कर्णालीको जोखिम कायमै

कर्णालीको जोखिम कायमै

टीकापुर : कर्णाली नदीको बाढी पस्ने खतरामा रहेका टीकापुर नगरपालिका–५ को शाहीपुर, वडा नं. ६, ७ र ८ मा नदी कटानको जोखिम कायमै छ। गत साता कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका–५ शाहीपुरमा निर्माण गरिएको तटबन्ध भत्काएपछि उचित प्रबन्ध हुन नसक्दा ती वडामा नदी कटानको जोखिम कायम रहेको हो।

मौसममा सुधार आएर कर्णाली नदीमा पानीको बहाव घटे पनि कटान रोकिएको छैन। स्थानीय पूर्णबहादुर साउदले दिनभर कटान रोकथामको प्रयास भए पनि राति बगाएर लैजाने गरेका कारण नदी कटानको खतरा कायमै रहेको बताए।

‘कटान सुरु गरेकै दिनबाट रोकथाम हुँदै आएको छ’, साउदले भने, ‘तर राति सबै बगाइदिन्छ, त्यसले गर्दा जतिबेला पनि कर्णाली गाउँ पस्न सक्छ।’ रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले ४ वर्षअघि निर्माण गरेको तटबन्ध नदीले झन्डै ५० मिटरभन्दा बढी कटान गरिसकेको छ।

झन्डै ११ मिटर चौडाइ रहेको तटबन्ध कटान गरेर २ मिटर मात्रै बाँकी छ। नदीमा पानीको बहाव कम भए पनि कटान रोकिएको छैन। कटान भइरहेको क्षेत्रमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जैविक तटबन्ध निर्माण गर्दै आएका छन्।

‘दिनभर कटान क्षेत्रमा हामीले झारपात, बोरामा ग्राभेल हालेर तटबन्ध गर्छौं’ कटान रोक्न खटिएका नेपाली सेनाका क्याप्टेन राजेन्द्र सिम्खडाले भने, ‘नदीले राति फेरि बगाएर लगिहाल्छ।’ नदीमा अत्यधिक बाढी आएका दिन स्थानीयसमेत बाढी नियन्त्रणका लागि लागेको भए पनि साता दिनयता सुरक्षाकर्मीले मात्रै तटबन्ध गरिरहेका छन्।

स्थानीय पूर्णबहादुर साउदले भने, ‘गाउँलेसमेत आउन छाडेका छन्, सुरक्षाकर्मीले मात्रै कति गर्ने ? ’ स्थानीय सरकार र सबै गाउँले सक्रिय नभए जतिबेला कर्णाली गाउँ पस्छ।’ तत्काल नदी नियन्त्रणको पहल नभए बाढीले टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नं. ६ का केही भाग, वडा नं. ७ सत्ती, वडा नं. ८ धनसिंहपुरलगायत दर्जनौं गाउँ प्रभावित हुनेछ भने झन्डै ४० हजार जनता प्रत्यक्ष प्रभावित हुनेछन्।

शनिबार मात्रै नेपाली सेनाका ७ नं. प्रदेश पृतनापति झंकरबहादुर कडायतले नदी कटान नियन्त्रणमा सक्रिय रहन खटिएका सेनालाई निर्देशन दिएका छन्। ‘नदी कटानको अवस्था हेर्दा यो निकै संवेदनशील र जोखिममा रहेको छ’ पृतनापति कडायतले भने, ‘स्थानीयको सहयोग आवश्यक देखिन्छ, सेनाले यसलाई रोक्न सक्दो पहल गरिरहेको छ।’

कटान नियन्त्रणका लागि रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले भने काम भइरहेको जनाएको छ। ‘शुक्रबारदेखि जालीमा ढुंगा भर्ने काम सुरु गरेका छौं’, आयोजनाका इन्जिनियर महेशकुमार चौधरीले भने, ‘पानी नपरे केही दिनमै ढुंगाको ताराजालीसहित तटबन्ध निर्माण गर्ने योजना छ।’ आयोजनाले तटबन्ध भइरहेको बताए पनि थोरै संख्यामा कामदार खटाएकाले बाढी नियन्त्रणका लागि पर्याप्त नभएको स्थानीय बताउँछन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.