नक्कली सुन बेचेर ठगी गरेको आरोपमा दुई पक्राउ
गुलरिया : झुक्क्याएर नक्कली सुन बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नक्कली सुनलाई सक्कली भनेर विक्री गरी ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले पक्राउ गरेको हो।
भारतको उत्तर प्रदेश प्रान्तअन्तर्गत जिल्ला बहराईच थाना रुपैडिहा केवलपुर ग्राम बस्ने नुर आलम अन्सारी र मोहम्मद नसिम अन्सारीलाई नक्कली सुन बेचेर ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले बताए।
पक्राउ परेका व्यक्तिहरूले गुलरिया नगरपालिका वडा नम्बर ४ घर भई गुलरिया बजारमा फेन्सी पसल संचालन गर्दै आएकी ज्ञानुमाया रिजाललाई साउन १८ गते सक्कली सुन भन्दै ८ लाख रुपैयाँ ठगी गरेका हुन्। उनीहरूलाई बर्दिया जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए।
त्यस्तै जिल्ला अदालत बर्दियाले कैद सजाय तोकेको प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ३९ का कधई लोधलाई प्रहरीले पक्राउ गरेको हो।
सवारी ज्यान मुद्दामा बर्दिया जिल्ला अदालतले ०६८ साल कात्तिक २८ गते लोधलाई ३ वर्ष ११ महिना ४ दिनको कैद सजाय तोकेको थियो। लोधलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बर्दिया जिल्ला अदालत पठाइएको डीएसपी बोगटीले जानकारी दिए।