हराएको २२ वर्षपछि घर फर्किँदा एकैचोटी खुसीयाली र रुवाबासी
विराटनगर : विराटनगर महानगरपालिका–१ पोखरिया घर भएका ३० वर्षीय सुवोध विश्वकर्मा हराएको २२ वर्षपछि फर्किएका छन् ।
८ वर्षमा घर छाडेका उनी २ वर्षीया छोरी र पत्नीसहित फर्किएपछि परिवारमा खुसी छाएको छ । कहाँबाट कहाँ हिँडे भन्ने कुराको पत्तो नपाउने उमेरमा घर छाडेका उनलाई प्रविधिको विकास र प्रयोगले घरसम्म ल्याइपुर्याएको हो ।
सानै उमेरका सुवोध हराएसँगै परिवार र छिमेकी तनावमा थिए । नेपाल–भारतका विभिन्न ठाउँमा खोजी गर्दा नभेटिएपछि चिन्ता बढ्नु स्वभाविक थियो ।
‘सानो छँदै छोरो हराएपछि धेरै ठाउँमा खोज्दा पत्ता लगाउन सकेनौं,’ आमा बुचुनीदेवीले भनिन्, ‘त्यही छोरो २२ वर्षपछि घर फर्किँदा परिवारमा खुसी छाउनु स्वभाविक हो ।’
बुचुनीदेवीले छोरो भेट्टाउन छिमेकी सुनिता घिमिरेको सहयोग धेरै ठूलो देन रहेको बताइन् । सुनिताकै कारण सुवोधसँग परिवारको पुनर्मिलन सम्भव भएको हो । घरबाट बालक हराएकोबारे सुनिता जानकार थिइन् ।
उनैले भारतको बाबाधामस्थित बासुकीनाथ जाने क्रममा सुवोधलाई भेटेपछि घर फर्काउन सहयोग गरेको बुचुनीदेवीले बताइन् ।
सुवोध बाबाधाम क्षेत्रमा ट्याम्पो चलाएर गुजारा गरिरहेका थिए । सुवोधकै ट्याम्पोमा तीर्थयात्राका क्रममा चढेकी सुनिताले कुराकानीका क्रममा घरबाट भागेको बालक सुवोध नै भएको अड्कल काटिन् ।
कुराकानीका क्रममा सुवोधले बालककालका कुरा सुनाएपछि सुनिताले उनलाई परिवारसँग पुनर्मिलन गराउने योजना बनाइन् । ‘नेपालबाट आएको भनेपछि सुवोधले चासोपूर्वक सोधे,’ सुनिताले भनिन्, ‘सबै कुरा हुँदै जाँदा उनै ८ वर्षको उमेरमा घरबाट हराएका बालक रहेको थाहा भयो ।’
गफगाफका क्रममा सुवोधले धेरै वर्षअघि नेपालबाट भारत आएकाले घरबारे सबै थाहा नभएको बताएका थिए । उनले आफ्नो घर भएको ठाउँको नाम विराटनगर भएका पनि भुलिसकेका थिए ।
‘उनलाई घरबारे सम्झाउन धेरै प्रयास गरें,’ सुनिताले भनिन्, ‘पछि उसले घर छेउमा रहेको सिंगिया खोला, त्यस छेउको मन्दिर र त्यहाँका बाँदरका कुरा गरेपछि सबै कुरा खुल्यो ।’
सुवोध नेपाली बुझ्छन् तर बोल्न जान्दैनन् । ‘घरबाट हिँड्दा राम्ररी नेपाली बोल्ने गरेका थिए,’ उनले भनिन्, ‘धेरै वर्ष भएकाले नेपाली बोल्न चाहिँ बिर्सिएका रहेछन् ।’
भेट भएपछि सुवोधको मोवाइल नम्बर, फेसबुक र ह्वाट्सएप आइडी लिएर विराटनगरस्थित घर फर्किएकी सुनिताले यसबारे परिवारका सदस्यलाई जानकारी गराइन् । वाट्सएपमा पहिलो पटक कुराकानी हुँदा उनले आमालाई चिनिहाले ।
