प्रदेश सरकारको निर्देशनविपरित पटके कर उठाउँदै स्थानीय तह
भैरहवा : रुपन्देहीका स्थानीय तहले अझै पटके सवारी कर उठाउँदै आएका छन्। प्रदेश ५ सरकारले स्थानीय तहले पटके करको नाममा कुनै पनि कर संकलन नगर्न निर्देशन गरे पनि स्थानिय तहले प्रदेश नीति विपरीत कर संकलन गर्दै आएका छन्।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले प्रदेश सरकारको नीति विपरीत पटके सवारी कर संकदलन गर्दै आएको छ। नगरपालिकाले उठाउँदै आएको पटके सवारी करका कारण स्थानीय रुष्ट छन्। मुलुकमा कर वृद्धिको चौतर्फी विरोध भइरहेका बेला नगरपालिकाले नगरको १३ वटै वडामा पटके सवारीको ठेक्का लगाएर कर संकलन गर्दै आएको छ।
नगरपालिकाले भौतिक पूर्वाधार उपयोग शुल्क (पटके सवारी शुल्क) भन्दै कर असुलेको हो। नगरपाालिकाले स्वदेशी र विदेशी गरी छुट्टाछुट्टै दरमा कर संकलन गरिरहेको छ। नगरपालिकाले तेस्रो नगरसभाबाट पारित आर्थिक वर्ष ०७५।०७६ को बजेट नीति तथा कार्यक्रमको अनुसुचि ९ अन्तर्गत आफ्नो क्षेत्र भन्दै सवारीबाट कर संकलन गरेको जनाएको छ।
ठेकेदारले १३ प्रतिशत भ्याटसहितको दर तय गरी स्वदेशी नम्बरका सवारी बस, ट्रकबाट ४० रुपैयाँ, ट्र्याक्टर, पिकअपबाट २८ रुपैयाँ ५० पैसा, नीजि तथा भाडाका जिप, कार, भ्यानबाट १७ रुपैयाँ, मिनी ट्रक, मिनी बसबाट २८ रुपैयाँ ५० पैसा र हाते ट्र्याक्टर, टायर गाडाबाट १७ रुपैयाँ कर उठाउँदै आएको छ।
विदेशी नम्बरका सवारी बस, ट्रकबाट ५ सय ६५, ट्र्याक्टरबाट २ सय २६, नीजि तथा भाडाका जिप, कार भ्यानबाट एक सय १३ रुपैयाँ, मिनी ट्रक, मिनी बसबाट ३ सय ३९, रिक्सा, टायर गाडाबाट १३ रुपैयाँ ५० पैसा, ६ चक्का सम्मको ट्रलीबाट ३ सय ४० र ६ चक्काभन्दा माथीको ट्रलीबाट ५ सय ६५ रुपैयाँ उठाउँदै आएको छ।
ठेकेदारले कर संकलन गर्ने रसिदमा १३ प्रतिशत भ्याटसहितको दररेट कायम गरी कर संकलन गरिरहे पनि नगरपालिकाले जारी गरेको बजेट नीति तथा कार्यक्रमको अनुसूची ९ मा भ्याट बाहेकको दर अनुसारमात्र पटके सवारी कर संकलन गर्न पाउने व्यवस्था छ।
नगरपालिकाले पटके सवारी करको लागि ०७४ असार मसान्तमा ३१ लाख रुपैयाँमा ठेक्का आह्वान गरी ३१ लाख एक हजार रुपैयाँमा स्टार सर्भिसेज नामक फर्मसँग ठेक्का सम्झौता गरेको छ। सिद्धार्थनगर नगरपालिकाका अजय वर्माले नगरको मायादेवी तरकारी बजारमा तरकारी खरिद गर्न गएको बेला आफूले पटके सवारी कर तिर्नुपरेको गुनासो पोखे। २५ रुपैयाँको एक मुठा साग र १५ रुपैयाँको एक पाउ टमाटर खरिद गर्न बजार जाँदा एक सय १३ रुपैयाँ पटके सवारी कर तिर्नुप¥यो’, उनले भने, ‘यो निर्णयबाट नगरपालिका पछाडी नहटे स्थानिय आन्दोलनमा उत्रिन बाध्य हुने छन्।’
सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत एवं आर्थिक प्रशसान महाशाखा प्रमुख गणेशबहादुर क्षेत्रीले नगरभित्रको भौतिक पूर्वाधार उपयोगको नाममा विभिन्न सवारीसाधनबाट पटके सवारी कर उठाउँदै आइएको बताए। उनले प्रदेश सरकारबाट पटके सवारी कर नउठाउने विषयमा कुनै निर्देशन तथा परिपत्र नआएकाले कर उठाउँदै आएको बताए। उनले मुख्य र सहायक राजमार्ग बाहेक नगरपालिकाको सम्पूर्ण सडकखण्डको ठेक्का लगाएर कर संकलन गरिदै आएको जानकारी दिए। नगरपालिका भित्र सयौँ सडकखण्ड संचालन रहेका छन्।
यता प्रदेश सरकारले स्थानिय तहले पटके सवारी कर उठाउन नपाउने गरी सबै स्थानिय तहलाई परिपत्र गर्दै सार्वजनिक सूचना समेत प्रकाशित गरेको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले प्रदेशमा कुनै पनि स्थानिय तहले पटके सवारी कर उठाउन नपाउने नीति अवलम्बन गरिएको बताए। ‘कुनै स्थानिय तहले पटके सवारी कर उठाउन पाउँदैनन्। यदि कसैले उठाएको छ भने त्यो सरासर गलत हो’, उनले भने, ‘त्यसलाई सम्बन्धित स्थानिय तहले तत्काल खारेज गर्नुपर्छ।’
...
नगरपालिकाले उठाएको पटके सवारी करको रसिद। अन्नपूर्ण