१० हजारको चेकमा एक लाख ठगी गरेपछि ...
मोरङ : चेकमा लेखिएको भन्दा १ लाख रुपियाँ बढीको रकम निकालेर एक व्यक्ति फरार भएका छन् । मोरङको पथरीशनिश्चरे १ का सुमन श्रेष्ठले गत असार २६ गते १० हजार रुपियाँको चेक प्रेम अधिकारीलाई दिएका थिए ।
श्रेष्ठले चेकमा भुक्तान दिनु पर्ने अङ्क अक्षरमा छुटाएको मौका छोप्दै अधिकारीले चेकमा अक्षरमा एक लाख दश हजार रुपियाँ लेखी एक लाख रुपैयाँ ठगी गर्न सफल भएको प्रहरीले जनाएकाे छ ।
उनले अङ्कमा १ थपेर १० हजारको चेकलाई १ लाख १० हजारको बनाएर चेक भुक्तानी लिएका प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर कमल बजागाइँले चेकमा बदमाशी भएकोबारेमा उजुरी परेको बताउँदै दुवै पक्षलाई झिकाएर छानबिन सुरु गरिएको जानकारी दिए ।
‘हामीकहाँ यसबारेमा उजुरी परेको छ, चेकमा ठगी गरेको भनिएका अधिकारीलाई बोलाएर छानिबन थाल्दैछौँ’, उनले भने, ‘चेकमा सही मिलेपछि भुक्तानी दिनु बैंकको कर्तव्य हो, यसमा बैंकलाई मुछ्नु आवश्यक छैन । हामीले चेक काट्ने र लिने पक्षलाई राखेर यसबारेमा अनुसन्धान गर्दैछौँ ।