सबै कुरा मिलेपछि उनलाई घर फर्काइएको सुनिताको भनाइ छ । उनले भनिन्, ‘बालक हुँदा हराएका सुवोधलाई २२ वर्षपछि फेला पार्न सक्नु भगवानकै देन हो ।’
सुवोध शुक्रबार घर फर्किएका हुन् । घर फर्कने क्रममा सुवोध र परिवारका सदस्यबीच जोगवनी रेलवे स्टेशनमा भेट हुँदा रुवावासी नै चलेको थियो । ‘धेरै पहिले हराएको छोरो भेट्दा धेरै खुसी लाग्यो,’ बुचुनीदेवीले भनिन्, ‘पहिले पटक देख्नासाथ रुन मन लागिहाल्यो ।’
उनले त्यो रुवाईमा खुसी र दुःख दुवै मिसिएको पनि बताइन । भनिन्, ‘भेट हुँदा धेरै खुसी लागेर आँसु आयो । यत्रो वर्ष कहाँ गयो र कसरी जीवन चलायो भनेर दुःख पनि लाग्यो ।’
घर आइपुगेपछि भने सुवोध हर्षित छन् । उनले अब आफू भारत नजाने बताउँदै यतै काम गरेर जीविका चलाउने बताए । ‘विदेशमा जति दुःख गर्नु थियो गरें, अब यतै बसेर परिवारका सदस्यसँग रहन्छु,’ उनले भने ।
उनका २ वर्षकी छोरी र श्रीमती पूजा पनि साथमै छन् । ‘धेरै पहिले हामीलाई छाडेर हिँडेको भाइ फर्कँदा कम्ता खुसी लागेको छैन,’ दाजु मनोजले भने, ‘भारतमा जति दुःख गरे पनि अब भाइलाई उता जान दिँदैनौं ।’
२०५३ सालमा काका लालबहादुर विश्वकर्माको कुटाई खाने डरले उनले घर छाडेको परिवारले जानकारी दिएको छ । विश्वकर्मा परिवार विराटनगरकै सुन पसलमा कालिगढका रुपमा काम गर्दै आएको थियो ।
लालबहादुरले सुन जडानका लागि मगाएको पथ्थर र सुनको टुक्रा लुकाएपछि कुटाई खाने डरले सुवोधले घर छाडेर भागेको दाजु मनोजको भनाइ छ ।
घर छाडेपछि एउटा कारमा भारतको विहार राज्यको नलन्दा जिल्लामा पुर्याएकोसम्म आफूलाई जानकारी रहेको सुवोधले बताए । त्यसपछि उनी एउटा घरमा काम गर्न बसे ।
चार वर्षजति काम गरेपछि त्यहाँ यातना सहन नसकेर उनले त्यो ठाउँ पनि छाडेको खुलेको छ । त्यहाँबाट भागेर गुजरात, मुम्बई हुँदै बाबाधाममा पुगेर ट्याम्पो चलाउन थालेको उनले स्मरण गरे ।
त्यही ट्याम्पो चलाउने क्रममा सुवोध हराएको जानकार छिमेकीसँग उनको भेट भएपछि २२ वर्षपछि घर फर्कन सम्भव भएको हो । दाजु मनोजले भेटिएला भन्ने कुराको विश्वास नै नलागेको अवस्थामा भाइ घर फर्किएको बताए ।
‘धेरै खोज्दा पनि पत्ता नलागेपछि हामी थाकिसकेका थियौं,’ उनले भने, ‘धेरै वर्षपछि मिलन हुन्छ होला भन्ने लागेकै थिएन ।’ उनले हराएको भाइ भेट्टाउन र घर ल्याउन सहयोग गरेर सुनिताले ठूलो गुण लगाएको बताए ।