आन्दोलनका नाममा पैसा असुल्छन् विद्यार्थी नेता

आन्दोलनका नाममा पैसा असुल्छन् विद्यार्थी नेता

बिर्तामोड : विद्यार्थी संगठनले रकम असुलीका लागि नयाँ शैक्षिक क्षेत्रका बेला हडताल तथा बन्दको कार्यक्रम गर्ने गरेको पाइएको छ । प्याब्सन झापाले विद्यार्थी संगठनले गर्ने आन्दोलन र विरोध मत्थर पार्न बर्सेनि लाखौं रकम चन्दास्वरूप खर्च गर्ने गरेको छ ।

आन्दोलन र तालाबन्दी खोल्न भन्दै विद्यार्थी नेताले व्यक्तिगत रूपमै प्याब्सनबाट लाखौं रकम बुझ्ने गरेको खुलेको छ । अन्नपूर्णलाई प्राप्त कागजातअनुसार तत्कालीन एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका नेतालाई प्याब्सनले ११ लाख रुपैयाँ रकम दिएको देखिएको छ । अनेरास्ववियु झापाका तत्कालीन जिल्ला अध्यक्ष रोशन सुवेदीले ४ लाख र अनेरास्ववियु क्रान्तिकारीका तत्कालीन अध्यक्ष रवि बस्नेतले ७ लाख रुपैयाँ लिएको पाइएको हो । बस्नेतले कुलबहादुरका नामबाट पनि रकम लिएको जनाइएको छ ।

बस्नेतले २०७४ वैशाख २५ गते ३ लाख, जेठ २ गते ३ लाख र वैशाख ११ गते १ लाख रकम प्याब्सनसँग लिएका थिए । यस्तै, सुवेदीले २०७४ जेठ १ गते ४ लाख रुपैयाँ आर्थिक सहयोग लिएका थिए ।

सुवेदीले संगठन सञ्चालनसँगै स्ववियु चुनावको ऋण तिर्न सहयोग लिएको स्वीकार गरेका छन् । ४ लाख रकमका विषयमा भने उनले अस्वीकार गरे । ‘मैले ३ लाखको भर्पाईमा हस्ताक्षर गरेकै हो’, उनले भने । दुई संगठनका लागि ३ लाख रुपैयाँ लिएको तर ४ लाख कसरी भयो भन्ने आफूले बुझ्न नसकेको उनको भनाइ छ । आफूले नेपाल विद्यार्थी संघका लागि आफूले ३ लाखमा १ लाख ५० हजार बुझिदिएको उनको भनाइ छ ।

अहिले पनि चन्दाका लागि ‘थ्रेट’ आउने गरेको प्याब्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलले सुनाए । ‘विभिन्न कार्यक्रमका लागि सहयोग माग हुने गर्छ’, अध्यक्ष प्याकुरेलले भने, ‘नदिँदा विभिन्न समस्या आउन सक्छ ।’ चन्दामै यति धेरै रकम खर्चिने प्याब्सनको आर्थिक स्रोत के हो भन्ने जिज्ञासामा उनले भने, ‘विद्यालयबाटै सहयोग लिइएको हुन्छ ।’

विद्यार्थी नेताले लाखौं रकम लिएको पाइएसँगै दुवै संगठनमा खटपटसमेत सुरु भएको छ । संगठनको निर्णयबिना नेतृत्व तहका व्यक्तिले विभिन्न विषय निकाली आन्दोलन गर्ने र विद्यालयसँग रकमको बार्गेनिङ गर्ने गरेको भन्दै अनेरास्ववियु क्रान्तिकारीले जिल्ला कमिटी बैठक डाकेर छलफल गरेको थियो । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त भनिएको आन्दोलनका विषयमा पनि कुराकानी भएको एक नेताले बताए । निजी विद्यालय र कन्सल्टेन्सीलाई विद्यार्थी नेताले रकमको स्रोत बनाएको गुनासो आएकाले व्यापक छलफल भएको जनाइएको छ ।

‘जिल्लाका ठूला सामुदायिक र निजी विद्यालयमा जथाभावी शुल्क लिएको भन्दै ताला लगाउनेदेखि कन्सल्टेन्सी बन्द गर्नुपर्ने माग राख्दै आन्दोलन गर्ने र रकम लेनदेनमा सहमति गर्ने गरेको तथ्य हामीले पनि फेला पा¥यौं’, अनेरास्ववियु जिल्ला कमिटीका एक सदस्यले भने, ‘यसबारे अहिले पार्टीले नै छलफल गरिरहेको छ ।’

विद्यालयले जथाभावी शुल्क लिएको भन्दै ताला लगाउने र प्याब्सनसँग रकम लिएर ताला खोल्ने क्रम यो वर्ष पनि चलिरहेको उनले सुनाए । भने, ‘विद्यार्थी संगठनको निर्णयबिना स्वार्थका लागि गरिएको आन्दोलनलाई अहिले पार्टीले रोक लगाएको छ ।’

कक्षा ११ र १२ मा अत्यधिक शुल्क लिएको, जिल्लामा जथाभावी कन्सल्टेन्सी खोलेर विद्यार्थी ठगेको, सीटीईभीटीबाट सञ्चालित शिक्षण संस्थाले नियम उल्लंघन गरी गुणस्तरहीन शिक्षा दिएको नेकपानिकट विद्यार्थी संगठनले विरोध कार्यक्रम गरेका छन् । यस्तो काम संस्थागत निर्णयबिना नै भइरहेको संगठनकै पदाधिकारीले बताएका छन् ।००


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.