भुसुना र हात्ती
एउटा हात्ती जंगलमा डुलिरहेको थियो। ऊ रूखका पात र फलफूल खाँदै हिँडिरहेको थियो। डुल्दाडुल्दै हात्ती एउटा सानो पोखरीनेर पुग्यो। पोखरीको पानी फोहोर थियो। फोहोर पानीमा थुप्रै भुसुनाहरू बसेका थिए। हात्तीलाई देखेर भुसुनाहरू उडेर हात्तीको वरिपरि घुम्न थाले।
एउटा भुसुनालाई हात्तीमाथि चढ्न मन लाग्यो। ऊ हात्तीको ढाडमा बस्यो। तर हात्तीले पुच्छरले झापु हानेर उसलाई उडाइदियो। भुसुनालाई रिस उठ्यो। ‘सानो भनेर हेपेको होला मलाई। म पनि देखाउँछु यसलाई।’ यसो भन्दै त्यो भुसुना दुखेको ढाड सुम्सुम्याउँदै उडेर गयो। ऊ सँगसँगै अरू भुसुनाहरू पनि उडेर गए।
भुसुनाहरू भागेको ठानेर हात्तीले मनमनै हाँस्दै भन्यो, ‘भागे मरन्च्याँसे भुसुनाहरू।’
भुसुनाहरू उड्दैउड्दै साथीहरूको छेउमा पुगे। हात्तीको झापु खाएको भुसुनाले भन्यो, ‘साथीहरू, एउटा हात्तीले मलाई सानो भनेर साह्रै हेप्यो। हामी सबै मिलेर त्यसको सेखी झार्नुपर्यो।’
त्यो भुसुनाको कुरा सुनेर अर्को भुसुनाले भन्यो, ‘त्यत्रो अजंगको हात्तीको सेखी हामी झिनामसिना भुसुनाले कसरी झार्ने ? ’
‘हो त। कसरी झार्ने ? ’ अर्को भुसुनाले पनि डराउँदै भन्यो।
त्यसपछि त्यो भुसुनाले सम्झाउँदै भन्यो, ‘कुरा सानो र ठूलोको होइन। भन्छन् नि एकता नै बल हो। हो, हामी सबै मिल्यौं भने त्यो घमण्डी हात्तीको घमण्ड अवश्य चुर गर्न सक्छौं।’ त्यो भुसुनाको कुरा सुनेर सबै भुसुनाहरूले एक हुने निर्णय गरे। त्यसपछि भुसुनाहरूको एक हुल उड्दैउड्दै त्यही घमण्डी हात्तीछेउ पुगे।
त्यो हात्ती आफ्नै सुरमा रूखका पात र फलफूल खाँदै थियो। उसले भुसुनाको हुल आएको पनि पत्तो भएन। हात्तीको झापु खाएर रिसाएको भुसुनाले मनमनै भन्यो, ‘घमण्डी हात्ती, अब हेर हामी तेरो घमण्ड कसरी चुर गर्छौं।’
‘आक्रमण...।’ त्यो भुसुना चिच्यायो। भुसुना चिच्याएको सुनेर हात्तीले कान ठाडो पार्यो। उसले हेर्दाहेर्दै अनगिन्ती भुसुनाको हुलले उसलाई आक्रमण गर्न थाले। कसैले हात्तीको कानमा टोक्न थाले। कसैले सुँडमै टोक्न थाले। कोही कानभित्र पसेर बेसरी कराउन थाले। कसैले ढाडमा, कसैले पेटमा त कसैले पुच्छरमै टोक्न थाले। कसैकसैले हात्तीको आँखामै टोक्न थाले।
हात्तीले अझै पनि घमण्ड गर्दै भन्यो, ‘तिमीहरूजस्ता भुसुनाहरूले मलाई सताउने ? हेर अब म तिमीहरूलाई एकएक गरी कसरी सिध्याउँछु।’ यसो भन्दै हात्तीले पुच्छरले हिर्काउन थाल्यो र कान फडफडाउन थाल्यो। हात्तीको पुच्छरले लागेर कत्ति भुसुनाहरू मरे। कत्ति भुसुनाहरू घाइते भएर भुइँमा पछारिए। भुइँमा पछारिएका भुसुनाहरूलाई हात्तीले खुट्टाले कुल्चेर पनि मार्यो। तैपनि भुसुनाहरूले हिम्मत हारेनन्। हात्तीमाथिको आक्रमण जारी नै राखे र उसको जीउभरि टोक्न थाले।
भुसुनाहरूको टोकाइ सहन नसकेर हात्ती फनफनी घुम्न थाल्यो। घुमेर मात्रै उसलाई सुख भएन, उफ्रिन पनि थाल्यो। हात्तीले भएभरको बल निकाल्यो। पुच्छर, कान र सुँडले हिर्काएर भुसुनालाई धपाउन खोज्यो। तर भुसुनाहरूले पनि हिम्मत हारेनन् र हार मानेनन्। सामूहिक रूपमा हात्तीमाथिको आक्रमणलाई निरन्तर जारी नै राखे।
भुसुनाको आक्रमणबाट हार मानेर हात्ती त्यहाँबाट सुइँकुच्चा ठोक्यो। तैपनि भुसुनाहरूले आक्रमण गर्न छोडेनन्। बचाऊ... बचाऊ... भन्दै हात्ती भाग्दै थियो। एउटा खाल्डोमा परेर हात्ती उत्तानो परेर लड्यो। त्यही बेलामा भुसुनाहरूले हात्तीको जीउभरि जताततै टोके।
भुसुनाको सामूहिक टोकाइबाट हात्ती हायलकायल भयो। अन्त्यमा हात्तीले हार मानेर भन्यो, ‘मलाई माफ गर भुसुनाहरू। मैले तिमीहरूलाई सानो देखेर हेपेँ। तर तिमीहरूको एकताको बलसँग मेरो केही लागेन। मलाई माफ गरिदेऊ। अब म तिमीहरूलाई कहिल्यै सानो भनेर हेप्दिनँ।’
हात्तीको अनुनय सुनेर हात्तीको झापु खाने भुसुनाले भन्यो, ‘तिमीले प्रायश्चित गर्यांै। हामीले तिमीलाई माफ गर्यौं। अब हामी सबै मिलेर बस्नुपर्छ। मिलेर बस्दा सबैलाई आनन्द हुन्छ। अब हामीलाई तिम्रो ढाडमा चढ्न दिनुपर्छ। मञ्जुर छ ? ’
हात्तीले खुसी भएर भन्यो, ‘मञ्जुर छ।’
त्यसपछि सबै भुसुनाहरू मिलेर हात्तीमाथि चढे। हात्ती लमकलमक लम्किन थाल्यो। भुसुनाको हुलले हात्तीको कानैमा भुनभुनाउन थाले। हात्तीलाई मीठो संगीत सुनेजस्तो आनन्द लाग्यो। अनि भुसुनाको भुनभुन सुन्दै हात्ती लमकलमक लम्किरह्यो। भुसुनाहरू पनि हात्ती चढ्न पाएर खुप रमाए।