पुस्ताै‌ंदेखि पहिरोको त्रास

पुस्ताै‌ंदेखि पहिरोको त्रास

बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिका–६ सित्तड डोलका लोगसिंह भाटको घरको आँगन गत वर्ष पहिरोले लगिसकेको छ । लगातारको वर्षाले यस वर्ष घर नै बगाउने खतरा बढेको उनले बताए । ‘पहिरोले चारैतिर जमिन बगाइसकेको छ । बस्ती नै जोखिममा परेको छ । अन्त जान पनि आर्थिक अवस्था कमजोर छ । जोखिम मोलेर बसिरहेका छौं’, उनले भने ।

डोल गाउँमा अहिले करिब १ सय ५० परिवार पहिरोको जोखिममा छन् । ०१८ सालदेखि खस्न थालेको पहिरोको नामै डोलपहिरो भएको छ । ‘वर्षातमा लगातार आइरहने पहिरोले कतिखेर घरखेत बगाउने थाहै हुँदैन । हरेक वर्षातमा अनिदो रात काट्नुपर्छ’, स्थानीय लोकेन्द्रबहादुर चन्दले भने, ‘हाम्रो गाउँका हरेक घर बांगा छन् । भित्रभित्रै जमिन भासिएपछि घर बांगा भएका हुन् ।’ पहिरोको जोखिममै बाध्यताले बस्नु परिरहेको उनले बताए ।

किसानले हिउँदमा बनाएका गरा प्रत्येक वर्षातमा पहिरोले बगाउँछ । खेतमा लगाएको बालीसहित पहिरोले बगाउँदा किसानलाई भोकमरीसमेत हुने गरेको छ । डोल पहिरोले अहिलेसम्म ९ जनाको ज्यान लिइसकेको छ भने २ सय बढी रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ । अहिले पनि माथिबाट पहिरो खस्ने क्रम नरोकिएको स्थानीय मानबहादुर चन्दले बताए । उनले भने, ‘२०१८ सालमा एक्कासि पहिरो खसेको हो भन्छन्, उतिबेलादेखि हामी गाउँले पहिरोको जोेखिममा बसिरहेका छौं ।’

पञ्चायतकालमा डोलबस्तीलाई स्थानान्तरण गर्नुपर्ने भन्दै तत्कालीन राजा वीरेन्द्रले हुकुमप्रमांगीसमेत दिएका थिए । तर, राजनीतिक खिचातानी भएपछि डोलवासीको अन्यत्र बसाइँ सर्ने सपना अधुरै रह्यो । आर्थिक अवस्था सवल भएकाहरू सबैले तराईतिर जमिन किनेर उतै गइसकेका छन् । तर, गरिब र दलित समुदायका नागरिक भने पहिरोको जोखिममै बस्न बाध्य छन् । पछिल्लो समय पहिरोले विकराल रूप लिन थालेको स्थानीय देवदत्त जोशीले बताए । उनले भने, ‘अहिले त पहिरोको जोखिम नभएको कुनै ठाउँ छैन । वर्षातमा जाग्राम बसेर रात काट्नुपर्छ ।’

पहिरोले प्रत्येक वर्ष खानेपानीको मुहान बगाउँदै आएको छ । ‘हिउँदमा पानीको मुहान खोजेर धारा बनाउँछौं । तर, प्रत्येक वर्ष वर्षातमा पहिरोले मुहान नै बगाउँछ’, पहिरोसँगै बगिरहेको धमिलो पानी प्रयोग गर्न बाध्य भएका स्थानीय बहादुर भुलले भने । आफूहरूले बनाएका पानीघट्ट, बाटो सबै पहिरोले बगाइसकेको उनले जानकारी दिए ।

डोल बस्तीमा करिब ५५ दलित परिवारको बस्ती छ । आफ्नो सबै जमिन बगाएपछि उनीहरू अहिले अर्काकै जमिनमा बसिरहेका छन् । ‘हाम्रो घरखेत पहिल्यै पहिरोले बगाइसक्यो, अहिले अर्काको जमिनमा घर बनाएर बसेका छौं । यो ठाउँ पनि पहिरोले बगाउन थालेपछि कहाँ जाने भन्ने चिन्ता छ’, स्थानीय काशीराम लुहारले भने ।

डोल बस्तीसँगै गौंकुरा बस्ती पनि पहिरोको जोखिममा छ । पहिरोका कारण खेतीयोग्य जमिन र घर नष्ट भए पनि जोखिममै बस्नुपरेको स्थानीयको गुनासो छ । डोलवासीले अन्यत्र बसोबासका लागि ०१८ सालदेखि नै पहल गर्दै आएको बताए । हरेक सरकारबाट बस्ती स्थानान्तरणको आश्वासन मात्र पाउने गरेको उनीहरूको गुनासो छ ।

जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगरको पहिरोले पनि त्यहाँको दलित बस्तीलाई घरबारविहीन बनाइदिएको छ । ०६४ सालमै जमिन बगाएको पहिरोले ०७२ सालमा घर पनि पुरेपछि धनीराम सार्की टहरोमा बस्दै आएका छन् । उनले भने, ‘बांगाबगरमा हामी ६ दलित परिवार घरखेत पहिरोले बगायो । ०७२ सालमा घर बगाएपछि जिल्ला प्रशासनको सक्रियतामा पहिरोको छेउमै बनाएको टहरोमा बसिरहेका छौं ।’

बांगाबगरमा पहिरोे निरन्तर खसिरहेकाले आफूहरू जोखिममा रहेको स्थानीय बलबहादुर साउदले बताए ।

पहिरो नियन्त्रणका लागि स्थानीयस्तरमा कुरा उठाए पनि केही गर्न नसकिएको डिलाशैनी गाउँपालिका–६ का वडासदस्य अमर नाथले बताए । उनले भने ‘यो जिल्लाकै ठूलो पहिरो हो । स्थानीयस्तरको बजेटले केही गर्न सकिँदैन ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.