेरिएको छ। अहिले एउटामात्र अन्तराष्ट्रिय विमानस्थल हुँदा विभिन्न समयमा समस्या उत्पन्न हुँदै आएको छ। त्यसो त विमानको चाप बढ्दै जाँदा त्रिभुवन विमानस्थल साँघुरो बन्दै गइरहेको छ।

यो विमानस्थलको दिर्घकालिन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ। दैनिक १६ हजारको दरले वार्षिक करिव ६० लाख यात्रु यो विमानस्थलले हृयान्डल गर्ने लक्ष्य राखिएको छ। तर, सुरुमा भने ५÷६ सय यात्रुलाई सेवा दिन सकिने आयोजनाले जनाएको छ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तराष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“मा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो। विभिन्न समस्याका कारण समयमा काम सम्पन्न नहुने भएपछि ठेकेदार कम्पनीलाई सन् २०१९ को जुलाई महिना सम्म म्याद थप गरिएको छ।

०००

निर्माणधीन अवस्थामा रहेको विमानस्थलको पार्किङ स्थल। फाइल फोटो अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.