अलैंचीमा चीनको चासो
बिर्तामोड : चीनले नेपालमा उत्पादित अलैंचीको बजारका विषयमा चासो दिएको छ । भारतमा मात्र निर्यात हुँदै आएको अलैंचीको उत्पादन, बिक्रीअघिको गुणस्तर र बजारका विषयमा चिनियाँ टोलीले अलैंची व्यवसायी महासंघसँगको छलफलमा चासो लिएको हो ।
ताप्लेजुङमा अलैंची बगान अवलोकन गरी फर्किएको टोलीले आइतबार बिर्तामोडमा महासंघको अगुवाइमा छलफल गरेको थियो । टोलीले अलैंचीको मूल्यमा हुने उतारचढाव, गुणस्तर मापन, प्याकेजिङ र निर्यात गर्ने देशका विषयमा चासो राखेको महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।
‘बिजनेस टु बिजनेस मिटिङ राखेर हामीले चिनियाँ टोलीसँग छलफल गरेका हौं’, अध्यक्ष भट्टराईले भने, ‘हामीले बैठकबाटै केही परिमाण अलैंची नमुनासहित चिनियाँ टोलीलाई दिएर व्यापार सुरु गरौं भनेका छौं ।’ यो प्रस्तावमा चिनियाँ टोली सकारात्मक भएको उनले सुनाए । ‘चिनियाँ टोलीले नेपालको अलैंचीको गुणस्तर राम्रो भएको बताएको छ’, उनले भने, ‘अहिले अनुसन्धान गर्न आएको हुनाले टोली फर्किएपछि चीनबाट सकारात्मक खबर आउला ।’
उनका अनुसार चीनको सिचुआन प्रान्तका औषधि उत्पादक कम्पनी, आयुर्वेद र अस्पताल व्यवस्थापन समितिका प्रतिनिधि सम्मिलित टोली अलैंचीको अनुसन्धान गर्न नेपाल आएको हो । उनीहरूले फर्किएपछि त्यहाँका व्यापारी र सरकारी तहसँग छलफल गरी चीनमा नेपालको अलैंची बिक्रिका लागि पहल गर्ने जनाइएको छ ।
टोली सदस्यले नेपालको अलैंचीको गुणस्तर अन्य देशको भन्दा फरक र बहुमूल्य भएकाले खरिद गरी औषधि उत्पादनका लागि अनुसन्धानमा आएको बताए । सिचुआन प्रान्तका औषधि उत्पादक कम्पनीका म्यानेजर ल्हाहाले ताप्लेजुङमा बगानमै पुगेर अलैंची हेरेको उल्लेख गर्दै नेपालको अलैंची अब चीनमा निर्यात हुने सम्भावना उच्च रहेको प्रतिक्रिया दिए ।
चिनियाँ टोलीमा औषधि उत्पादक कम्पनीका ल्हाहो, अस्पताल व्यवस्थापन समितिका सियु, आयुर्वेदिक औषधि कम्पनीका प्रमुखलगायत आठ जना छन् । टोलीले ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित सतलडाँडा अलैंची बगानमा अध्ययन गरेको थियो । टोली सदस्य लियुले नेपालको अलैंची फरक स्वादको पाइएको सुनाए ।