कुतियाकबरवासीका पीडा : ‘हाम्रा लागि सरकार खै’
महेन्द्रनगर : ‘नेपाली होइनौं भने सरकारले नागरिकता दिएको छ, हौं भने न राज्यको कुनै सेवा सुविधा छ । न पानी, न विद्युत् न त सरकारी अस्पताल नै, भारतको भरमा बाँचेका छौं’ महाकाली नगरपालिका–१० कुतियाकवरकी खिमादेवी टमटाले पीडा पोखिन् ।
महाकाली नगरपालिका–१० मा पर्ने गाउँ हो कुतियाकवर । महाकालीले सदरमुकामसँग सम्बन्धविच्छेद गराएको दोधारा चाँदनी नै अहिले महाकाली नगरपालिका भएको हो ।
जहाँ ४२ घरपरिवार नेपालीको बसोबास छ । एकातर्फ महाकाली नदी र अर्कोतर्फ जोगबुढा नदीले घेरिएको यो गाउँ झट्ट हेर्दा अलग्गै टापुजस्तो देखिन्छ । यो गाउँबस्तीमा कहिलेकाहीँ सञ्चारकर्मी र त्यहाँ बस्ने स्थानीयका आफन्तबाहेक अन्य कसैको आउजाउ प्रायः हँुदैन ।
कञ्चनपुर जिल्लामै पर्ने यो टापुमा रहेको गाउँमा अहिलेसम्म राज्यको उपस्थिति हुन सकेको छैन । स्थानीय ४२ घरपरिवार आफ्नो भूमिको रक्षा गर्दै सीमा रक्षकका रूपमा त्यहाँ बसोबास गर्दै आएका छन् ।
‘दुवैतिर नदीका कारण गाउँ कुनै सडक सञ्जालसँग जोडिएको छैन, न बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र अन्य राज्यका निकायको नै उपस्थिति छ । गाउँका बालबालिकालाई पढाउन स्कुलसमेत छैन । ठूलो उमेरका बालबालिका दोधारा गएर पढ्ने गर्छन् । तर, साना उमेर बालबालिका त पढ्न जानसमेत पाउँदैनन्’, खीमादेवीले भनिन् ।
उनीहरूमध्ये कतिपय त कखरा सिक्न भारतीय स्कुलमा जान्छन् । ‘हामी त नागरिकता पाएकै आधारमा यस देशका नागरिक हौ, अरू हामीलाई देशमा सरकार भएको महसुस नै भएको छैन’, खीमादेवीले थपिन् ।
केही परिवार दसगजा क्षेत्रमै घर बनाएर बस्न बाध्य छन् भने आफ्नै भूमिमा घर बनाएर बसेकाहरूको जग्गा नापी भएको छैन । ‘न हिँड्न आफ्नो बाटो छ, न जाने ठाउँ छ’, उनले भनिन्, ‘रातदिन भारतीय पक्षकै कुरा सुनेर बस्नुपर्ने बाध्यता छ ।’
महाकाली नदी र जोगबुढा नदीले कटानी गर्दै धार फेर्दै गएपछि धेरै घरपरिवार विस्थापित भए । हाल ४२ घरपरिवारमा सीमित छ, कुतियाकवर । ‘हामी बाँचेकै भारतको मजदुरीले हो, न यहाँ कमाइ खाने जमिन छ न केही रोजगारी’, स्थानीय मुन्नी सुनारले भनिन्, ‘भारतले पनि मन लागे काम गर्न जान दिन्छ, नत्र दिँदैन ।’
त्यहाँका सबै घरपरिवारको दैनिक भारतीय सहरमा मजदुरी गरेर मात्रै चल्ने गरेको छ । घरमा कमै मात्र पुरुषको मात्रै बसोबास छ । धेरैजसो पुरुष भारतमा मजदुरी गरेर घरपरिवार पाल्दै आएका छन् । ‘आफ्नो ठाउँमा जाने बाटो छैन, बस्तीबाट धेरै टाढा पर्छ’, उनले भनिन्, ‘सामान किनेमल गर्न, मजदुरी गर्न जे काम भए पनि भारतकै भर पर्नुपर्ने बाध्यता छ ।’
कुतियाकवर बस्तीमा बसेर ती घरपरिवारले नेपाली भूमिको रक्षा गर्ने काम गरेका छन् । ‘हामी बिनाबर्दीका सीमारक्षक भएर भूमि जोगाएका छौं, यी ४२ परिवार यहाँबाट बसाइँ सर्नेबित्तिकै भारतले भूमि अतिक्रमण गरिसक्छ’, मुन्नीले भनिन्, ‘तर राज्यको आफ्नो गाउँबस्तीमा अहिलेसम्म कुनै उपस्थिति हुन सकेको छैन ।’ यो गाउँमा चुनावका बेला मात्रै नेता र राज्यका निकायको चहलपहल हुने गर्छ । ‘चुनावमा भोट माग्न आउनेको भने लर्को नै लाग्छ, त्यसपछिका पाँच वर्ष कसैको नाकमुख देखिन्न’ कुतियाकवरका टेकबहादुर सुनारले भने ।
‘जतिलाई भोट दिए पनि कसैले समस्या समाधान गर्नेतर्फ ध्यान दिएनन् ।’ गत वर्षसम्म डुंगाको सहारमा वारपार गर्ने त्यस क्षेत्रका सर्वसाधारणले अहिले झोलुंगे पुल बनेर केही सजिलो भएको महसुस गरे पनि बाटो नहुँदा भने समस्या उस्तै भएको बताए । पटक–पटक भारतीय पक्षले भूमि कब्जा गर्न यहाँका बासिन्दालाई बस्ती छाड्नसमेत धम्की दिने गरेको उनीहरूको दाबी छ ।
दसगजा छेउको उक्त गाउँ नजिकै भारतीय सीमा सुुरक्षा बल (एसएसबी) को पोस्ट छ । उनीहरू दिनहुँ बस्तीमै पुगेका हुन्छन् । उनीहरूले वर्षातमा झन् रातभर सुत्न नपाउने बताए । ‘वर्षातका बेला बाढी आउला र बगाउला भन्ने डर हुन्छ’, स्थानीय वसन्ती सुनारले भनिन् ।
स्थानीयले आफ्नो बस्तीमा राज्यको उपस्थित हुनुपर्ने माग गरेका छन् । ‘पटक–पटक नेतालाई यहाँको समस्या समाधानका लागि भन्दै आएका छौं’, स्थानीय दानबहादुर मगरले भने, ‘चुनावका बेला मात्रै भोट माग्ने बहानामा विभिन्न विकासका आश्वासन बाँडिन्छन्, जितेर गइसकेपछि भने कसैले यहाँ आएर हेर्दैन ।’
०००
क्याप्सन ः महाकाली नगरपालिका–१० मा पर्ने कुतियाकवर बस्ती –विष्णुप्रसाद देवकोटा