अनमोल इभ : सहयोगका नाममा व्यापार
बिर्तामोड : नायक अनमोल केसीलाई देशका चार सहरका स्टेज सोमा नचाउन करोडौं रकम खर्च गरिने भएको छ। नेत्रहीन महिला संघको सहयोगार्थ यसो गर्न लागिएको हो।
भदौ ९ बाट देशका चार सहरमा आयोजना हुन लागेको ‘अनमोल इभ २०१८’ मा उनी सहभागी हुन लागेका हुन्। अनमोलले समाजसेवाका लागि यो कार्यक्रममा सहभागी हुन लागेको बताएका छन्।
झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था मोनिका इन्टरनेसनल ग्रुपले अनमोल सहभागी एउटै कार्यक्रममा २६ लाख रुपैयाँ खर्च हुने दाबी गरेको छ। तर, नेत्रहीन महिला संघलाई भने प्रतिस्थान एक लाख रुपैयाँ मात्र सहयोग गर्ने मोनिका इन्टरनेसनल ग्रुपका कमल जीसीले बताए।
उनका अनुसार चार स्थानमा कार्यक्रम गर्दा एक करोड चार लाख रुपैयाँ खर्च हुन्छ तर नेत्रहीन महिला संघले भने चार लाख रुपैयाँ मात्र पाउनेछ।
सामाजिक काममा लगानीभन्दा अनमोललाई स्टेजमा उभ्याउने काममा लगानी धेरै भएन र भन्ने प्रश्नमा ग्रुपका जीसीले भने, ‘एउटा फिल्म खेलेकै ५० लाख रुपैयाँ लिने नायक सामाजिक काममा निस्केको विषयलाई चाहिँ प्राथमिकता दिनुपर्छ।’
स्थानीयवासीले यो कार्यक्रमलाई सामाजिक कामका नाममा व्यापार भनेर अर्थ्याएका छन्। ‘सामाजिक काम नै गर्ने हो भने किन सुरुमा नै सहयोग गर्ने रकम तोक्नु’, बिर्तामोडका व्यवसायी हरि शर्माले भने, ‘यो विषय हेर्दा सामाजिक कामका नाममा अनमोलको प्रदर्शनी हो।’
कार्यक्रम भदौ ९ गते बुटवल, १६ गते पोखरा, २३ गते चितवन र भदौ २७ गते बिर्तामोडमा हुनेछ। अनमोललाई यी चारै सहरमा हेलिकोप्टरबाट स्टेजमा पु¥याउने आयोजकले बताएको छ। त्यस क्रममा लागूऔषध दुव्र्यसनी, ट्राफिक जनचेतना, शिक्षा लगायतका विधामा सडक नाटक प्रस्तुत गरिने भएको छ। कार्यक्रमका लागि विभिन्न सामाजिक संघसंस्था, उद्योग प्रतिष्ठान र प्रवेश शुल्कबाट रकम संकलन गरिने जनाइएको छ।